+
+

बालबालिकासँग कुन उमेरमा कस्तो व्यवहार गर्ने ?

दीपकराज जोशी दीपकराज जोशी
२०८० असार १३ गते १३:०८

हामी बुबाआमालाई बालबालिका अगाडि सबथोक आउँछ भन्ने बनाउनु परिरहेको छ । तर भित्रभित्रै हामी आडम्बर, भ्रम, डर र त्रासको बाटो समातेर बालबालिकालाई आफ्नो नियन्त्रणमा राखी हुर्काउने गरिरहेका हुन्छौं ।

बालबालिकाको मानसिक विकासको लागि अभिभावकले दिनुपर्ने मार्ग दिन नसक्दा असन्तुलित भोजनबाट हुने कुपोषणबाट पीडित हुने बालबालिका भन्दा पनि ठूलो मानसिक दुष्चक्रमा फस्छन् । यसको प्रतिफल हामीले कल्पना गरेभन्दा ठूलो, अपत्यारिलो दुर्घटना हुन सक्छ ।

बालबालिकाको बानी-व्यवहारबाट आजित भएर बुबाआमाहरू आफूभित्रको निराशा विभिन्न ढंगले विभिन्न मान्छेमा पोख्ने गरिरहेका हुन्छन् । के बालबालिकाको आत्मसम्मानमा चोट पुग्नेगरी उनीहरूको बारेमा छिमेकी, विद्यालय, नातेदारसँग कुरा गरेर उनीहरूको बानीव्यहोरा सच्चिएला त ?

हो, प्रविधिको विकास, समयको गतिशीलता, सहरीकरण, विश्वव्यापीकरण सँगसँगै बालबालिकाको हुर्काइ पनि जटिल बन्दै गइरहेको छ । हामी हिजो जसरी हुर्किएका थियौं, त्यही तरिका र शैली प्रयोग गरिरहेका छौं तर आफ्ना दुःखलाई लुकाएर पनि राम्रो सेवा, सुविधा, जीवनशैली दिने प्रयास गरिरहेका छौं ।

हामी माया चिप्स, कुरकुरे, कोक, फेन्टामा खोजिरहेका छौं अर्थात् बाबुनानीले जे माग्यो त्यही पुर्‍याइदिने गरिरहेका छौं । जसको प्रतिफल उनीहरूको मनोबल सहीभन्दा गलत कुरामा बढी केन्द्रित भइरहेको छ । किनकि उनीहरूलाई थाहा छैन कि सही र गलत के हो । अभिभावकले उनीहरूलाई सही र गलत नबुझाई केवल रोक्न खोज्छौं । मानवीय स्वभाव क्षणिक आनन्दमा बढी रमाउने हुन्छ किनकि दीर्घकालीन आनन्दको लागि त्याग, तपस्या र थुप्रै समस्याको चिरफार गरी अगाडि बढ्नुपर्छ । बालबालिकाको यसमा के दोष ? उनीहरू क्षणिक र तत्कालीन विषयमा रमाउनु स्वाभाविक हो ।

हामी समय र परिस्थितिअनुसार हस्तक्षेप र उपयुक्त वातावरण तय गरी वास्तविक माया गर्ने बुबाआमा बन्न सक्नुपर्छ । यसले गर्दा बालबालिकाले गलत बाटोमा हिंड्ने कुरा सोच्न पनि नसकून् । तसर्थ सम्पूर्ण बुबाआमाले समयसापेक्षित रूपमा आफूलाई अपडेट गरी सकारात्मक सोच बालबालिकामा रोप्न सकियो भने भोलिका दिन सोचअनुसारको फल प्राप्ति हुन्छ । सफल र खुसी अभिभावक बन्न सामान्य तीन विषयलाई ख्याल गर्ने कि ?

अभिभावकले उनीहरूलाई सही र गलत नबुझाई केवल रोक्न खोज्छौं । मानवीय स्वभाव क्षणिक आनन्दमा बढी रमाउने हुन्छ, किनकि दीर्घकालीन आनन्दको लागि त्याग, तपस्या र थुप्रै समस्याको चिरफार गरी अगाडि बढ्नुपर्छ ।

पाँच वर्षभित्रका बालबालिकासँगको व्यवहार

बालबालिकाको जन्मिने बित्तिकैको पहिलो रुवाइपछि बुबाआमाले बुझ्नुपर्ने हुन्छ कि ऊ स्वस्थ र ठीक छ । बाँकी कसरी हुर्काउने बुबाआमाको हातमा छ ।

बालबालिकाको मस्तिष्कले गर्भावस्थामा त बुझिरहेको हुन्छ भने जन्मपश्चात् हरेक विषयवस्तुलाई नजिकबाट आफ्नै ढंगले मस्तिष्कमा बीजारोपण गरिरहेका हुन्छन् । तसर्थ, डा. नवराज केसीको पुस्तक ‘शून्यको मूल्य’ अनुसार विद्यालय, विश्वविद्यालय भन्दा आमाको गर्भ र काखमा हुने विकास बालबालिकालाई कैयौं गुणा ठूलो हो ।

सबैभन्दा बढी लगानी गर्भ अवस्थामा र पाँच वर्षभित्रमा गर्दा त्यसको प्रतिफल सोचेभन्दा बढी हुन्छ । कस्तो स्वभावको मान्छे बनाउने वा बन्ने बालबालिकाको यतिखेरको हुर्काइबाट निर्धारण हुन्छ । डा. केसीका अनुसार एउटा आमाको गर्भले आफूभित्र हुर्किंदै गरेको नयाँ जीवन निर्माण गर्दा एक सेकेण्डमा दिमागका आठ हजार नयाँ कोषिका बनाउने गर्दछ । यसबाट के प्रष्ट बुझिन्छ कि बालबालिकाको दिमाग पाँच वर्षभित्र कस्तो बन्ने तय भइसकेको हुन्छ ।

पाँच वर्षको उमेरभित्र उनीहरूको मस्तिष्कमा न्युरोन र साइनाप्सहरूको तीव्र विकास भइरहेको हुन्छ तर हामीहरू बालबालिकालाई केही पनि थाहा छैन, सानै त छ भन्ने भ्रममा हुन्छौं । तसर्थ, पाँच वर्षसम्म बालबालिकालाई असल वातावरण र भरपुर समय दिएर हुर्काउनुपर्छ । यो सामान्य बुझाइ हो, बोटबिरुवालाई पनि सानोमा सबैभन्दा बढी गोडमेल गर्दैनौं र ? अनि बालबालिकालाई खेलौना दिएर, खाना खुवाएर मात्र पुग्छ त ? गोडमेल राम्रोसँग गरेनौं भने पछि राम्रो फल फलेन भन्ने गुनासो गर्नुका के औचित्य छ र ?

बालबालिकाका लागि सुरुको पाँच वर्ष सबैभन्दा महत्वपूर्ण समय हो, तर सामान्यतया प्रविधिको विकाससँगै डिजिटल उपकरण बालबालिकाको हातमा दिएर खाना खुवाउने तथा उनीहरूलाई त्यसमा व्यस्त बनाएर हामीहरू हाम्रो जीवनलाई क्षणिक रूपमा सजिलो बनाइरहेका छौं ।

एकछिन गाउँले परिवेशलाई नियालेर हेरौं त । बच्चालाई खाना खुवाउने तरिकाबारे सोचौं । बालबालिका एक ठाउँबाट अर्को ठाउँसम्म कुदेर जाने गर्दथे । खुसी भएर बुवाआमासँग खेलेर खानाको स्वाद लिएर खाने गर्दथे ।

आजभोलि खानाको स्वाद लिनु त परको कुरा हो उसले के खायो भन्नेसम्म पनि बालबालिकालाई थाहा हुँदैन । तसर्थ, बुबाआमाले ठूलाठूला सपनाका लागि व्यस्त भएर उनीहरूकै भविष्यको लागि व्यस्त भएको भन्ने जस्ता भ्रमबाट बेलैमा बाहिर निस्कन सकेनौं भने बालबालिका कि त राम्रा बन्दैनन् कि त हाम्रा रहँदैनन् तर त्यतिबेला हाम्रो चेत खुल्छ तर ढिला भइसकेको हुन्छ ।

१३ वर्षसम्मका बालबालिकाप्रतिको व्यवहार

बालबालिकाका लागि मनको कुरा बुझ्ने साथी, सहयोगी, प्रेरणाको स्रोत, वास्तविक रूपमा उसलाई आइपर्ने समस्याको समाधानकर्ता हुन् बुबाआमा । बालबालिकाले बुबाआमासँग यतिबेला स-साना कुरामा प्रशंसा तथा मायाको अपेक्षा गरेका हुन्छन् । अपेक्षा पूरा हुँदा उनीहरूभित्र आत्मबल बढ्छ र सबथोक गर्न सक्छु भन्ने दरिलो विश्वास जाग्छ ।

वास्तविक रूपमा विभिन्न सीपहरूको विकास गर्ने बेला हो यो, जसले गर्दा उनीहरूले आफ्नो भविष्यलाई सुन्दर बनाउन सक्दछन् । तसर्थ आमाबुबाले बालबालिकाको मनोभावना बुझ्ने र त्यही अनुसार उनीहरूको परिपक्व साथी बनेर सही र गलत छुट्याएर उचित मार्गमा हिंड्नका लागि प्रेरक बन्न सकेमा असल छोराछोरी हुर्किन्छन् ।

प्रत्येक घरघरमा यतिबेला बालबालिकालाई सबै कुराको जानकारी गराउनुपर्दछ, बाटाहरू देखाउनुपर्दछ, जसबाट उनीहरूमा सबै कुराको जानकारी ग्रहण गरी सही बाटो पहिल्याउने क्षमता बढ्छ र कुनै न कुनै क्षेत्रमा लाग्ने इच्छा जाग्दछ । त्यही अनुसारको उपर्युक्त मार्ग हामीहरूले तय गरिदिएमा उनीहरू कुनै न कुनै क्षेत्रमा अब्बल हुनेमा विश्वस्त हुन सकिन्छ ।

१८ वर्षसम्म गरिने व्यवहार

यौवन अवस्थामा थुप्रै परिवर्तन एकैचोटि आउने तथा पढाइ र करिअर बनाउन आधार तयार गर्न उनीहरूलाई दबाब पर्ने समय हो । यतिबेला उनीहरू बुबाआमा भन्दा बढी साथीहरूसँग रमाउने, आफ्ना कुरा सुनाउने-सुन्ने गर्दछन् । तसर्थ बुबाआमाले नजिकबाट उनीहरूका क्रियाकलाप नियाल्नुको साथै बेला-बेलामा उनीहरूका साथी-सर्कलसँग भेटघाट गर्ने तथा सबैका बारेमा जानकारी राख्नुपर्दछ जसबाट उनीहरूले अवलम्बन गरेको बाटोको बारेमा बेलैमा पहिचान गरी आवश्यक परामर्श दिनुपर्दछ ।

यतिबेलाको समयमा बुबाआमा बालबालिकाका लागि सही अर्थमा मनोपरामर्शदाता, पे्ररक वक्ता, प्रेरणाका स्रोत, आदर्श व्यक्तित्व, माया-प्रेमका अभिभावक हुन् । यो समय बालबालिकाका लागि एकदमै अस्थिर समय हो उनीहरू जतिबेला जतातिर पनि हिंड्न सक्दछन् । तसर्थ यतिबेलासम्म बालबालिकाले गरेका गैरकानुनी कार्य पनि बालबालिकाको अवचेतन अवस्थाले गरेको मानी छुट दिइन्छ ।

यदि यो समयसम्म बालबालिकाको गोडमेल बुबाआमाले सही तरिकाले गर्न सकेमा कुनै पनि परिवारमा बुबाआमाका लागि बालबालिका बोझ नभई खुसीका आधार तथा अमूल्य सम्पत्तिका स्रोत हुन सक्छन् ।

(लेखक शिक्षाकर्मी हुन् ।)  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?