+
+

भारतमा राहुल गान्धीलाई मणिपुरको हिंसाग्रस्त क्षेत्रमा जान रोक

अनलाइनखबर अनलाइनखबर
२०८० असार १४ गते १७:०८
इम्फालमा राहुल गान्धी ।

१४ असार, काठमाडौं । भारतीय विपक्षी दल कांग्रेस आईका वरिष्ठ नेता राहुल गान्धीलाई प्रहरीले मणिपुर राज्यको हिंसाग्रस्त क्षेत्रमा जान रोक लगाएको छ ।

उत्तर पूर्वी राज्यहरुको २ दिने भ्रमणमा निस्किएका गान्धी बिहीबार मणिपुरको राजधानी इम्फाल पुगेका थिए ।

इम्फाल पुगे लगत्तै गान्धीले सामाजिक सञ्जाल फेसबुकमा मणिपुरमा शान्ति र अमनचयन कायम गर्नु पहिलो प्राथमिकता भएको लेखेका थिए ।

त्यसलगत्तै कांग्रेसका वरिष्ठ नेता भेनुगोपालले पत्रकारहरुलाई गान्धीको सवारी रोकिएको जानकारी दिए । चुराचन्दपुर हिँडेका गान्धीको गाडीलाई प्रहरीले विष्णुपुर नजिकै रोकेको उनले बताए ।

‘प्रहरीले हामीलाई अनुमति दिने स्थितिमा नरहेको बतायो,’ भेनुगोपालले भने, ‘सडकको दाया बाया उभिएका स्थानीयबासिन्दाले हात हल्लाएर राहुल गान्धीको स्वागत गरिरहेका थिए, उनीहरुले हामीलाई किन रोके ? मैंले केही बुझ्न सकिनँ ।’

प्रहरीले भने गान्धीको सुरक्षालाई ध्यानमा राखेर गाडीबाट अघि बढ्न नदिएको र हेलिकोप्टरबाट जान भनेको बताएको छ ।

मणिपुरमा पछिल्लो २ महिनादेखि स्थानीय मैती र कुकी समूदायबीच हिंसा भइरहेको छ । जसमा अहिलेसम्म १०० जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरको हिंसाबारे वरिष्ठ अधिकारीहरुसँग छलफल गरेका छन् । तर उनी मणिपुर नगएको भन्दै आलोचना भइरहेको छ ।

केन्द्र सरकारले हिंसा नियन्त्रणमा कुनै चासो नदिएको भन्दै आलोचना भएपछि एक हिनाअघि गृहमन्त्री अमित शाह मणिपुर पुगेका थिए । तर पनि त्यहाँ दैनिक जसो नै हिंसाका घटना भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?