
काठमाडौं । युवा साहित्यकार अनल गौतमले एकैसाथ दुई पुस्तक सार्वजनिक गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार गौतमको उपन्यास ‘बार्दली’ र कथा संग्रह ‘दाहिने हाते सिक्का र साइकल’को लोकार्पण गरियो ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, कवि तथा साहित्यकार डा. रामप्रसाद ज्ञवाली, सञ्चारकर्मी महेश राणा लगायतले पुस्तक विमोचन गरे । लोकार्पण समारोहमा लेखक गौतमलाई बधाई दिंदै कलाकार श्रेष्ठले गौतमका उपन्यास तथा कथा संग्रह निकै नै रोचक र समयसामयिक लागेको बताए ।
कथा संग्रह ‘दाहिने हाते सिक्का र साइकल’को समीक्षात्मक टिप्पणी गर्दै सञ्चारकर्मी राणाले संग्रहमा समावेश ११ वटा कथामध्ये कुनै न कुनै एक कथाले पाठकको मन अवश्य छुने बताए । समालोचक डा. रामप्रसाद ज्ञवालीले ‘बार्दली’ उपन्यासको समालोचना गर्दै लेखक गौतमको सरल शैलीमा भावना व्यक्त गर्न शैलीको प्रशंसा गरे । उपन्यासले प्रेमको नयाँ परिभाषा व्यक्त गरेको भन्दै उनले उपन्यासले नयाँ पुस्तालाई केही सन्देश दिने बताए ।
कार्यक्रममा बोल्दै लेखक गौतमले पुस्तक लेख्न भन्दा सार्वजनिक गर्न कठिन भएको अनुभव सुनाए ।
प्रतिक्रिया 4