+
+

पशुपतिबाट निकालियो जलहरी, मन्दिर परिसरमा जोखिने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १९:११
मन्दिरबाट जलहरी झिकेपछि जोख्ने तयारी गरिँदै । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

१० असार, काठमाडौं । पशुपतिनाथ मन्दिरको जलहरी जोख्नका लागि निकालिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेपछि जलहरी बाहिर निकालेर जोख्न लागिएको हो । मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा लगिएको छ । अब त्यहीँ जोखिनेछ । करिव एक क्वीन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा टुक्रा पारेर मात्रै निकाल्न सकिन्छ ।

नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायी रुपमा सीसीटीभी क्यामरा जडान गरेको छ भने काठमाडौं महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीहरुलाई राखिएको छ ।

जलहरी राख्न १०३ किलो सुन खरिद गरिए पनि ९३ किलोको मात्र जलहरी बनाइएको र १० किलोको रिङ बनाएको भनिए पनि त्यसको प्रमाण नभेटिएको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको थियो ।

चाँदीको जलहरी पुरानो भएपछि दुई वर्षअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले पशुपतिको मूर्तिमा सुनको जलहरी राख्ने विवादास्पद निर्णय गरेको थियो ।

तर जलहरी राख्ने सुन खरीद गर्दा अनियमितता भएको उजुरी परेपनि अख्तियारले यो विषयमा अनुसनधान अघि बढाएको थिएन । तर गत महिना  प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा सुनको भनेर चाँदीको जलहरी राखेको भन्दै एमाले अध्यक्ष ओलीलाई आरोपित गरेपछि यो विषय पुन: चर्चामा आएको थियो । दाहालको भनाइ तथ्यहीन भएको भन्दै संसदको रेकर्डबाट मेटाइए पनि अख्तियारले यो विषयमा अनुसन्धान अघि बढाएको हो ।

सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?