+
+

बालबालिका यसरी फस्दैछन् साइबर अपराधीको जालोमा

बालबालिका साइबर बुलिङ, यौनजन्य सामग्री आदानप्रदान, अनलाइन लाइभमा बस्दा दुर्व्यवहार र अनलाइन गेमिङ लगायतका साइबर अपराधको जालोमा धेरै फस्ने गरेको पाइने साइबर ब्युरोका प्रवक्ता पशुपतिकुमार राय बताउँछन् ।

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० असार १६ गते १९:३०

काठमाडौं । घटना

कक्षा १० मा अध्ययनरत १६ वर्षीया स्मिता थापालाई ६ महिनाअघि विदेशमा रहेका दाइले पढाइमा सहयोग हुने भन्दै मोबाइल पठाइदिए । मोबाइल पाएर स्मिता मक्ख परिन् । नयाँ मोबाइलमा टिकटक, फेसबुक, इन्टाग्राम सबै डाउनलोड गरिन् । आफ्नो फेसबुक अकाउन्टबाट सबै साथीलाई फ्रेन्ड रिक्वेस्ट पठाइन् । केही नयाँ साथी पनि बनाइन् । एक दिन अचानक उनलाई अनमोल केसीको फ्रेन्ड रिक्वेस्ट आयो । आफूलाई एकदमै मनपर्ने हिरोको फ्रेन्ड रिक्वेस्ट आएपछि उनले रिक्वेस्टलाई स्वीकार गरेर साथी बनिहालिन् ।

त्यसपछि उनीहरूबीच च्याटमा कुराकानी हुन थाल्यो । उनलाई तिमी कति वर्षको भयौ, कहाँ बस्छौ ? जस्ता प्रश्नहरू सोधियो उनले जवाफ दिंदै गइन् । उताबाट फोटो खिचेर पठाउन भन्ने कुरा आयो, उनले पनि फोटो खिचेर पठाइन् । कुरा हुँदै गयो । केही समयपछि अनमोल केसीको फोटोको ठाउँमा अर्को फोटो परिवर्तन भयो ।

उनले सोचेको हिरो अनमोल केसी नभएर अर्कै व्यक्ति रहेछन्  । त्यही पनि उनीहरूको कुरा भइरहन्थ्यो । त्यो केटाले उनलाई माया गर्ने बतायो । उनीहरूको कुरा अझै लामो हुँदै गयो । उनलाई त्यो व्यक्तिले अर्धनग्न फोटो पठाउन भन्यो । उनले मानिनन् । ‘तिमीलाई मेरो माया लाग्दैन, विश्वास लाग्दैन पठाउन ।’ व्यक्तिले जवाफ दियो ।

फोटो पठाएपछि पनि उनीहरूको साधारण कुरा भइरह्यो । केही दिनपछि फेरि अर्को अर्धनग्न फोटो पठाउन त्यो व्यक्तिले दबाब दियो । उनले पहिले पठाएको फोटो छ त भन्ने जवाफ फर्काइन् । त्यो फोटो हरायो अर्को पठाऊ भनेर जवाफ आयो । विश्वास गरेर उनले फेरि अर्को फोटो पठाइन् । त्यसको केही दिनपछि त्यो व्यक्तिले स्मितालाई फोन गरेर तेरो अर्धनग्न फोटो मसँग छ,  मलाई ३० हजार रुपैयाँ दे, नत्र फोटो फेसबुकमा राखिदिन्छु’ भन्यो ।

स्मिता साह्रै डराइन् । फेरि त्यसरी नै फोन आयो । मसँग पैसा छैन अब यसरी फोन गरिस् भने पुलिसमा उजुरी गर्छु भनिन् । ‘तैंले उजुरी गरेर मलाई कहिले समात्ने, त्यो बेलासम्म म तेरो फोटो सार्वजनिक गर्दिन्छु ।’ त्यो व्यक्तिको जवाफले स्मिता झन् तनावमा परिन् । कसलाई सुनाउनु भनेर चुपचाप बसिन् । अर्को दिन हिम्मत गरेर उनले यो सब कुरा आमालाई सुनाइन् । आमाले सबै कुरा स्मिताको दाइलाई सुनाइन् । दाइले साइबर ब्युरो गएर उजुरी गर्ने सल्लाह दिए । सल्लाह अनुसार उनीहरूले साइबर ब्युरोमा रिपोर्ट गरे र त्यो व्यक्तिलाई कारबाही भयो ।

घटना

कक्षा ९ मा अध्ययनरत आमेश तामाङसँग आफ्नो मोबाइल छैन । उनी फुर्सदको समयमा दाइको फोन चलाउँछन् । उनलाई मोबाइलमा गेम खेल्न र फेसबुक चलाउन एकदमै मन पर्छ । म्यासेन्जरमा साथीहरूसँग गफ गर्ने क्रममा उनको म्यासेन्जरमा तपाईंले आइफोन जित्नु हुनेछ भन्ने एउटा लिंक आयो । के रहेछ भनेर उनले त्यो लिंकमा थिचे । त्यो लिंकमा थिचेपछि उनको इमेल आइडी माग्यो उनले इमेल हाले त्यसपछि त उनको फेसबुक चल्नै छाड्यो । किन चलेन होला भनेर उनलाई चिन्ता लाग्यो ।

बिग्रियो होला एक दुई दिनमा चल्छ भन्ने लाग्यो उनलाई । तर उनको फेसबुकबाट नराम्रो फोटो साथीलाई  ट्याग गर्ने, साथीलाई जथाभावी म्यासेज गर्ने लगायतको समस्या भएपछि उनले आफ्नो फेसबुक ह्याक भएको थाहा पाए । उनले यो कुरा परिवारमा कसैलाई भन्न सकेका छैनन् । एक हप्ताअघि  नयाँ फेसबुक बनाएर साथीहरूलाई आफ्नो पुरानो आइडी ह्याक भएको कुरा जानकारी गराए ।

****

बालबालिका साइबर बुलिङ, यौनजन्य सामग्री आदानप्रदान, अनलाइन लाइभमा बस्दा दुर्व्यवहार र अनलाइन गेमिङ लगायतका साइबर अपराधको जालोमा धेरै फस्ने गरेको पाइने साइबर ब्युरोका प्रवक्ता पशुपतिकुमार राय बताउँछन् ।

बालिकाहरू बढी साइबर अपराधको सिकार हुने गर्छन् । बालिकाहरूलाई सामाजिक सञ्जालमार्फत ललाइफकाइ गरेर उनीहरूसँग पैसा माग्ने काम गर्छन् । उनीहरूलाई त्यसरी फसाउने व्यक्तिहरू स्कुले तथा प्लस टु पढ्दै गरेका केटाहरू नै हुने गरेको बढी पाइने मनोविद् पनेरु बताउँछिन् ।

के हो साइबर अपराध ?

विकीपिडियामा उल्लेख भएअनुसार विद्युतीय उपकरणहरू कम्प्युटर, मोबाइल तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्यलाई साइबर अपराधका रूपमा परिभाषित गरिएको छ । खासगरी साइबर माध्यमको दुरुपयोग गरेर हुने गलत तथा गैरकानुनी क्रियाकलापलाई साइबर अपराध भनिन्छ । अन्य अपराधभन्दा यसको प्रकृति र शैली बिलकुल फरक छ भने यसको प्रभाव पनि शक्तिशाली र आम रूपमा हुन्छ । विद्युतीय प्रविधिको गलत प्रयोगले निम्त्याउने यी अपराध अन्य अपराधभन्दा भिन्न शैलीको हुने प्रवक्ता राय बताउँछन् ।

कस्ता क्रियाकलाप साइबर अपराध हो ?

इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट फ्रड ( धोकाधडी), अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैङ्किङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्‍याइने क्षतिलगायत अवैधानिक कार्य साइबर अपराध हो ।

त्यस्तै फेक आइडी बनाउने, सामाजिक सञ्जाल प्रयोग गरी गाली गर्ने, वेबसाइट ह्याक गर्ने, फोटो सम्पादन गरी स्वरूप परिवर्तन गर्ने, अश्लील फोटो/भिडियो पठाउने, सामाजिक सञ्जालमार्फत जिस्काउने, अपमान गर्ने, कल बाइपास, गैरकानुनी इमेल, एसएमएस, धम्की दिने जस्ता कार्यलाई पनि साइबर अपराध मानिन्छ ।

बालबालिका साइबर अपराधको सिकार भएका छन् भनेर कसरी थाहा पाउने ?

बालबालिका साइबर अपराधको सिकार भएका छन् भने उनीहरू फोनमा म्यासेज आउँदा र फोन आउँदा डराउने असहज महसुस गर्ने जस्ता लक्षण देखाउने मनोविद् गृष्मा पनेरु बताउँछिन् ।

साइबर अपराधको सिकार भएका बच्चाहरू डरको कारण सामाजिक सञ्जालको बारेमा बोल्न रुचाउँदैनन् । साइबर बुलिङको कुरा गरेको बेला रिसाएर झर्किएर बोल्ने पनि गर्छन् भने केही भएको छ भनेर अभिभावकले बुझ्नुपर्ने पनेरु बताउँछिन्  ।

स्कुल जान नरुचाउने, मोबाइल तथा कम्प्युटर चलाउँदा चलाउँदै बन्द गरेर भाग्ने जस्ता अस्वाभाविक व्यवहार देखाउँछन् । ‘अहिले बच्चामा साइबर बुलिङको समस्या एकदमै धेरै देखिएको छ । यस्तो भएमा उनीहरू सामाजिक सञ्जालबाट टाढा हुने, परिवार साथीहरूसँग टाढा हुने, राम्ररी ननिदाउने जस्ता समस्या समेत देखा पर्छ,’ मनोविद् पनेरु भन्छन् ।

कस्तो व्यक्तिले बालबालिकालाई बुलिङ गर्छन् ?

कोही व्यक्ति पहिले आफू साइबर बुलिङको सिकार भएको छ त्यस्ता व्यक्तिले बालबालिकालाई बुलिङ गर्ने गरेको पाइने मनोविद् पनेरु बताउँछिन् । ‘मलाई यस्तो भयो अब अरूलाई पनि यस्तो गर्छु भन्ने हुन्छ केही मान्छेलाई त्यस्तै मान्छेले साइबर बुलिङ गर्छन्,’ उनी भन्छिन् ।

जो व्यक्तिको आत्मविश्वास कम हुन्छ, उसले अरूलाई नराम्रो देखाएर आफू राम्रो देखिने प्रवृत्ति भएका व्यक्तिले पनि अरूलाई बुलिङ गर्ने दु:ख दिने उनले बताइन् ।

बालिकाहरू बढी साइबर अपराधको सिकार हुने गर्छन् । बालिकाहरूलाई सामाजिक सञ्जालमार्फत ललाइफकाइ गरेर उनीहरूसँग पैसा माग्ने काम गर्छन् । उनीहरूलाई त्यसरी फसाउने व्यक्तिहरू स्कुले तथा प्लस टु पढ्दै गरेका केटाहरू नै हुने गरेको बढी पाइने पनेरु बताउँछिन् । ‘स्कुले तथा प्लस टु पढ्ने केटाहरूलाई मोबाइल, मोटरसाइकल जस्तो कुरा चाहियो र परिवारबाट त्यो पूरा सकेन भने त्यसरी साइबर बुलिङमार्फत पैसा लिएर आफ्नो चाहना पूरा गर्छन्,’ उनी भन्छिन् ।

साइबर अपराधको कहाँ र कसरी उजुरी दिने ?

साइबर अपराधबारे नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटीमा पीडित स्वयं पुगेर वा अन्य कुनै व्यक्तिले पीडितमाथि भएको अपराधबारे खुल्ने किसिमका प्रमाणहरू साथै लिएर उजुरी दिन सकिन्छ । काठमाडौं  बाहिरका व्यक्तिले नजिकैको प्रहरी कार्यालयमा गएर उजुरी दिन सक्छन् । त्यस्तै अनलाइन प्लेटफर्म  इमेल वा सामाजिक सञ्जालमार्फत पनि उजुरी दिन सकिन्छ । उजुरी दिनको लागि साइबर ब्युरोको फोन नम्बर ०१-५३१२०४४, ०१-५३१२०४८, ९८५१२८६७७०, इमेल [email protected] मा इमेल समेत गरी उजुरी गर्न सकिन्छ ।

यसरी उजुरी गर्दा आफ्नो निवेदन, आफ्नो परिचयपत्र (नागरिकता, पासपोर्ट, लाइसेन्स लगायत) र के अपराध भएको हो, त्यसबारे जानकारी गराई उजुरी गर्न सकिन्छ । विद्युतीय कारोबार दिन अन्तर्गतको कसुरमा ऐनले थाहा पाएको दिनदेखि ३५ दिनभित्र उजुरी गरिनुपर्छ भनिएको छ ।

साइबर अपराधको सजाय

साइबर अपराधको लागि प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत रहेका सजाय गर्ने भएकाले यसमा उल्लेख भएअनुसार कसुर दातालाई बढीमा पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्नेछ । तर यदि कसुरदाताले एकभन्दा धेरै कसुर गरेको खण्डमा भने कानुनमा उल्लेख भए अनुसारका अन्य कसुरहरू पनि थप हुने व्यवस्था छ ।

विद्युतीय माध्यमबाट हुने अपराधहरू पनि भिन्न-भिन्न किसिमले हुने भएकाले कानुनमा उल्लेख भएअनुसार छुट्टाछुट्टै कसुर हुने व्यवस्था छ । यदि कसैले एउटै अपराध गर्नका लागि विभिन्न कसुर गरेछ छ भने त्यसअन्तर्गत छुट्टाछुट्टै कसुर थप हुने व्यवस्था छ ।

मानौं एउटा व्यक्तिले अनलाइनको प्रयोग गरेर कसैलाई ठगी गरेको छ र कुनै व्यक्तिको व्यक्तिगत गोपनीयता समेत भंग गरेको छ भने यस्तो अवस्थामा उसलाई विद्युतीय कारोबारसम्बन्धी, ठगी कसुर र व्यक्तिगत गोपनीयता भंग गर्न नहुने सम्बन्धी छुट्टाछुट्टै कसुर लाग्न सक्छ, अथवा बैंकिङ कसुर गरेको छ भने त्यो पनि थप हुन्छ । कसुरदाताले गरेको अपराधको आधारमा सजाय हुनेछ ।

साइबर ब्युरोका अनुसार यस्ता अपराधबाट बच्न ध्यान दिनुपर्ने कुरा

-कुनै पनि सामाजिक सञ्जाल वा एप्लिकेसनको पासवर्ड राख्दा गोप्य र अनुमान गर्न नसकिने (जस्तै, अक्षर, अंक, स्पेसल क्यारेक्टर सम्मिलित र टु स्टेप भेरिफिकेसन इनेबल गर्ने) पासवर्ड राख्ने ।

-पासवर्डलाई समय समयमा परिवर्तन गरिरहने ।

-कसैलाई आफ्नो व्यक्तिगत पासवर्ड नदिने ।

-अपरिचित व्यक्तिबाट प्रलोभन देखाई आउने इमेललाई नखोल्ने र प्रतिउत्तर नदिने ।

-साइबर क्याफे जस्तो धेरैले प्रयोग गर्ने स्थानबाट सकेसम्म इन्टरनेट बैंकिङ जस्ता संवेदनशील कारोबार नगर्ने ।

-इमेल र फेसबुक जस्ता सोसल नेटवर्किङ साइट प्रयोग गरिसकेपछि अनिवार्य लगआउट गर्ने ।

-सार्वजनिक स्थलमा उपलब्ध इन्टरनेट प्रयोग गर्दा भरसक संवेदनशील विवरण भएका एप नखोल्ने, यदि खोल्नै परे पनि पासवर्ड सेभ नगर्ने ।

-सामाजिक सञ्जालमा आफूले चिनेका मानिसलाई मात्र ‘एड’ गर्ने ।

-अनलाइनमा भेटिएका साथीसँग सकेसम्म कुराकानी नगर्ने, गर्नैपरे पनि सीमित कुरा मात्र गर्ने ।

-आफ्नो र आफ्ना साथीहरूको व्यक्तिगत विवरण अनलाइनमा पोस्ट नगर्ने, गर्नुपर्ने अवस्था आए व्यक्तिगत विवरण ब्लर गर्ने ।

-चिट्ठा, उपहार वा अन्य कुनै बहानामा आउने आफू सुनिश्चित नभएका लिंक तथा म्यासेज नखोल्ने ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?