
काठमाडौं । सरकारले सर्जकको अधिकार कुण्ठित नहुने ढंगले नयाँ प्रतिलिपि अधिकारसम्बन्धी कानुन ल्याइने बताएको छ । विश्व संगीत दिवसको अवसरमा बुधबार संगीतकार संघले आयोजना गरेको ‘प्रतिलिपि अधिकार ऐन २०५९ पुनर्लेखन विषयक अन्तरक्रिया कार्यक्रम’मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले उक्त प्रतिबद्धता जनाएका हुन् ।
अन्तर्राष्ट्रिय अनुभवलाई समेत समेटेर प्रतिलिपि अधिकारबारेको सुझाव पेश गर्न उनले आग्रह गरे । ‘हामी नयाँ कपिराइट कानुन बनाउँदैछौं । यसमा देश तथा विदेशको अनुभव समेट्नुहोला । सरकार यसलाई सघाउन तयार छ,’ सचिव अधिकारीले भने, ‘जतिसक्दो चाँडो पेश कार्यदललाई पेश गर्नुस् । हामी कार्यान्वयनका लागि पहल गर्छौं ।’
संगीत रोयल्टी संकलन समाजका अध्यक्ष तथा संगीतकार सुरेश अधिकारीले आफ्नो हक लिंदा अरुको हकको हनन् नहुनेगरी प्रतिलिपि अधिकारसम्बन्धी कानुन बनाउनुपर्ने धारणा राखे । ‘पहिलेको ऐनमा भएका भन्दा सबैतिरको अनुभव समेटेर ऐन बनाउनुपर्छ । यसले निर्माता र सर्जक सबैलाई राम्रो गर्छ,’ उनले भने ।
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकूलपति तथा संगीतकार शम्भुजीत बास्कोटाले पुरानो कपिराइट कानुन पर्याप्त नभएको बताए । ‘नयाँ ऐनमा अधिकार स्थापित हुनेगरी कार्य गर्नुहोला,’ उनले सुझाव दिए । प्रतिष्ठानका वर्तमान उपकूलपति तथा गायक शम्भु राईले संगीत क्षेत्रमा ऐतिहासिक जिम्मेवारी आएको बताए । ‘मन्त्री सुदन किरातीज्यूले नयाँ ऐन बनाउँदा कसैको अधिकार कुण्ठित हुनेगरी नगर्नुस् भन्ने बेलामा म सँगै थिएँ,’ उनले भने ।
संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले नयाँ प्रतिलिपि अधिकार ऐनका लागि सबै एकजुट हुनुपर्ने बताए । समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित संगीतकर्मी उपस्थित थिए । कपिराइट कानुन निर्माणका लागि संघले पहल गर्ने महासचिव वसन्त सापकोटाले बताए ।
प्रतिक्रिया 4