+
+

नारायणगढ-नागढुंगा सडक : बर्खा लाग्दा पनि सकिएन पहिरोको जोखिम अध्ययन

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १६:३७
गतवर्ष केराबारीमा आएको पहिरो ।

१०, असार, चितवन । चितवनको नारायणगढदेखि काठमाडौं जोड्ने नारायणगढ मुग्लिन सडकखण्ड र मुग्लिन नागढुंगामा बर्खामा आउनसक्ने पहिरोको जोखिम अध्ययन प्रतिवेदन वर्खा लागिसक्दा पनि अझै तयार भएको छैन ।

विश्व बैंकको टोलीले यो क्षेत्रमा बर्खामा जान सक्ने पहिरोका बारेमा ६ महिना अगाडिदेखि अध्ययन थालेको भए पनि अहिलेसम्म रिर्पोट तयार गरेर बुझाएको छैन ।

बर्खा लागेर पहिरो झर्ने क्रम सुरु हुँदा रिर्पोट नै तयार हुन नसक्दा जोखिमका ठाँउहरुको पहिचान गर्न समस्या भएको छ । अहिलेसम्म सडक विस्तारका क्रममा कमजोर मानिएका भुगोलहरुलाई पहिरो जाने सम्भावित ठाउँ मानिएको छ ।

सो टोलीले जुन महिनाको अन्तिमसम्म प्रतिवेदन बुझाउने तयारी गरेको विश्वबैंकका तर्फबाट जियो टेक्निकल इन्जियर भएर काम गरेका टुकलाल अधिकारीले बताए ।

‘अहिले बर्खा लागिसक्यो, अब कहिले प्रतिवेदन बुझाएर कहिले पहिरो रोकथामको योजना बनाउने?’ सडक डिभिजन कार्यालय चितवनका एक इन्जिनियरले भने, ‘बर्खा लागेपछि रिर्पोट आउँछ, यो वर्ष त यस्तै हो, अर्को वर्षका लागि तयारी गरे मात्रै हो ।’

नारायणगढ मुग्लिन सडकखण्ड विस्तार भैसकेको छ । विस्तार पूरा भए पनि ठाउँ ठाँउमा विस्तार गर्ने क्रममा काटिएको पहाड र अहिले बन्दै गरेको पुल बनाउन ताछिएको भित्तो भएको ठाउँमा पहिरो जाने र बर्खामा घण्टौसम्म सडक अवरुद्ध हुने खतरा उत्तिकै छ ।

मुग्लिनदेखि नागढुंगासम्म सडक विस्तारको काम सुरु भएकोले यसपटकको बर्खामा पहिरोको जोखिम छ । यस्तै, सडक विस्तार गर्ने क्रममा पुरानो भित्र भत्काएर काम सडक यात्रा निकै जोखिमपूर्ण बन्दै गएको देखिन्छ । मुग्लिनदेखि नारायणगढसम्मको खण्डमा पहिरो जाँदा सडक डिभिजन कार्यालय भरतपुर र पुल बन्दै गरेको ठाउँ वरपर पहिरो जाँदा पुल निर्माणको ठेक्का लिएको अनक कन्स्ट्रक्सनले पहिरो पन्छाउने गरी तयारी गरेको सडक डिभिजन कार्यालयको भनाइ छ ।

असार २ गतेबाट पहिरो जाने मौरी खोला लगायतका ठाउँमा एक्साभेटरहरु राखिएका छन् । मुग्लिन मलेखु सडक आयोजना प्रमुख किरण कार्कीले मुग्लिन मलेखु नागढुंगा सडकखण्डमा पहिरो आएमा विभिन्न स्टेशनमा रहेका ठेकेदार कम्पनीका जेसीबी लगाएर पहिरो तुरुन्तै हटाइने गरी पूर्व तयारी गरिएको बताए । मुग्लिनदेखि नारायणगढसम्मको खण्डमा कम्तीमा पनि ३ वटा जेसीबी सडक डिभिजनको र बाँकी पुल बनाउने ठेकेदारको राखेर पहिरो पन्छाउने योजना छ । यो खण्डमा यसअघि विभिन्न ३१ ठाउँमा पहिरो नियन्त्रणका काम गरिएको थियो ।

पहिरो रोक्ने कामका लागि मात्र ४० करोड रुपैयाँ खर्च भएको थियो । सडकखण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलवीरे, चारकिलो, टोपेखोला र कालिखोला नजिक पहिरो रोकथामको काम गरिएको थियो । नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर ‘रकनेटिङ’, ‘बोल्टिङ’ र ‘बायो इञ्जिनियरिङ’ प्रविधिबाट पहिरो रोकथामको प्रयास विगतमा गरिएको थियो ।

सो सडकका १८ ठाउँमा पहिरोको उच्च जोखिम रहेको सामान्य तथ्यांक डिभिजनसँग छ । दैनिक १० हजार सवारी आवातजावत गर्ने यो सडकखण्ड भएर राजधानी काठमाडौं, पोखरा लगायतका ठाउँमा जाने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?