
७ असार, काठमाडौं । काठमाडौं–२६, मित्रनगरस्थित राइजिङ अफ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पदाधिकारीबाट ठगिएको भन्दै ४२ जना सदस्यले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएका छन् ।
पीडितहरुले सहकारी सञ्चालकले आफूहरुको एक करोड ६१ लाख २० हजार रुपैयाँ ठगेको भन्दै उजुरी दिएपछि सहकारीका दुई पदाधिकारी पक्राउ परेका छन् । ५ जना पदाधिकारी फरार छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार प्रहरीले सहकारीका सञ्चालक समिति उपाध्यक्ष ललितबहादुर खड्का र सचिव प्रियराज कार्कीलाई पक्राउ गरेको छ । सहकारीका अध्यक्ष हेमन्त खड्का, कोषाध्यक्ष मैया राई, सदस्य निराजन अधिकारी, सुरेन्द्र शाही ठकुरी र मनोहर अधिकारी फरार छन् ।
पीडितले प्रहरीमा दिएको जाहेरीमा राम्रो ब्याज दिन्छौं भन्दै प्रलोभन देखाएर नगद जम्मा गर्न लगाएर निकाल्न जाँदा आलटाल गरेर नदिएको भनिएको छ । ‘आजभोलि भन्दै रकम नदिएपछि सञ्चालक पदाधिकारीसँग कुरा गर्न सहकारी जाँदा कोही पनि नआउने र अन्य माध्यमबाट पनि सम्पर्क गर्न सकिएन’, जाहेरीमा भनिएको छ ।
प्रहरीले यो प्रकरणमा अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका बुझाएको काठमाडौं प्रहरीका एसपी सीताराम रिजाल बताउँछन् । भन्छन्, ‘फरारहरुको खोजी कार्य जारी छ ।’
प्रतिक्रिया 4