+
+

वेष्ट इन्डिजविरुद्ध नेपालको निडर प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते २२:४०

७ असार, काठमाडौं । एकदिवसीय विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपाल टेष्ट मान्यता प्राप्त टिम वेष्ट इण्डिजसँग १०१ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

जिम्बाव्वेको हरारेमा पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले शाई होप र निकोलस पुरनको शतकको मद्दतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनायो ।

जवाफमा नेपालले ४९.४ ओभरमा सबै विकेट गुमाएर २३८ रन बनायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रन बनाए ।

खेलपछि वेष्ट इण्डिजका कप्तान होपले नेपालले निकै जोश र निडरताका साथ खेलेको प्रतिक्रिया दिएका छन् ।

खेलमा नेपालले टस जित्यो र कप्तान रोहित पौडेलले वेष्टइण्डिजलाई ब्याटिङको निम्तो दिए ।

बिहानी विकेट कन्डिसनको नेपालले फाइदा पनि उठायो । करण केसी र गुल्सन झाले पहिलो ५ ओभरभित्रै काइल मेयर्स र जोनसन चाल्र्सको विकेट लिएपछि वेष्टइण्डिज ९÷२ मा रह्यो । सुरुवाती दुई खेलमा विकेटविहीन रहेका सन्दीप लामिछानेले आफ्नो खेल सुधारे र ब्राण्डन किङलाई क्लिन बोल्ड गरे ।

त्यसपछि क्रिजमा पुरन र होपको जोडी आए । तर पुरनको क्याच ड्रप नै खेलको टर्निङ प्वाइन्ट बन्यो । पुरन जम्मा ३ रनमा रहेका बेला विकेट किपर आसिफ शेखले उनको क्याच ड्रप गरेका थिए । लगत्तै पुरनले ललित राजवंशी र सन्दीप लामिछानेको ओभरमा छक्का हान्दै ब्याटिङको गियर बढाए, जसमा होपले साथ दिए ।

क्रिजमा जमेका उनीहरुले पालै पालो अर्धशतक पूरा गरे, शतक बनाए । पुरन र होपले चौथो विकेटका लागि २१६ रनको साझेदारी गरे । वेष्ट इण्डिजका ब्याट्सम्यानले अन्तिम १० ओभरमा निकै खुलेर खेल्दै ९८ रन जोडेका थिए ।

४३.६ ओभरमा दीपेन्द्रसिंह ऐरीले कट एण्ड बोल्ड गर्नुअघि पुरनले ११५ रन बनाए । ९४ बलको सामना गरेका उनले १० चौका र ४ छक्का प्रहार गरेका थिए । ४८ औं ओभरको पहिलो बलमा ललित राजवंशीको बलमा गुल्सन झाको हातबाट क्याच आउट भएका रोभमन पावेलले १४ बलमा ३ चौका र १ छक्कासहित २९ रन बनाए ।

अन्तिम ओभरमा नेपालले २ विकेट लियो । दोस्रो बलमा ललितले वेष्ट इण्डिजका कप्तान होपलाई १३२ रनमा भीम सार्कीबाट क्याचआउट गराए भने इनिङ्सको अन्तिम बलमा कीमो पाउललाई बोल्ड गरे ।

जेसन होल्डर १६ रनमा अविजित रहे ।

नेपालको फिल्डिङ कमजोर रह्यो । इनिङभरमा कम्तीमा ७ वटा क्याचको अवसर खेर फालेको थियो । कप्तान रोहितकुमार पौडेलले खेलपछि भनेका छन्, ‘हामीले राम्रो बलिङ ग¥यौं, तर केही क्याच ड्रप भयो । हामीले फिल्डिङ अझ राम्रो गर्नुपर्छ ।’

खेलपछि वेष्ट इण्डिजका कप्तान होपले नेपालले बलिङ, त्यसमा पनि स्पीनमा राम्रो गरेको बताए । यद्यपि नेपालको स्पीनरहरुको चुनौती सामना गर्न पुरन र आफूले निकै राम्रो ब्याटिङ गरेको भन्दै उनले भने, ‘सुधार गर्ने ठाउँ अझै छ ।’

नेपालका लागि ललितले ३ तथा करण, गुल्सन, सन्दीप र दीपेन्द्रले एक–एक विकेट लिए । ललितले १० ओभरमा ५२ रन खर्चिए । सन्दीपले १० ओभरमा १ मेडन राख्दै ५० रन खर्चिए ।

अमेरिकाविरुद्ध ४ विकेट लिएर प्लेयर अफ द म्याच बनेका करणले १० ओभरमा १ मेडन राख्दै ८१ रन खर्चिए ।

एकदिवसीय क्रिकेटमै सबभन्दा ठूलो ३४० रनको लक्ष्य पछ्याएको नेपालका ब्याट्सम्यानहरुलाई वेष्ट इण्डिजका बलर जोसप र होल्डरले खुलेर खेल्नै दिएनन् ।

जति रन बढ्दै गयो, नेपालले त्यति नै विकेट गुमाइरह्यो । वेष्ट इण्डिङको फिल्डिङ उत्कृष्ट रह्यो । खासगरी कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विकेट । भर्खर क्रिजमा आएका मल्लले होसिनको बलमा छक्का हान्ने प्रयास गरेका थिए । तर काटिजले बाउण्ड्री छेउमा बल समाते, बल फालेर बाहिर गए, अनि फेरि भित्र आएर क्याच लिए । यस्तै रोष्टज चेजले पनि डाइभ हानेर दीपेन्द्र सिंह ऐरीको विकेट लिएका थिए ।

नेपालले १२८ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो । तर आरिफ शेख क्रिजमा डटिरहे र नेपालको स्कोर २०० कटाएर खेललाई सम्मानजनक अवस्थामा पु¥याए । अनि करण केसीले केही आक्रामक सर्ट खेले र खेललाई अन्तिम ओभरसम्म लैजान सफल भए । नजिता भने वेष्टइण्डिजकै पक्षमा रह्यो ।

खेलपछि वेष्ट इण्डिजका कप्तान होपले नेपालको तारिफ गरे । नेपाली ब्याट्सम्यानहरुले होल्डर, जोसफ, मेयर्स र पछि अकिल जस्ता बलरलाई सामना गर्न निकै संघर्ष गर्नुपरेको भन्दै उनले भने, ‘उनीहरुले लगभग पुरै ओभर खेले । एउटा अनुभवी टिमसँग खेल्नु उनीहरुका लागि सिक्ने अवसर पनि हो ।’

टस जितेर बलिङ रोजेको नेपालले पावर प्लेमा आफूहरुलाई दबाबमा राख्न सकेको भन्दै उनले भने, ‘उनीहरुले फेरि एक पटक जोश र निडरताका साथ खेले ।’

नेदरल्याण्ड्सविरुद्ध जित्नैपर्ने दबाब

बिहीबारै भएको अर्को खेलमा नेदरल्याण्ड्सले अमेरिकालाई ५ विकेटले हरायो । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकालाई २११ रनमा समेटेको नेदरल्याण्ड्सले ४० बल बाँकी रहँदै पाँच विकेटको क्षतिमा लक्ष्य भेटायो । हारसँगै अमेरिका एक खेल बाँकी रहँदै विश्वकप छनोटबाट बाहिरिएको छ । सोमबार जिम्बाव्वेसँग हुने खेलका उसका लागि औपचारिकता मात्र हुनेछ ।

अब सुपर सिक्समा स्थान बनाउन चार टोली प्रतिस्पर्धामा छन् । त्यसमा पनि सबभन्दा दबाबमा नेपाल छ ।

किनकी दुई खेल लगातार जितेर वेष्ट इण्डिज ४ अंकसहित पहिलो र उति नै खेलमा समान ४ अंक सहित जिम्बाव्वे दोस्रो स्थानमा छ । दुई खेल मात्रै खेलेको नेदरल्याण्ड्स दुई अंकसहित तेस्रो र तीन खेल खेलेको नेपाल दुई अंकसहित चौथो स्थानमा छ । अब नेपालले शनिबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

सुपर सिक्सको सम्भावना कायमै राख्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ । यो खेल जितेर मात्र नेपालले मात्रै सुपरसिक्समा स्थान पक्का गर्ने छैन । त्यसका लागि सोमबार नेदरल्याण्ड्स र वेष्टइण्डिजबीच हुने खेल कुर्नुपर्छ । यो खेल वेष्टइण्डिजले जित्यो भने नेपाल सुपर सिक्समा पुग्छ ।

यदि नेदरल्याण्ड्सले वेष्ट इजिण्डलाई हरायो भने त्यस्तो अवस्थामा नेपालसँग समान अंक हुनेछ । र, रनरेटको आधारमा निर्णय हुनेछ । त्यही दिन हुने अर्को खेलमा अमेरिकाले जिम्बाव्वेलाई हरायो भने पनि सुपर सिक्समा समीकरण रोचक हुनेछ । तर नेपालका लागि सम्भावना कायमै राख्न शनिबार हुने समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्सलाई हराउनैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?