+

कक्षाकोठामा लामो समय पिसाब च्यापेर बस्दा कस्तो समस्या हुन्छ ?

२०८० असार  ७ गते १०:०० २०८० असार ७ गते १०:००
कक्षाकोठामा लामो समय पिसाब च्यापेर बस्दा कस्तो समस्या हुन्छ ?

वयस्कको तुलनामा बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । त्यसैले उनीहरू सजिलै धेरै रोग वा संक्रमणको सिकार हुन्छन् । अझ विशेषगरी स्कुले बालबालिका कम पानी पिउने गर्छन् र कक्षाकोठामा लामो समय पिसाब रोकेर बस्छन् । यसरी लामो समय पिसाब रोकेर बस्दा केही नकारात्मक असर पो गर्छ कि ?

बालबालिकाले लामो समय पिसाबको रोकेर बस्दा उनीहरुमा पिसाबको संक्रमण हुन सक्छ । हाम्रो पिसाबथैली बेलुनजस्तो हुन्छ । पिसाबथैली लामो समय फुलेर बस्यो भने त्यसको लचकता कम हुन्छ । जसले पिसाबथैली कमजोर हुने सम्भावना हुन्छ । पिसाबथैली कमजोर भयो भने पिसाब गर्दा राम्ररी ननिख्रिने समस्या हुन सक्छ । कोहीकोहीमा लामो समय पिसाब रोक्दा पिसाब चुहिने सम्भावना हुन्छ ।

सामान्यतया मिर्गौलाबाट आउने नलीबाट पिसाबथैलीमा आएको पिसाब फेरि युरेटरमा फिर्ता जाँदैन । तर कोही बच्चामा ‘रिफ्लेक्स डिजिज’ पिसाबथैलीको पिसाब पनि मूत्रनलीतिर गएर मिर्गौलासम्म पनि जान सक्ने हुन्छ । त्यस्तो ‘रिफ्लेक्स डिजिज’ भएको बच्चाले लामो समय पिसाब रोकेर राख्दा मिर्गौलाकै संक्रमण नै पनि हुन सक्छ ।

लामो समय पिसाब रोकेर बस्दा बालबालिकामा शारीरिक समस्या मात्र होइन, मानसिक समस्या पनि हुन्छ । पिसाब रोकेर बसिरहँदा कक्षामै पिसाब चुहियो भने के गर्ने भन्ने चिन्ता । कक्षाको बीचमा पिसाब फेर्न जान नपारोस् भनेर पानी कम खाने समेत गर्छन् । कुपोषण भएको बच्चाले पिसाब रोकेर बस्दा त झन् पिसाबथैलीमा ढुङ्गा हुने जोखिम समेत हुन्छ ।

पिसाब कति अवधिमा फेर्नुपर्छ

सामान्यता दुई घण्टाको अन्तरमा पिसाब फेर्नुपर्छ । दिनमा आठदेखि १० पटकसम्म पिसाब फेर्नु पनि सामान्य हो । दुई घण्टाभन्दा अघि छिटोछिटो पिसाब फेर्न दौडिरहनुपर्ने पनि राम्रो होइन र दुई घण्टा भन्दा लामो समयसम्म पिसाब नफेर्नाले पनि विभिन्न समस्या निम्तिन सक्छ ।

कुनै अवस्थामा पिसाब फेर्न सम्भव नै भएन भने पनि तीन घण्टाभन्दा बढी पिसाब रोकेर बस्नु हुँदैन । पिसाबथैली भरिएपछि मिर्गौलाले नै पिसाब कम बनाउन थाल्छ । त्यसैले लामो समय रोकेर बस्दा मिर्गौलामा समस्या निम्तिन सक्छ ।

पिसाब रोक्ने बानीले पिसाबको संक्रमण बारम्बार भइरहन सक्छ । लामो समय र बारम्बार पिसाब रोक्ने बानीले पिसाबथैली कमजोर हुने,  मूत्रनलीमा ढुङ्गा बन्ने समस्या पनि हुन सक्छ । साथै पिसाब रोक्ने बानीले दीर्घकालीन रूपमा मिर्गौलाको समस्या नै निम्तिन सक्छ । बच्चाले उपयुक्त मात्रामा पानी पिउने र उपयुक्त समयमा पिसाब फेर्नुपर्छ । त्यसैले यो कुरामा अभिभावकले विशेष ध्यान दिनुपर्छ ।

पिसाब पोल्ने अन्य कारण

वयस्कको तुलनामा बालबालिकामा पिसाब पोल्ने समस्या अलि कम हुन्छ । तर पानी कम खाएर शरीरमा पिसाब नै कम बनेर, पिसाब लामो समय रोकेर संक्रमण भएर तथा पिसाबनलीमा ढुङ्गा भएर बच्चामा पिसाब पोल्ने समस्या हुन्छ । पिसाब पोल्ने समस्याबाट बच्न निम्न कुरामा ध्यान दिनुपर्छ ।

-प्रशस्त मात्रामा पानी पिउने

-लामो समय पिसाब रोकेर नबस्ने

-व्यक्तिगत स्वच्छतामा ध्यान दिने

-शौचालयको सरसफाइमा ध्यान दिने

-विद्यालयमा पनि बच्चालाई समय समयमा शौचालय पठाउने

-बच्चालाई प्रशस्त मात्रामा पानी पिउनुको महत्त्व सिकाउने

-महिनावारी सुरु हुने उमेरका बालिकालाई विद्यालयमा महिनावारी स्वच्छताको बारेमा सिकाउने । किनकि महिनावारी स्वच्छतामा ध्यान नदिंदा पनि पिसाबको संक्रमण हुन्छ ।

(मूत्ररोग विशेषज्ञ डा. बस्नेतसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित )

कक्षाकोठा पिसाब बालबालिका
डा. रविनबहादुर बस्नेत
लेखक
डा. रविनबहादुर बस्नेत
प्रमुख कन्सल्टेन्ट युरोसर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४५४८ एमएस, एमसीएच हाल काठमाडौंस्थित वीर अस्पतालमा युरोलोजी विभागीय प्रमुखको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय