+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सरकार जोगाउन राजीनामा दिनसक्ने कोशीका सभामुखको संकेत

हरि अधिकारी हरि अधिकारी
२०८० असार २२ गते २०:३७

२२ असार, विराटनगर । सरकार गठनका लागि समर्थन गरेर विवादमा परेका कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिनसक्ने संकेत गरेका छन् ।

बिहीबार नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्दा सभामुख गौतमले पनि समर्थनमा हस्ताक्षर गरेका थिए । उनकै समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका छन् । तर सभामुख विवादमा परे ।

सभामुख गौतमले भने आफू हस्ताक्षर गर्ने मनस्थितिमा नभएको, तर राजनीतिक निकासका लागि अन्तिम अवस्थामा हस्ताक्षर गर्ने निर्णयमा पुगेको बताएका छन् ।

मुख्यमन्त्रीको शपथग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख गौतमले भने, ‘केन्द्रमा सरकारहरु बन्दा सभामुखको नाम जाने गरेको पाएँ, यहाँ साथीहरुले छुट्टै नाममा हस्ताक्षर गर्नुपर्ने जुन कुरा गरे, त्यसमा म आफू तयार थिइनँ ।’

अन्तिम अवस्थामा निकास नदिई नहुने अवस्था आएपछि हस्ताक्षर गरेको उनले बताए । ‘सदनको अध्यक्षको नाताले पक्ष र प्रतिपक्षलाई मिलाएर जानुपर्ने दायित्व छ, त्यो दायित्वको हिसाबले मैले एकातिर हस्ताक्षर गर्नुपर्ने परिस्थिति नआओस् भन्ने मेरो चाहना थियो, त्यसका लागि अन्तिमसम्म नै प्रयास गरें’ उनले भने, ‘प्रदेशलाई निकासविहीन अवस्थामा राख्न सक्दैनथ्यौं, त्यसैले मैले निकास दिएको हुँ ।’

साथै उनले अहिलेकै जस्तो अंकगणित रहे आफूले जिम्मेवारीबाट राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने बताए ।

‘सहज बहुमत नभएको अवस्थामा सरकार पनि टिक्दैन’, अहिले पनि प्रदेशसभामा सत्ता र प्रतिपक्षको गणित ४६–४६ को अवस्था रहेको भन्दै उनले भने, ‘कसैको दबाबमा होइन, मेरो इच्छाले राजीनामा दिनुपर्ने परिस्थिति आउनसक्छ, किनकि नैतिकताको प्रश्न पनि छ ।’

यद्यपि सभामुखको भूमिकामा रहँदासम्म निष्पक्ष भूमिका खेल्ने गौतमले बताएका छन् । उनले अघि भने, ‘यदि हुनसक्ने स्थिति भएन, साँच्चिकै अप्ठ्यारो पर्ने स्थिति आयो भने मैले यहाँ (सभामुख) बसिरहनुपर्ने आवश्यक हुन्न ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?