+
+

गायक रविन तामाङकाे निधन

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते २२:४५

काठमाडौं । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । दिदी भगवती तामाङले भाइ रविनको मंगलबार बेलुका  निधन भएको पुष्टि गरिन् ।

अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा रविनको निधन भएको भगवतीले बताइन् ।

प्रहरी प्रभाग बुढानीलकण्ठका इन्सपेक्टर दीपेन्द्र चन्दले गायक तामाङकी दिदी भगवतीले प्रहरीलाई ६ बजे खबर गरेको र सोहीअनुसार बुढानीलकण्ठ-५ चिसेनीस्थित उनको घरमा पुगेको बताए ।

‘प्रहरीलाई मृतकको दिदीले खबर गर्नुभएको हो । तुरुन्तै घटनास्थलमा पुगेर दिदीकै आग्रहमा हामी घरभित्र पस्यौं । उहाँ मृत अवस्थामा भेटिनुभयो। शंकास्पद केही देखिंदैन । सामान्य अवस्था छ । घटनास्थल क्लिन देखिन्छ’ उनले भने । सबै प्रक्रिया पुर्‍याएर रविको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको उनले जानकारी दिए ।

रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए ।

उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो । नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ । उनको निधनमा नेपाली संगीतकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।

उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो जहाँ उनी ग्याङस्टर रोलमा थिए । उनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?