+
+

बोतल हान्ने युवकलाई प्रकाश सपुतले दिए माफी, आयोजकले मुद्दा फिर्ता लिने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते १०:४९

काठमाडौं । रोमानियामा भएको कन्सर्टमा आफूलाई बोतल प्रहार गर्ने नेपाली युवकलाई गायक प्रकाश सपुतले माफी दिएका छन् । सपुतसँगै बुचारेस्ट पुगेकी गायिका प्रीति आलेले सार्वजनिक गरेको भिडियोमा माफी दिएको देख्न सकिन्छ । भिडियोमा सपुत र ती युवकलाई हात मिलाएको र अँगालो हालेर मिलेको देखिएको छ ।

‘मेरो नाकमा पनि दुखेको छ र मनमा पनि । यसले मलाई भन्दा पनि तपाईंको लाइफमा असर गर्छ । हामी देश छाडेर परदेशमा गएका छौं । आइन्दा यस्तो काम नगर्नुहोला,’ गायक सपुतले ती व्यक्तिलाई माफी दिंदै भनेका छन्, ‘तपाईंले गर्दा मेरो मोरल डाउन भएको छ । तपाईंको लाइफलाई तलमाथि हुन नदिन पनि माफी दिएको हुँ ।’

ती युवकले पनि आफूलाई कसैले बोतल प्रहारका लागि नउक्साएको प्रष्टीकरण दिएका छन् । ‘रमाइलो गर्दागर्दै यस्तो भयो,’ ती युवकले गायक सपुत र आयोजक नरेश गिरीको सामन्नु भनेका छन् । सोही भिडियोमा सपुतले ती युवकलाई मादक पदार्थ सेवन नगर्न सल्लाह समेत दिएका छन् । ‘आफूले पत्तो नपाउने गरी पिउने काम नगर्नुहोला,’ सपुतको सल्लाह थियो ।

गायक सपुतको आग्रहअनुसार आयोजकले ती नेपाली युवकविरुद्धको प्रहरी उजुरी फिर्ता लिने भएको छ । साथै उनलाई नेपाल डिपोर्ट नगर्ने समेत जनाइएको छ । उक्त भिडियोमा आयोजक गिरीले प्रहरी र अध्यागमनमा दिएको उजुरी फिर्ता लिने बताएका छन् । ‘प्रकाशजीको आग्रहअनुसार प्रहरी र अध्यागमनमा दर्ता गरेको केस फिर्ता लिंदैछौं,’ गिरीले भने ।

सोमबार राति रोमानियामा आयोजना गरिएको ‘याद नेपाली म्युजिक फेस्टिभल भाग २’ नामक कन्सर्टमा ‘बोल माया’ गीत गाउँदै गर्दा गायक सपुतमाथि ती व्यक्तिले क्यान बोतल प्रहार गरेका थिए । नाकमा सामान्य चोट लागेको सपुतले बताएका छन् । यो घटनाको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेपछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानसहितका संस्थाले वक्तव्य जारी गर्दै कूटनीतिक नियोगको ध्यानकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?