+
+

एक मत जुटाउन मुख्यमन्त्री कार्की सक्रिय, रोक्ने प्रयासमा गठबन्धन

हरि अधिकारी हरि अधिकारी
२०८० असार १४ गते ९:३९

१४ असार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन् । माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउँसो बजे बस्ने प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत माग्ने तयारी गरेका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना सांसद कार्कीको पक्षमा छन् । बहुमतका लागि उनलाई एक मत पुग्दैन । त्यो एक मत जुटाउन मुख्यमन्त्री कार्की सक्रिय छन् । तर विपक्षी गठबन्धनका दलहरु पनि कार्कीको विश्वासको मतको प्रस्ताव फेल गराउन प्रयासरत छन् ।

कार्कीको विपक्षमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १२(सभामुख बाहेक), एकीकृत समाजवादीका ४ र जसपाको एक जना सांसद छन् । सभामुख बाहेक दुवै पक्षसँग समान ४६–४६ सांसद छन् । बराबरी भएको अवस्थामा सभामुखले निर्णायक मत दिन पाउँछन् । सभामुख बाबुराम गौतम प्रतिपक्षी गठबन्धनमा रहेको माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् ।

मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि अन्य दलका सांसदलाई फकाइरहेका छन् । सत्ता पक्षले सांसदलाई फकाउन थालेपछि प्रतिपक्षी गठबन्धन पनि चनाखो बनेको छ । ‘डे वानदेखि नै उहाँहरुको गतिविधि हामीलाई जानकारी छ,’ गठबन्धनका एक नेताले भने, ‘तर सफल हुनुहुन्न, कोही टंक आङ्बुहाङ निस्कदैनन् ।’ तत्कालीन नेकपा विभाजन हुँदा माओवादी केन्द्रका सांसद टंक आङ्बुहाङ एमाले प्रवेश गरेर मन्त्री बनेका थिए ।

प्रतिपक्षी गठबन्धन दलका नेताहरुले भने मुख्यमन्त्रीको प्रस्तावलाई फेल गराउने दाबी गरेका छन् । माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव फेल गराउने बताए ।

विश्वासको मत सम्बन्धी प्रस्ताव फेल गराउने निर्णय गरिसकेको प्रतिपक्षी गठबन्धनको बैठक आज बिहान ११ बजे बस्दैछ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?