+
+

मोहन्याल केन्द्र विवाद : वडाध्यक्ष कुटेको आरोपमा ४ जना पक्राउ

जनक विष्ट जनक विष्ट
२०८० असार १७ गते २०:२१

१७ असार, धनगढी । १० असारमा मोहन्याल गाउँपालिकाको गाउँसभाले वडा नम्बर १ को भकुण्डेटारमा केन्द्र तोक्ने निर्णय गरेपछि उत्पन्न विवाद अझै साम्य भएको छैन ।

हाल खिमडीमा रहेको गाउँपालिका केन्द्र सार्ने निर्णय भएपछि कतिपय जनप्रतिनिधि र स्थानीयले निरन्तर आन्दोलन गर्दै आएका छन् ।

गाउँसभाले केन्द्र सार्ने निर्णय गरेकै दिन सुदूरपश्चिमका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले उद्घाटन गरेको गाउँपालिकाको प्रिफ्याब भवनमा ढुंगामुढा प्रहार भएको थियो । ढुंगामुढाबाट झ्यालका सीसा फुट्नुका साथै कुर्सी भाँचिएका छन् ।

केन्द्र सारिएको विरोधमा भइरहेको आन्दोलनमा वडा नम्बर ७ का वडाध्यक्ष नवराज कठायतसहितका केही व्यक्ति घाइते भएका थिए । कठायतको नेपालगञ्जमा उपचार भइरहेको छ ।

अबेर राति गाउँसभाको बैठक राखेर केन्द्र तोक्ने निर्णय गरिएको भन्दै आक्रोशित स्थानीयले ढुंगामुढा प्रहार गरेका थिए । सोही क्रममा केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुखडले गाउँपालिकाको केन्द्र सार्ने निर्णयपछि सिर्जना भएको तनावलाई ध्यानमा राख्दै प्रहरी निरीक्षक देवबहादुर भण्डारीको कमाण्डमा थप प्रहरी मोहन्याल पठाएको छ । विवाद साम्य नभइसकेका कारण प्रहरी टोली एक हप्तादेखि मोहन्यालमै छ ।

मोहन्याल गाउँपालिका–४ का स्थानीय कृष्ण थापाले गाउँपालिकाले रातारात गाउँसभाको बैठक राखेर पालिकाको केन्द्र तोक्ने निर्णय गरेपछि स्थानीय आक्रोशित भएको बताए । थापाले विगतमा वडा नम्बर ४ को खिमडीमा गाउँपालिकाको केन्द्र तोक्नुपर्ने बताउने अध्यक्ष देवीदत्त उपाध्यायले अपरिपक्व र आत्मकेन्द्रित निर्णय गराएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको बताए ।

‘गाउँपालिकाले रातारात गाउँसभाको बैठक राखेर हतारमा वडा नम्बर १ को भकुुण्डेटारमा केन्द्र तोक्नु गलत छ । जहाँ कुनै भौतिक पूर्वाधार छैन, जंगल क्षेत्र मात्र रहेको त्यहाँ केन्द्र तोक्नुमा अध्यक्षकै नियतमा खोट छ’, थापाले अनलाइनखबरसँग भने, ‘त्यसकै आक्रोशको उपज त्यो दिनको घटना हो । पालिका अध्यक्षले जिम्मा लिनुपर्छ ।’

थापाले जंगल फडानी गर्ने गलत उद्देश्यबाट प्रेरित भएर दुर्गम ठाउँमा केन्द्र तोक्ने काम भएको आरोप लगाए ।

गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउदले केन्द्रको विषयलाई भएको विवाद अझै समाधान हुन नसकेको बताए ।

वडाध्यक्ष कुटेको आरोपमा ४ जना पक्राउ

गाउँपालिकाको केन्द्रलाई लिएर भएको विवादका क्रममा आफूमाथि कुटपिट गरेको भन्दै वडा नम्बर ७ का वडाध्यक्ष नवराज कठायतले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र विश्वकर्माले ज्यान मार्ने उद्योगमा वडाध्यक्षले दिएको किटानी जाहेरीका आधारमा चार जनालाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार पक्राउ परेका मध्ये दुई जनाको नाम किटानी जाहेरीमा उल्लेख छ भने अन्य दुई जनालाई सोधपुछका लागि पक्राउ गरिएको हो ।

तर पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । किटानी जाहेरीमा विपक्षी बनाइएका अन्य व्यक्तिहरुको खोजी भइरहेको डीएसपी विश्वकर्माले जानकारी दिए ।

पुरानै विवाद

विवादकै कारण अघिल्लो स्थानीय सरकारले मोहन्याल गाउँपालिकाको केन्द्र तोक्न सकेको थिएन । गाउँपालिकाका तत्कालीन अध्यक्ष नवलसिंह रावलले केन्द्र तोक्ने प्रस्ताव लगे पनि जनप्रतिनिधिहरुबीच नै विवाद हुँदा पाँच वर्ष अस्थायी मुकाम खिमडीमै बितेको थियो ।

वडा नम्बर २ का तत्कालीन अध्यक्ष जयप्रकाश मल्लले अस्थायी मुकाम खिमडीमै केन्द्र तोक्न माग गर्दै उच्च अदालत दिपायलमा हालेको रिटमा अदालतले अर्को व्यवस्था नभएसम्मका लागि खिमडीमै कामकाज गर्ने व्यवस्था मिलाउन आदेश दिएको थियो ।

यसै आदेशका आधारमा स्थानीयले भने यसअघि अदालतले समेत खिमडीमा कामकाज गर्ने व्यवस्था मिलाउन आदेश दिएका कारण स्थायी केन्द्र पनि सोही ठाउँमा कायम हुनुपर्ने माग राख्दै आएका छन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?