+
+
युवा उद्यम :

यज्ञशाला : वैदिक कर्मकाण्ड गराउने आधुनिक भेन्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते ७:३३

मध्याह्नको रापिलो घाम, गाडीको चर्को हर्न, चोक–बजारको हल्लीखल्ली छिचोल्दै पृष्ठभूमिमा कतै मधुर मन्त्र-ध्वनि गुञ्जिरहेको छ । त्यही ध्वनि पछ्याउँदै भक्तपुरको कौशलटारस्थित एउटा व्यावसायिक भवनको तेस्रो तला उक्लिएपछि भेटियो, ‘यज्ञशाला’ ।

प्राचीन र आधुनिकताको कलात्मक फ्युजन जस्तो देखिन्छ, यो फराकिलो कक्ष । आरामदायक फर्निचर, इन्डोर प्लान्ट, भित्ते चित्र । त्यहाँ तीन तन्नेरी पुरोहित आपसमा एकाकार भएर मन्त्र साधना गरिरहेका छन् ।

अब अर्को तलामा उक्लिनुपर्छ, जहाँ स्थायी हवन कुण्ड भेटिन्छ । त्यसैको सम्मुखमा पूजाकोठा । पूजाकोठामा ठूल्ठूला पारदर्शी काँचभित्र रंगी-विरंगी चामलका आकृतिहरु छन्, जुन झट्ट हेर्दा रंगोली झैं लाग्छन् । यसको भित्री तहमा तामाको तारले रेखांकन गरिएको छ ।

खासमा यो विधिपूर्वक निर्माण गरिएको आधुनिक यज्ञशाला रहेछ, जहाँ कुनै पनि वैदिक कर्मकाण्ड गराउन सकिन्छ । तपाईं ग्रहशान्ति गराउनु होस् वा वास्तुबारे परामर्श लिनुहोस् । हस्तनिर्मित कुण्डली बनाउनु होस् वा वैदिक पूजाआजा गर्नुहोस्, सम्पूर्ण कामको मेलोमेसो यहीं मिलाउन सकिनेछ ।

पूर्वीय परम्परा र संस्कारको वैज्ञानिक अर्थ र विधि खोज्दै जाँदा केही युवाको दिमागमा ‘यज्ञशाला’को अवधारणा फुरेको रहेछ । त्यसैमध्येका एक अगुवा हुन्, जेसन अधिकारी ।

एमबीए अध्ययन गरिरहँदा २६ वर्षे जेनसको ध्यान मोडियो, वैदिक विज्ञानतर्फ । अनि त बनारसबाट ‘मेटाफिजिक्स’ अर्थात् तत्वमीमांसाको पढाइ सुरु गरे । मेटाफिजिक्स दर्शनको त्यो शाखा हो, जस अन्तर्गत ब्रह्माण्डको परम तत्वको खोज, अस्तित्व, स्थान, समय, कार्य आदिको अध्ययन गरिन्छ ।

व्यवस्थापनको पढाइ, उद्यम गर्ने चाह अनि वैदिक विज्ञानतर्फ मोह । यी तीन कुराले उनलाई एकै ठाउँमा उभ्यायो, यज्ञशाला । आफूले हासिल गरेको व्यवस्थापकीय सीप र वैदिक ज्ञानलाई सदुपयोग गर्न उनले यज्ञशाला स्थापना गरे ।

उनका साथमा थिए, अभिषेक अधिकारी । सफ्टेरिका कलेजबाट सूचनाप्रविधिमा स्नातक गरेका २७ वर्षीय उनी वेब डेभलपरको रुपमा काम गरिरहेका थिए । तर, उनी प्रविधिबाट मोडिएर वैदिक विज्ञानको पढाइमा लागे । केही नयाँ उद्यम गर्ने र वैदिक परम्परालाई सही अर्थमा व्युँताउने लक्ष्यले उनलाई यज्ञशालासम्म डोर्यायो ।

यी दुई तन्नेरीसँग काँध थापिरहेका छन्, अर्का २७ वर्षे शान्तिराम अधिकारीले । पुर्ख्यौली विरासत नै थियो पुरेत्याईं । उनका पिता गाउँका नामी पुरोहित । यजमानहरुले खुब मान–मनितो गर्ने । पितालाई यसरी सम्मानपूर्वक व्यवहार गरेको देखेपछि शान्तिरामलाई यही क्षेत्रमा भविष्य खोज्न मन लाग्यो । अन्ततः उनले वैदिक कर्मकाण्डबारे औपचारिक शिक्षा लिए ।

संस्कृतमा स्नातक उनी बितेको दश वर्षदेखि वैदिक कर्मकाण्ड गरिरहेका छन् । उनीहरुसहित यज्ञशालामा छुट्टा–छुट्टै विषयमा विज्ञता हासिल गरिरहेका युवा पुरोहितहरु छन् ।

उनीहरुमध्ये कोही कर्मकाण्डमा सिपालु छन् भने कोही ज्योतिष विज्ञानमा । यज्ञशालाले वैदिक कर्मकाण्ड, ज्योतिष सेवा, वास्तु विज्ञान जस्ता कुनै पनि क्षेत्रमा सेवा दिन सुरु गरेको जेसन बताउँछन् । उनी भन्छन्, ‘कसैले पनि आफ्नो घरमा वैदिक कर्मकाण्ड गर्नुपरेमा वा यहींआएर त्यस्ता कर्म गर्नुपरेमा हामी सबै सेवासुविधा, जनशक्ति उपलब्ध गराउनेछौं ।’

वैदिक परम्पराको जरा पहिल्याउँदै

कसैले विवाह गराउँछन्, कसैले व्रतबन्ध । कसैले ग्रहशान्ति गराउँछन्, कसैले वास्तुपूजा । तर, यी सबै विधि–विधान हेर्दै जाँदा जेसनलाई कहीं कतै खल्लो लाग्थ्यो । आखिर यी कर्मकाण्ड कति विधिपूर्वक हुँदैछ त ? उनले देखेका, भोगेका, सुनेका कुराहरु चित्तबुझ्दो थिएन ।

त्यसैले व्यवस्थापनमा स्नातकोत्तर गरिरहँदा पनि उनलाई यसको अन्तर्य के होला भनी खोजीनिती भइरहन्थ्यो ।

आखिर पूजा किन गरिन्छ ? मन्त्र किन जप गरिन्छ ? हवन किन गरिन्छ ? समग्रमा कर्मकाण्ड किन गरिन्छ ? यसको जवाफ खोज्दै जाँदा उनलाई वैदिक ज्ञानको सही बाटो पहिल्याउन मन लाग्यो । जेसन भन्छन्, ‘हामीकहाँ गरिने कर्मकाण्ड पूर्णत विधिपूर्वक रहेनछ । यसको विधि के हो र त्यसको विज्ञान के हो भनेर सही ढंगले काम गर्न हामीले यज्ञशाला खोलेका हौं ।’

खासमा लौकिक र परलौकिक सुख–शान्तिका लागि गरिने कर्म मार्गको विधान रहेछ, कर्मकाण्ड । आचार्य शान्तिराम भन्छन्, ‘तर अहिले देखावटी जस्तै भयो । आफन्तलाई, छिमेकीलाई देखाउनका लागि कर्मकाण्ड गरिने ।’

कति पुरोहितले सही ढंगले मन्त्र पाठ नगर्ने, विधि नगर्ने उनको बुझाइ छ । उनी भन्छन्, ‘न यजमानले त्यसको अर्थ बुझेका छन् न गुरुले सही ढंगले बुझाएका छन् । पूजा किन गरियो, केका लागि गरियो ? किन कलश स्थापना गरियो, केका लागि धान राखियो थाहा छैन । गुरुले एक माना घिउ मागेर हवन गरे । किन घिउ हवन गरे थाहा छैन । अहिले हामी अन्धाधुन्द कर्मकाण्ड गरिरहेका छौं ।’

हाम्रा पूर्खा एवं ऋषिमुनिहरुले गहन खोज, अध्ययन र अभ्यासबाट यी विभिन्न विधिविधान पहिल्याए । यस्ता विधि विधान आफैंमा एक विज्ञान हुन्, जसले मान्छेको आध्यात्मिक चेत र प्रकृतिको लयलाई एकबद्ध गर्छ । त्यसैले हामीले गर्ने जे–जति वैदिक विधिहरु छन्, त्यो गहन, अर्थपूर्ण, लयात्मक र वैज्ञानिक छन् । उनीहरु यसै भन्छन् ।

‘हामीले गर्ने जुन मन्त्र पाठ गर्छौं, त्यो प्रकृतिको ध्वनिबाट लिइएको हो’ आचार्य शान्तिराम भन्छन्, ‘त्यसैले मन्त्र जप गरिरहँदा स्वर र सार, बल,  मात्रा, एकरुपता, निरन्तरता जस्ता कुराहरु मिलाउनुपर्छ ।’

मन्त्र जपले आध्यात्मिक चेतको जागरण र प्रकृतिसँगको लयात्मक सम्बन्ध स्थापित हुनपुग्छ । हवन जस्ता विधिहरुले वायु शुद्धीकरणमा योगदान दिन्छ । त्यसैले कुनै पनि वैदिक कर्मकाण्ड गराउँदा गुरु पोख्त हुन जरुरी छ भने यजमानले पनि त्यसलाई बुझ्नु, अनुभूत गर्नु र अनुसरण गर्नु जरुरी हुने अभिषेक अधिकारी बताउँछन् ।

‘अहिलेको समय अनुकूल रहेर हाम्रा पूर्वज एवं ऋषिमुनिहरुले दिएको वैदिक ज्ञान र विधानलाई सही अर्थमा निरन्तरता दिने हाम्रो प्रयास हो’ अभिषेक भन्छन्, ‘यसैका लागि हामीले आ-आफ्नो ठाउँबाट वैदिक विधिविधानबारे अध्ययन र अभ्यास गरिरहेका छौं ।’

यज्ञशालाले कुनै पनि वैदिक ज्ञान एवं कर्मकाण्ड गर्नका लागि दक्ष पुरोहितहरु उपलब्ध गराउँछ । चाहे पास्नी, व्रतबन्ध, विवाह, गृहप्रवेश, वास्तु सेवा लिनका लागि यज्ञशाला सहयोगी हुनसक्छ । ‘हामीकहाँ पुरोहित, ज्योतिषी र वास्तु विशेषज्ञ जस्ता अनुभवी जनशक्ति पनि छन् ।’

व्यवस्थापन, सूचनाप्रविधि जस्ता शैक्षिक पृष्ठभूमिबाट आएका यी युवाहरुले यज्ञशालालाई यस्तो सुविधायुक्त र आधुनिक भेन्यु बनाएका छन्, जहाँबाट वैदिक विधि र कर्मकाण्डलाई नियमपूर्वक गराउन सकिनेछ । यो हाइटेक भेन्युबाट ज्योतिष परामर्श, वास्तु सेवाहरु पनि सहज रुपमा उपलब्ध गराउन सकिन्छ ।

फोटो : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?