
२१ असार, बिराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा गरेको दाबीमा समर्थन गर्दै हस्ताक्षर दिएका छन् ।
संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले बिहीबार अपराह्न ५ बजेसम्मको समय दिएका थिए । राप्रपाको समर्थन जुटाउने प्रयास असफल भएपछि कांग्रेस–माओवादी गठबन्धनले सभामुखको हस्ताक्षर प्रयोग गरेर बहुमत देखाएका छन् ।
नेकपा एमाले र राप्रपाले सरकार गठनमा सभामुखको भूमिका हुन नहुने बताएका थिए । उनीहरुले प्रदेश प्रमुखलाई ध्यानाकषर्ण समेत गराएका छन् ।
तर मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस (२९) संसदीय दलका नेता थापाले पेश गरेको दाबीमा माओवादी केन्द्र (१२), एकीकृत समाजवादी (४) र जनता समाजवादी पार्टी (१) का दल नेतासँगै सभामुख गौतमले पनि हस्ताक्षर गरेका छन् ।
विगतको अभ्यास हेरेर आफूले हस्ताक्षर गरेको सभामुख गौतमले बताएका छन् ।
‘पहिलाको परम्परा हेर्दा नामहरु समावेश हुने गरेको रहेछ । सरकार बनाउने बेलामा माथि राष्ट्रपति कहाँ नाम जाने गरेको पाइयो । तल प्रदेश प्रमुखमा पनि सभामुखहरुको नाम जाने गरेको पाइयो’, उनले अनलाइनखबरसँग भने, ‘दलले निर्वाचन आयोगको लिस्टबाट पठाउने गरेको रहेछ । त्यसैले पठाउन अवरोध भएन ।’
उनले अघि भने, ‘यहाँ संख्या गणनामै आउनुपर्ने परिस्थिति भएकाले एउटा जटिलता भयो । नभए सभामुखहरु जाने रहेछ ।’
भोलि विश्वासको मत दिने क्रममा चाहिँ के गर्नुहुन्छ भन्ने प्रश्नमा सभामुख गौतमले भने, ‘विश्वासको मतको प्रयोजनका लागि संविधानले नै बराबरी भए प्रयोग गर्ने भनेको छ । बराबरी भएन भने प्रयोग नगर्ने परिस्थिति छ । परिस्थिति अनुसार नै गर्नुपर्छ ।’
प्रतिक्रिया 4