+
+
ललित राजवंशी :

‘वेष्ट इन्डिजविरुद्ध सुरुमै बलिङ गर्दा नर्भस भएँ’

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असार २६ गते ७:०३
ललित राजवंशी । तस्वीर : अनलाइनखबर फाइल ।

२६ असार, काठमाडौं । जिम्बाव्वे भ्रमणका क्रममा टेलिभिजनमा मात्र देखेका खेलाडीसँग पहिलो पटक मैदानमै खेल्न पाउँदा नेपाली खेलाडी उत्साहित थिए । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको छनोट खेलमा नेपालले कूल ६ खेल खेल्दा ३ खेल टेष्ट मान्यताप्राप्त राष्ट्रसँग थियो । त्यसमा पनि नेपालले खेलेको सबैभन्दा ठूलो टिम थियो वेष्ट इन्डिज ।

त्यस खेलमा नेपालको लागि सम्झनलायक प्रदर्शन गर्नेमा स्पिनर ललित नारायण राजवंशी रहे । भलै नेपालले त्यो खेलमा १०१ रनको फराकिलो हार बेहोर्यो । तर नेपाली बलर वेष्ट इन्डिजका ओपनरलाई सुरुमै आउट गर्दै दबाबमा समेत राख्न सफल भयो । अनि ३४० रनको लक्ष्य पछ्याउँदा पनि २३८ रन बनाउन सफल भयो ।

त्यस खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो । फास्ट बलर सोमपाल कामी जिम्बाब्वेविरुद्ध घाइते थिए  ।  उनकै स्थानमा ललितले पहिलो रोजाइमा मौका पाए ।

भिन्न परिवेश, दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिजविरुद्ध सुरुमै बलिङको अवसर । ललित भन्छन्, ’यसअघि नै नयाँ बल फाल्ने गरेको थिएँ नयाँ कुरा त थिएन । तर अनुभवी टिमविरुद्ध नयाँ बल लिएर बलिङ गर्दा चाहिँ सुरुको एक दुई बलमा केही नर्भसनेस थियो । किनभने सधैँ टिभीमा हेरिरहेका खेलाडीहरु थिए । त्यसैले सुरुको केही बल नर्भस भएँ । त्यसपछि भने नर्मल जस्तै भयो ।’

ललितले समग्रमा जिम्बाब्वे भ्रमण राम्रो भएको र धेरै कुरा सिक्ने अवसर पाएको बताए । जिम्बाब्वे भ्रमणबाट आफ्नो स्तर थाहा भएको र सुधार गर्नुपर्ने ठाउँको पहिचान भएको ललित बताउँछन्

नेपालले सकेसम्म विकेट लिने र रन कम दिने रणनीति लिएको थियो  । ललितले त्यही अनुसार बलिङ गरे । ’सुरुको सेसनमा विकेट नपाए पनि लास्टमा रन नदिने सोच थियो । लास्टमा त्यही योजना अनुसार विकेट पनि आयो’ ललित भन्छन् ।

ललितले बलिङ सुरुवात गरे, करण केसी र गुल्सन झाले सुरुमै विकेट लिए । एक समय वेष्ट इन्डिज ९–२ को अवस्थामा पुगेको थियो । त्यसपछि सन्दीप लामिछानेले पनि विकेट लिँदा वेष्ट इन्डिजले ३५ रनमा तेस्रो विकेट गुमायो ।

त्यसपछि भने नेपालको लय गुम्यो र वेष्ट इन्डिजका कप्तान शाई होप र निकोलस पुरनले सानदार ब्याटिङ गरे । दुवैले शतक प्रहार गरेपछि वेष्ट इन्डिजले ३०० रनको आँकडा पार गर्यो ।

ललितले समग्रमा जिम्बाब्वे भ्रमण राम्रो भएको र धेरै कुरा सिक्ने अवसर पाएको बताए । जिम्बाब्वे भ्रमणबाट आफ्नो स्तर थाहा भएको र सुधार गर्नुपर्ने ठाउँको पहिचान भएको ललित बताउँछन्

बीचको ओभरमा नेपालले विकेट निकाल्न सकेन । होप र पुरनले दोहोरो शतकीय साझेदारी गरे । ४४औं ओभरमा दीपेन्द्र सिंह ऐरीले पुरनलाई कट एण्ड बोल्ड गर्दै त्यो साझेदारी तोडे ।

त्यतिबेला वेष्ट इन्डिज ठूलो स्कोरतर्फ अघि बढिरहेको थियो । त्यसपछिको अन्तिम तीन विकेट भने ललितले लिए । जसमा कप्तान शाई होपदेखि रोभमन पावेलसम्मको विकेट थियो । ललितले ४८औं ओभरमा रोभमन पावेललाई गुल्सन झाबाट क्याचआउट गराए ।

नयाँ बल लिएर बलिङ गरेका ललितले नै डेथ ओभरमा अन्तिम ओभर बलिङ गरे । जसमा उनले कप्तान शाई होप र किमो पउलको विकेट लिए । पहिलो बलमा शाई होपले ललितलाई चौका प्रहार गरेका थिए । तर दोस्रो बलमा भने उनले होपलाई भीम शार्कीबाट क्याचआउट गराए । त्यही ओभरको अन्तिम बलमा उनले किमो पउललाई बोल्ड गरे । ‘अन्तिममा भए पनि विकेट लिँदा खुशी लाग्यो । किनकी त्यो विकेट नलिएको भए अझ बढी रन बनाउँथे होला’ ललित भन्छन् ।

उनले खेलेको अर्को महत्वपूर्ण खेल थियो समूह चरणमा नेदरल्याण्ड्ससँगको । जुन खेल जितेको भए नेपाल सुपर सिक्समा पुग्ने सम्भावना थियो । तर नेपालको ब्याटिङ चलेन र सहजै ७ विकेटले पराजित  भयो । यस खेलमा पनि नयाँ बल बलिङ गरेका ललितले ४ ओभरमा ३४ रन खर्चिए तर विकेट लिन सकेनन् ।

‘उनीहरु क्लियर माइन्डमा आएका थिए’, ललितले भने, ‘हाम्रो पनि योजना थियो । तर बिहानी कन्डिसन फरक थियो र सोचे अनुसार ब्याटिङ गर्न सकेनौं ।’

नेदरल्याण्डसविरुद्धको खेलमा सोमपालको अभाव खट्किएको ललित बताउँछन् । ‘सोमपाल दाइ घाइते हुँदा पनि हामी कमजोरथिएनौं । तर अनुभवी खेलाडी सोमपाल दाइ हुँदा अझ राम्रो हुन्थ्यो कि’ उनी भन्छन् ।

जिम्बाब्वे भ्रमणमा ललितले घरेलु टिमविरुद्धको पहिलो खेल र आयरल्याण्ड विरुद्धको अन्तिम खेल भने खेलेनन् । यस्तै युएई विरुद्धको प्लेअफ पनि उनले खेलेनन् । ललितले समग्रमा जिम्बाब्वे भ्रमण राम्रो भएको र धेरै कुरा सिक्ने अवसर पाएको बताए । जिम्बाब्वे भ्रमणबाट आफ्नो स्तर थाहा भएको र सुधार गर्नुपर्ने ठाउँको पहिचान भएको ललित बताउँछन् ।

जुलाई १३ देखि श्रीलंकामा हुने इमर्जिङ टिम्स एसिया कप खेल्न नेपाली टिमसँगै ललित त्यतै लागेका छन् । इमर्जिङ टिम्स एसिया कपपछि नेपालले श्रीलंका र पाकिस्तानमा हुने एसिया कप खेल्नेछ । जहाँ नेपालले समूह चरणमा विश्व क्रिकेटकै दुई पावरहाउस भारत र पाकिस्तानसँग खेल्नेछ । त्यसपछि चीनमा हुने एसियन गेम्स पनि खेल्नेछ । यी खेलमा राम्रो गर्न जिम्बाव्वेको अनुभव उपयोगी हुने विश्वासमा ललित छन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?