+
+

वागनरको विद्रोहले रुस र चीनको सम्बन्धमा कस्तो असर गर्ला ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १२:५८

११ असार, काठमाडौं । रुसमा वागनर सेनाका कमाण्डर  येवगेनी प्रिगोजिनको विद्रोहले चीन र रसियाबीचको रणनीतिक साझेदारीमा समस्या निम्तिन सक्ने चिन्ता विज्ञहरूले गरेका छन् ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिँया समकक्षी सी जिनपिङले दुई मुलुकको रणनीतिक साझेदारीमा कुनैपनि सीमा नरहेको बताएका थिए । तर मस्कोकेन्द्रित विद्रोहले यो साझेदारीमा समस्या निम्त्याउन सक्ने जानकारहरू बताउँछन् ।

रूसले आफ्नो सेनालाई एकीकृत राख्न नसकेको र पुटिनले आफ्नो सत्तालाई बलियो बनाउन नसकेको बुझाइ अब चिनियाँ पक्षमा हुने अक्सफोर्ड विश्वविद्यालयमा आधुनिक चीनको राजनीतिबारे अध्यापन गराउने प्राध्यापक रना मित्तर बताउँछन् । ‘यो घटनालाई चीनले निकै चासोपूर्वक हेरेको छ । रूसको सैन्य प्रणालीमा देखिएको विभाजन उसको लागि चिन्ताको विषय हो । पुटिनको सत्ता जोखिममा पर्ने विश्लेषण पनि चीनले गर्नेछ’, उनले भने ।

वागनरले पुटिनको प्रतिष्ठामा आँच पुग्नेगरी विद्रोह गरेकाले चिनियाँ राष्ट्रपतिले यसलाई ठूलै अक्षमताका रूपमा बुझ्ने चीन मामिला जानकार अरो वाभ्रेन बताउँछन् । ‘चिनियाँ कम्युनिस्ट पार्टीको डीएनएमा अराजकता र अस्थिरताप्रति निकै नै त्रास छ । सीले वागनरको विद्रोहलाई गम्भीर अक्षमताका रूपमा हेर्नेछन् । पुटिनको प्रतिष्ठामा आँच पुग्ने गरी भएको विद्रोहले रूसको शक्ति संरचना अब अरूको नजरमा निकै कमजोर देखिनेछ’, उनले भने ।

निकै लामो समयदेखि व्यापार र सैन्य साझेदारी गरिरहेको चीनका अघि कमजोर र घाइते देखिनु नै मस्कोका लागि सबैभन्दा ठूलो धक्का हो । रुस र युक्रेन युद्ध सुरू भएदेखिनै दुई मुलुकको सहकार्य थप विस्तार भएको थियो । यद्यपि रूसलाई  सहयोग गरेबापत पश्चिमा प्रतिबन्ध नलागोस् भन्नेमा सुरुवातदेखिनै चीन सचेत थियो ।

वागनरको विद्रोहपछि रूस चीनतर्फ झनै ढल्किने विश्लेषकहरू बताउँछन् । रुस र चीन  मामिला जानकार लाभिया पेग्गी भन्छन्, ‘तेल र ग्यास बेच्नका लागि रूस चीनसँगै निर्भर छ । यो हमलापछि पनि उसले चीनको सहायता खोज्नेछ र चीनसँग झनै निर्भर हुनेछ’, उनले भने ।

राजनीतिक दृष्टिकोणबाट हेर्दा अमेरिकालाई चुनौती दिनका निम्ति चीन र मस्कोको सम्बन्धी सहकार्य झनै बढ्ने अमेरिकी जासुसी संयन्त्र सीआईएका पूर्व अधिकृत जो के कुल्भर बताउँछन् ।

‘पुटिन रूसको सत्तामा रहुन्जेलसम्म सीले सम्भव भएसम्मको सहयोग गर्नेछन् । विद्रोह चर्किएर पुटिनको बहिर्गमन भए सीले मस्कोसँगको सहकार्यलाई नयाँ रूपले अघि बढाउन केही समय रोकिनेछन् । सम्भवत सीले रूसलाई युक्रेनबाट पछि हट्न भन्दै अमेरिका र पश्चिमा गठबन्धनसँग नयाँ स्वरूपमा प्रतिस्पर्धा गर्न सक्छन्’, उनले भने ।

वागनरको हमलालगत्तै रसियाका उपविदेशमन्त्री अन्द्रेइ रूदेन्को बेइजिङ पुगेका थिए । यो हमलाबारे चीनले हालसम्म कुनै पनि प्रतिक्रिया भने जनाएको छैन । यद्यपि, चीनले परिस्थितिलाई साम्य पार्न र रूसमा स्थिरताका लागि रूसको नेतृत्वलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको  उनले बताए ।

‘चिनिँया पक्षले हाम्रो नेतृत्वलाई पूर्ण रुपले सहयोग गर्दै रूसको समृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ’, उनले भने ।

तत्कालका लागि वागनरले विद्रोह स्थगन गर्दा चीनलाई ठूलो राहत पुगेको पग्गी बताउँछन् । ‘चीनलाई उचित रूपमा साझेदारी गर्नसक्ने रूसको खाँचो छ । चीनले जहिले पनि बलियो साझेदार खोज्छ । त्यसका निम्ति पनि उसले रूसको बर्बादी देख्न सक्दैन । चीनसँगको साझेदारीका लागि पनि रूस बर्बाद होइन बलियो हुनैपर्छ’, पग्गी भन्छन् ।

को हुन् पुटिनको प्रतिष्ठामा चुनौती दिने  प्रिगोजिन?

प्रिगोजिन पहिले सामान्य व्यापारी थिए । पछि पुटिनसँगन निकट हुँदै लडाकु दस्ता खोलेका उनी अहिले रूसमा लोकप्रिय बनेका छन् ।  रुसी सैन्य नेतृत्वको आलोचना,एकपछि अर्को जित निकालेर त्यसको खुशियाली मनाउने शैलीका कारण उनी लोकप्रिय बन्दै गएका हुन् ।

पहिला हटडग बेच्ने काम गरेका प्रिगोजिन हिंसा र क्रुरताका कारण विगतमा पनि खतरानक मानिन्थे । सन् १९६१ मा रूको पिटर्सबर्गमा जन्मिएका उनले आफ्नो २० को दशकको अधिकांश समय  जेलमै बिताए । क्रुर डकैतीका कारण उनी पटक-पटक जेल परेका थिए । सोभियत युनियनको अन्त्यको अवधितिर उनले फास्टफुड रेस्टुरेन्ट खोले । विस्तारै उनले चेन सुपरमार्केट र रेस्टुरेन्ट चलाए ।

व्यापारी भएपछि उनले प्रभावशाली व्यक्तिसँग साँठगाँठ बनाए । त्यसमध्ये पुटिन पनि एक थिए । एक दशकसम्म उनले हाइप्रोफाइलका क्याटरिङ चलाए । उनले राजकुमार चार्ल्सका साथै जर्ज बुससम्मलाई क्याटरिङ सेवा दिएका थिए ।

सरकारी र उच्चपदस्थबाट क्याटरिङ सम्बन्धी ठेक्का लिएर प्रिगोजिनले राम्रै सम्पत्ति कमाए । क्याटरिङ व्यवसायमा आउनुअघि उनी डकैतीमा १२ वर्ष जेल बसेका थिए । पुटिनसँग उनको निकटता यस्तो थियो की उनलाइ पुटिनको भान्से समेत भनिन्थ्यो । यत्तिका निकट प्रिगोजिनले अहिले पुटिनको प्रतिष्ठामा आँच पुग्ने गरी रूसमा विद्रोह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?