१५ असार, बारा । मधेस प्रदेशस्तरीय दोस्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताको उपाधिका लागि बारा र रौतहट भिड्ने भएका छन् । सिमरा रंगशालामा विहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सर्लाहीलाई पराजित गर्दै रौतहटले बारासँगको उपाधि भिडन्त पक्का गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा रौतहटले सर्लाहीलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्यो । निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि नतिजा टाइब्रेकरबाट निकालिएको थियो ।
टाइब्रेकरमा रौतहटका लागि विपिन थापामगर, अभिषेक चौधरी र किसन गौरोले गोल गरे । सर्लाहीका लागि विकेश घिसिङ र शिव चौलागाईले गोल गर्दा अन्य खेलाडीको प्रहार रौतहटका गोलरक्षक निरज धामीले बचाउ गरे । धामी खेलको म्यान अफ दि म्याच घोषित भए ।
रौतहटले उपाधिका लागि शनिवार बारासँग प्रतिस्पर्धा गर्नेछ । सिरहालाई टाइब्रेकरमा पराजित गर्दै बारा यसअघि नै प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ । सर्लाहीले भने सिरहासँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । तेस्रो स्थानका लागि शुक्रबार साँझ दुई टिम भिड्ने छन् ।
मधेस प्रदेश फुटबल संघको आयोजना र बारा जिल्ला फुटबल संघको सहआयोजनामा जारी प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने टिमले २० हजार नगद प्राप्त गर्नेछन् । मधेस प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयको आर्थिक सहयोगमा असार ११ गतेदेखि प्रतियोगिता जारी छ ।
प्रतिक्रिया 4