+
+

हर्क साम्पाङले राख्न लगाएको बोर्ड हेमकर्णको निर्देशनमा हटाइयो

हरि अधिकारी हरि अधिकारी
२०८० असार १८ गते १९:२०

१८ असार, विराटनगर । कोशी राजमार्गको पानीपिया क्षेत्रमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राख्न लगाएको सीमा प्रारम्भको बोर्ड इटहरी उपपमहानगरपालिकाका मेयर हेकमर्ण पौडेलले हटाउन लगाएका छन् ।

सोमबार दोस्रो पटक साम्पाङले नगर प्रहरीमार्फत ‘धरान उपमहानगरपालिका सीमा प्रारम्भ’ बोर्ड राख्न लगाएका थिए ।  लगत्तै इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले नगर प्रहरी पठाएर बोर्ड हटाउन लगाएका हुन् ।

धरान इटहरीबीचको सीमा विवाद नयाँ भने होइन । यसअघि १० वैशाखमा पानीपियामा धरानले लगाएको बोर्ड युवा संघ इटहरीले हटाएको थियो । त्यसपछि साम्य भएको विवाद सोमबार धरानका मेयरले बोर्ड राखेपछि पुन: सुरु भएको हो । दुई नगरबीचको सीमा क्षेत्र सेउती खोलाको पुललाई मानिन्छ । तर नयाँ जनप्रतिनिधि आएपछि  दुई पालिकाबीचको सीमा विवाद सुरु भएको हो ।

इटहरी र धरानबीचमा चारकोसे जंगल र पानीको स्रोत छ । धरानले बोर्ड राखेको स्थान चारकोसे झाडी प्रारम्भ भएको क्षेत्र हो ।

२०१० साल भन्दा अगाडिदेखि इटहरी– धरानको सिमाना सेउती पुल रहेको इटहरीका मेयर पौडेलको दाबी छ । यसअघि धरानले बोर्ड राखेपछि पौडेलले सीमा निर्धारण गर्दा ऐतिहासिक तथ्यलाई ख्याल गर्नुपर्ने बताएका थिए ।

सोमबार धरानले राखेको बोर्ड मेयरको निर्देशनमा हटाइएको इटहरीका मेयर हेमकर्ण पौडेलका प्रेस संयोजक धनबहादुर पुरीले बताए ।

पानीपियामा बJर्ड राख्नु अघि  इलाका प्रहरी कार्यालय इटहरी र धरानले सेउती खोलाको वारिपारि राखेको सीमा प्रारम्भको बोर्ड पनि साम्पाङले नगरप्रहरी लगाएर हटाएका थिए ।

धरानले बोर्ड राखेको क्षेत्र इटहरी उपमहानगरपालिकाको २० नम्बर वडामा पर्छ । पानीपिया भन्दा ५ किलोमिटर उत्तरमा रहेको सेउती पुललाई इटहरीले धरानसँगको साँध भएको दाबी गर्दै आएको छ ।

इटहरी उपमहानगरपालिकाका मेयर पौडेलले धरानका मेयरले आफूखुसी बोर्ड राखेको बताए  ।  विवाद सामधानका लागि वार्ताका लागि पत्र पठाएपनि कुनै जवाफ नआएको उनले  बताए ।

‘वैशाखमा बोर्ड राखेपछि हामीले हटाएर वार्ताका लागि पत्र पठायौं, उहाँले कुनै जवाफ पर्काउनु भएन, फोन गर्दा उठाउनु हुन्न’,  उनले भने, ‘आज फेरि बोर्ड राखेपछि नगरले निर्णय गरेर हटायौं ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?