+

४ संकेत, जसले पाचन क्षमता कमजोर भएको देखाउँछ

२०८० असार  १८ गते १४:१६ २०८० असार १८ गते १४:१६
४ संकेत, जसले पाचन क्षमता कमजोर भएको देखाउँछ

स्वस्थ शरीरका लागि पाचन प्रणाली मजबुत हुनु जरुरी छ । राम्रो पाचन प्रणालीले खानालाई ऊर्जामा परिणत गर्छ र शरीरलाई रोगसँग लड्ने शक्ति दिन्छ । तर पाचन प्रणाली कमजोर भयो भने धेरै स्वास्थ्य समस्या निम्तिन सक्छ । पाचन ठीक नहुँदा खानेकुरा राम्ररी पच्दैन । साथै अन्य समस्या पनि निम्तिन सक्छ ।

पाचन क्षमता खराब भएको कसरी थाहा पाउने ? त्यसका यस्ता संकेत देखिन्छन् ।

खाना नपच्ने, कब्जियत हुने वा पखाला लाग्ने

पाचन क्षमता कमजोर भयो भने अपच, ग्यास, बान्ता, पेट दुख्ने, पेट सुन्निने लगायत समस्या देखिन सक्छ । खाएको खाना राम्ररी पच्दैन, पखाला लाग्छ वा कब्जियत हुन्छ भने पाचनयन्त्र खराब भएको संकेत हो ।

छालाको समस्या     

पाचनयन्त्र कमजोर हुँदै गएपछि त्यसको असर छालामा देखा पर्छ । छालामा विभिन्न किसिमको समस्या देखा पर्छ । पाचनयन्त्र राम्रो भएमा छालामा चमक देखिन्छ, दागधब्बा देखिंदैन, चाउरीपन देखिंदैन । तर पाचनयन्त्र खराब भएपछि छालाको चमक हराउने, दाग धब्बा र चाउरीपन जस्तो समस्या देखा पर्छ ।

सासको दुर्गन्ध

सास गन्हाउने समस्या धेरैको हुन्छ । मुख तथा दाँतको सरसफाइ राम्ररी नगर्दा मुख गन्हाउँछ । तर पेटको समस्याले पनि मुखमा दुर्गन्ध ल्याउँछ । यदि ब्रस गरेर वा मुखको सरसफाइ गर्दा पनि सास गन्हाउँछ भने पेट खराब भएको संकेत हुन सक्छ ।

कपाल झर्ने

कपाल झर्ने कारण त अनेक हुन्छ । तर लामो समय पाचन प्रणालीमा समस्या हुँदा पनि कपाल झर्ने गर्छ । जब पाचनयन्त्र खराब हुन्छ, शरीरलाई आवश्यक पोषक तत्वको अभाव हुन्छ । त्यसको असर कपालमा पनि पर्छ ।

पाचन प्रणाली राम्रो बनाउने उपाय

पाचन प्रणालीलाई मजबुत बनाउन खानपान र जीवनशैलीमा विशेष ध्यान पुर्‍याउनुपर्छ । पाचनयन्त्र बलियो हुँदा जुनसुकै खानेकुरा पनि राम्रोसँग पच्छ । ती खानेकुरामा भएको पोषक तत्त्व शरीरले ग्रहण गर्छ । शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ ।

पाचनयन्त्र स्वस्थ र बलियो बनाउन सबैभन्दा मुख्यतः खानपानमा ध्यान दिनुपर्छ । मसालेदार, धेरै चिल्लो, पिरो र प्रशोधित खानेकुरा कम खानुपर्छ । सुपाच्य अर्थात् सजिलै पचाउन सकिने खानेकुरा खानुपर्छ । सागपात, मुला, फलफूलजस्ता फाइबरयुक्त खानेकुराको सेवनले पाचन क्षमता बलियो बनाउँछ ।

समय तालिका बनाएर समय-समयमा खाना खानुपर्छ । शरीरलाई आवश्यक पर्ने जति मात्र खाना खानुपर्छ जसले पाचन प्रणाली राम्रो बनाउँछ । मीठो लाग्यो भन्दैमा अनावश्यक खानेकुरा खायो भने पाचन क्षमता कमजोर हुन सक्छ ।

पोषिलो खानेकुरा खाएर मात्र पुग्दैन, यस्ता खानेकुरा पचाउन शरीर चलायमान हुनुपर्छ, सक्रिय हुनुपर्छ । यसका लागि हामी एकै ठाउँ बसिरहने, सुतिरहने बानी राम्रो होइन । केही न केही शारीरिक काम गरिरहनुपर्छ, व्यायाम गर्नुपर्छ जसले पाचनयन्त्रलाई सुधार्छ ।

(डा. अधिकारी चितवनस्थित भरतपुर अस्पतालका मेडिकल अधिकृत हुन् । उनीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

पाचन क्षमता स्वास्थ्य
लेखक
डा. सुशील अधिकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय