+
+

क्यारी अन जट्टा-३, जसले पञ्जाबी सिनेमालाई दियो पुनर्जीवन

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १६:५२

काठमाडौं । पञ्जाबी फिल्म ‘क्यारी अन जट्टा-३’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । गत जुन २९ मा रिलिज भएको यो १० करोड भारुमा बनेको फिल्मले ११ दिनमा विश्वभर ८० करोड भारु कमाएको छ र चाँडै १०० करोडको व्यापार गर्ने पक्का छ ।

‘क्यारी अन जट्टा’ फ्रेन्चाइजको तेस्रो फिल्म हो जुन यो पञ्जाबी सिनेमाको सबैभन्दा हिट फ्रेन्चाइजीमध्ये पर्छ । अघिल्ला दुई फिल्मले पनि करोडौंको व्यापार गरेका थिए ।

पञ्जाबी फिल्मलाई लयमा ल्याउन यो फ्रेन्चाइजीको ठूलो हात छ । जब २०१२ मा ‘क्यारी अन जट्टा’को पहिलो भाग रिलिज भयो, त्यतिबेला पञ्जाबी फिल्म उद्योग कठिन अवस्थाबाट गुज्रिरहेको थियो । वर्षभरि केही फिल्म बनेका थिए तर बनेका चलेनन् । सन् १९८८ मा पञ्जाबी फिल्मका पहिलो सुपरस्टार वीरेन्द्र सिंहको हत्यापछि उद्योगको अवस्था फेरि नाजुक हुन थाल्यो र बन्दको अवस्थामा पुग्यो । वीरेन्द्र बलिउड स्टार धर्मेन्द्रका भाञ्जा थिए ।

त्यसपछि २४ वर्षसम्म उद्योग जोगाउन संघर्ष भयो । अन्ततः ‘क्यारी अन जट्टा’ले उद्योगलाई पुनर्जीवित गर्‍यो । यसपछि आएका केही फिल्मका कारण पोलिउडको अवस्था र दिशा बदलियो । सन् २०१५ मा उद्योगको आम्दानी २४१ करोड भारु थियो तर अहिले आठ वर्षपछि यसको कारोबार ५०० करोड भारु नाघेको छ । अहिले एक वर्षमा ४०-४५ फिल्म निर्माण भइरहेका छन् ।

सन् १९२८ मा बनेको थियो पहिलो पञ्जाबी ‘साइलेन्ट’ फिल्म

‘डटर्स अफ टुडे’ सन् १९२८ मा लाहोरमा बनेको पहिलो मौन फिल्म थियो । यो फिल्ममा अब्दुर रसिद कारदारले मुख्य भूमिका निर्वाह गरेका थिए । जीके मेहताले निर्माण गरेको फिल्मका निर्देशक शंकरदेव आर्य हुन् । सन् १९३२ मा निर्देशक हाकिमराम प्रसादले ‘हीर राँझा’ नामक पहिलो पञ्जाबी ध्वनि फिल्म बनाए । यसपछि फिल्म बनाउने क्रम जारी रह्यो । तर १९४७ मा भारत-पाकिस्तान विभाजनले लाहोरबाट चल्ने पञ्जाबी सिनेमाको मेरुदण्ड नै भाँच्चियो ।

मुलुक विभाजनको क्रममा लाहोर पाकिस्तानको हिस्सामा गयो र भारत यसबाट स्तब्ध भयो । धेरै फिल्म निर्माता, कलाकार र लेखक हिन्दी फिल्ममा काम गर्न बम्बई (अहिलेको मुम्बई) गए, तर पञ्जाबी फिल्म उद्योगले ठूलो नोक्सान बेहोर्‍यो ।

चमन’ स्वतन्त्रतापछिको पहिलो फिल्म

जब लाहोर पाकिस्तानमा समावेश भयो, अमृतसर र मोहाली पञ्जाबी फिल्म उद्योगका गढ बने । पहिलो पञ्जाबी फिल्म ‘चमन’ स्वतन्त्रताको १२ महिनापछि सन् १९४८ मा रिलिज भएको थियो । यो फिल्मलाई पहिले लाहोर र त्यसपछि बम्बईमा प्रिमियर गरियो ।  यो फिल्म हलमा रिलिज भए पनि बक्स अफिसमा फ्लप भयो । त्यसको दुई वर्षपछि पञ्जाबी सिनेमाले ‘पोस्ती’ फिल्मको रूपमा आफ्नो पहिलो हिट फिल्म प्राप्त गर्‍यो ।

विभाजनपछि धेरैजसो कलाकार र फिल्म निर्माता जीविकोपार्जनको लागि मुम्बईमा सर्दा पञ्जाबी सिनेमालाई धेरै नोक्सान भयो । ५० को दशकमा एक-दुई फिल्म मात्रै बन्ने अवस्था थियो । यी फिल्म पनि धेरै कम बजेट र सीमित स्रोतमा बनेका थिए र दर्शकलाई हलमा आकर्षित गर्न असफल भए । सन् १९५० को ‘पोष्टी’पछि फिल्म ‘भांगडा’ दोस्रो सफल फिल्म बन्यो ।

सतलुज दे काँदे’ले पहिलो राष्ट्रिय अवार्ड जित्यो

६० को दशक पञ्जाबी सिनेमाको इतिहासमा कोसेढुंगा साबित भयो । सन् १९६१ मा पाँच पञ्जाबी फिल्म रिलिज भए । जसमध्ये गुड्डी र बलिउड कमेडियन जोनी वाकरको फिल्म विलायती बाबु हिट भयो । यसपछि सन् १९६४ पञ्जाबी सिनेमाका लागि निकै सफल साबित भयो, किनकि यस अवधिमा आठवटा फिल्म रिलिज भए, जसमध्ये सतलुज दे खाँडे र किकली ठूला हिट साबित भए । बलराज साहनीले सतलज दे खाँडेमा काम गरेका थिए । यो फिल्मले व्यावसायिक सफलता मात्र नभई सर्वोत्कृष्ट पञ्जाबी फिचर फिल्मको राष्ट्रिय पुरस्कार पनि जित्यो ।

पहिलो रंगीन पञ्जाबी फिल्ममा पृथ्वीराज कपुर

सन् १९६९ लाई पञ्जाबी सिनेमाको उत्कृष्ट वर्ष मानिन्छ । सोही वर्ष पञ्जाबी भाषामा बनेको पहिलो रंगीन फिल्म ‘नानक नाम जहाज है’ रिलिज भएको थियो । पञ्जाबी फिल्मलाई पुनर्जीवन दिंदै पृथ्वीराज कपुरले अभिनय गरेको यो फिल्म ब्लकबस्टर साबित भयो । यसअघि जहाँ पञ्जाबी सिनेमा समाप्तिको संघारमा थियो, त्यो पहिलो पञ्जाबी फिल्म थियो, जसलाई हेर्न दर्शक थिएटरबाहिर लाइनमा बसेका थिए ।

‘नानक नाम जहाज है’ को सफलताले पञ्जाबी फिल्म निर्मातालाई पनि प्रोत्साहन दियो र धेरै फिल्म बनाइयो । पञ्जाबी मूलका बलिउड कलाकारले पनि पञ्जाबी फिल्ममा चासो देखाउन थाले । जसलाई फिल्म निर्माताले पूरा फाइदा उठाए र उनीहरूलाई फिल्ममा कास्ट गरेर दर्शकलाई हलमा आकर्षित गर्न सफल भए ।

पञ्जाबी सिनेमाले ७० को दशकमा पाएको थियो बलिउडको टच

पृथ्वीराज कपुरलाई देखेर धर्मेन्द्र, राजेश खन्ना, सुनील दत्त, राजेन्द्र कुमार र मनोज कुमार जस्ता स्टार ७० को दशकमा पञ्जाबी फिल्मतिर लागे । पञ्जाबी मूलका कलाकार मात्रै नभई फिरोज खान र सञ्जीव कुमार जस्ता गैरपञ्जाबी स्टारले पनि पञ्जाबी फिल्म गरे । फिरोज खानले सन् १९७६ मा योगिता बालीसँग फिल्म भगत धन्ना जटमा काम गरेका थिए । त्यही क्रममा सन् १९८० मा रिलिज भएको फिल्म फौजी चाचामा सञ्जीव कुमारले सरदारको भूमिका निभाएका थिए ।

धर्मेन्द्रले आफ्नो फिल्म ‘तेरी मेरी इक जिन्दडी’मा आफ्ना भाइ वीरेन्द्र सिंहलाई मौका दिए जो पछि पञ्जाबी सिनेमाको पहिलो सुपरस्टार बने । वीरेन्द्रबाहेक सतीश कौल पनि लोकप्रिय स्टार थिए । सन् १९८० तिर दुवैका धेरै फिल्म हिट भएका थिए ।

यस अवधिमा प्रीति सप्रु उत्कृष्ट अभिनेत्रीका रूपमा उभिएकी थिइन् भने कमेडियन मैहर मित्तलले पनि पञ्जाबी सिनेमामा आफ्नो स्थान बनाइन् । सन् १९८० मा रिलिज भएको फिल्म ‘चन्न परदेशी’ त्यो वर्षकै सबैभन्दा धेरै हिट बनेको थियो । यो फिल्मले उत्कृष्ट फिचर फिल्मको राष्ट्रिय अवार्ड पनि जित्यो । यसमा राज बब्बर, रामा विज, अमरिश पुरी र कुलभूषण खरबन्दको अभिनय थियो ।

जब सुरु भयो जट फिल्मको जमाना

सन् १९८३ मा धर्मेन्द्र अभिनित फिल्म ‘पुट्ट जट्टन दा’ एक ट्रेन्ड सेटर साबित भयो । यो फिल्मले जट केन्द्रित फिल्मको युगको थालनी गर्‍यो, जुन आज पनि जारी छ । यस फिल्मपछि लगभग सबै पञ्जाबी फिल्म जट केन्द्रित बने । सुपरस्टार वीरेन्द्रले पनि सन् १९८८ मा ‘यारी जट दी’ बनाएका थिए । विदेशमा छायांकन गरिएको यो पहिलो फिल्म हो । यो एक रोमान्टिक फिल्म थियो जसको गीत ’गुर नालो इश्क मीठा’ निकै लोकप्रिय भयो ।

सुपरस्टार वीरेन्द्रको हत्याले स्तब्ध

पञ्जाबी सिनेमा सन् १९८८ मा सुपरस्टार वीरेन्द्र सिंहको गोली हानी हत्या भएपछि चर्चामा आएको थियो । ‘जट्ट ते जमीं की’को सुटिङका क्रममा उनको हत्या भएको थियो । उनको मृत्यु रहस्यमै रह्यो । वीरेन्द्रको प्रभावलाई लिएर केही व्यक्तिले इर्ष्या गरेका थिए, जसका कारण उनको हत्या भएको बताइन्छ । अर्कोतर्फ जब आतंकवादले पञ्जाबमा आफ्नो पखेंटा फैलाएको थियो, उनको हत्या पछाडि आतंकवादीको हात थियो भन्ने अनुमान पनि छ ।

वीरेन्द्रले आफ्नो १२ वर्ष लामो फिल्म करिअरमा पञ्जाबी सिनेमालाई चरम सीमामा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले करिब २५ फिल्ममा अभिनय गरेका थिए, जसमध्ये अधिकांश हिट साबित भए । जसमा लम्बरदारनी, बलबिरो भाभी र दुष्मनी दी आगजस्ता हिट छन् । उनको वास्तविक नाम सुभाष डडवाल थियो । उनको जन्म फगवाडामा भएको थियो ।

उनको निधनसँगै पञ्जाबी सिनेमाको खराब चरण फेरि फर्कियो । ९० को दशकको सुरुवातमा जट्ट केन्द्रित विषयका कारण फिल्म निर्माण कम भयो र पहिले जति चल्थे त्यति चल्न सकेनन् । जट्ट दा गंडासा, हुकुमत जट्ट दी, शेरोन दे पुट्ट शेर, जोर जट्ट दा जस्ता फिल्म फ्लप भए । अर्कोतर्फ सन् १९९४ मा रिलिज भएको गुरदास मानको फिल्म कचरी केही फिल्ममध्ये एक थियो, जसलाई समीक्षकले मात्र प्रशंसा गरेनन्, बक्स अफिसमा पनि राम्रो व्यापार गरे ।

९० को दशक पञ्जाबी सिनेमाका लागि दुर्भाग्यपूर्ण छ । अर्कोतर्फ सन् २००० देखि सुरु भएको अवधिले केही राहत ल्याएको छ । सन् १९९९ मा रिलिज भएका शहीद–ए–मोहब्बत बुटा सिंह र शहीद उधम सिंहका फिल्म सफल भएका थिए । प्रविधि, कथा र प्रदर्शनका हिसाबले यी दुवै फिल्मको प्रशंसा भएको थियो ।

सन् २०१० मा १६ हिट फिल्म रिलिज भएका थिए । जसमध्ये जिम्मी शेरगिल, गिप्पी ग्रेवालको मेल कराडे रब्बाले कमाइका सबै रेकर्ड तोडेका छन् । यो फिल्मले ११ करोडको व्यापार गर्‍यो र त्यतिबेलाको सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो ।

क्यारी अन जट्टा’ले बनायो २०१२ लाई पञ्जाबी सिनेमाको सुनौलो वर्ष

सन् २०१२ लाई पञ्जाबी सिनेमाको सुनौलो वर्ष भनिन्छ । यस वर्ष उद्योगले धेरै कोसेढुंगा हासिल गरेको छ । गप्पी ग्रेवालको फिल्म ‘मिर्जा : द अनटोल्ड स्टोरी’ जस्तै, दिलजीत दोसाँझ र नीरु बाजवाको फिल्म ‘जट एण्ड जुलियट’ रिलिज भयो र ब्लकबस्टर भयो । यो फिल्मले दुवै स्टारलाई पञ्जाबी फिल्ममा सुपरस्टारको रूपमा स्थापित गर्‍यो ।

त्यसपछि जुलाईमा क्यारी अन जट्टा रिलिज भयो, जसले विश्वभर १८ करोडको व्यापार गरेर पञ्जाबी सिनेमालाई नयाँ जीवन दिएको थियो । फिल्ममा गप्पी ग्रेवाल र माही गिलको जोडी देख्न सकिन्छ । फिल्म यति सफल भयो कि यसलाई उडिया, तेलुगू र बंगाली भाषामा रिमेक गरियो ।

फिल्मको अत्यधिक सफलतापछि, यसलाई एक फ्रेन्चाइजमा परिणत गर्ने निर्णय गरियो । सन् २०१८ मा फ्रेन्चाइजको दोस्रो फिल्म ‘क्यारी अन जट्टा २’ रिलिज भयो जसले विश्वव्यापी रूपमा ५७.६७ करोड भारु कमाएको थियो ।

कथामा सन् २०१२ पछि नयाँ प्रयोग

सन् २०१२ पछिको अवधि पञ्जाबी सिनेमाको लागि सफल साबित भयो । गिप्पी ग्रेवाल, नीरु बाजवा, दिलजीत दोसाँझ र सुरवीन चावला जस्ता स्टार निकै चर्चित भए । साथै पञ्जाबको वास्तविकताका बारेमा मानिसलाई सचेत गराउने धेरै सामाजिक मुद्दामा फिल्म पनि रिलिज भएका थिए जसका कारण सिनेमाको सामग्रीमा ताजगी देखियो । पञ्जाब, चण्डीगढको विद्यार्थी जीवन नाबर, स्टुपिड ७ जस्ता पुरस्कार विजेता फिल्ममा देखाइएको थियो ।

सद्दा हक, सिकन्दर जस्ता फिल्ममा विद्यार्थी राजनीतिको मुद्दा उठाइयो । बिक्कर बाई सेन्टिमेन्टल, दस्तार, पञ्जाब बोल्दा, हानी र दिल परदेसी हो गया जस्ता फिल्ममा भ्रष्टाचार र सामाजिक मुद्दालाई राम्रोसँग उठाइयो । यो समयमा पहिलो पञ्जाबी थ्रीडी फिचर फिल्म, पहचान थ्रीडी पनि बनेको थियो । सन् २०१४ आइपुग्दासम्म कमेडी फिल्मले चर्चा पायो ।

यो वर्ष करिब ४२ फिल्म रिलिज भएका थिए, जसमध्ये ८० प्रतिशत कमेडी थिए । जसमा चार साहिबजादे, जट जेम्स बण्ड, डिस्को सिंह, डबल द ट्रबल, पञ्जाब १९८४, मिस्टर एन्ड मिसेस ४२० जस्ता फिल्म बनेका थिए । किरपान : द स्वर्ड अफ अनर, फतेह, रेमो राँझा जस्ता एक्सन फिल्मले पनि राम्रो व्यापार गरेका थिए । २०१५-०१६ मा पनि त्यस्ता फिल्मको एक चरण थियो । २०१८ मा क्यारी अन जट्टा फ्रेन्चाइजको दोस्रो फिल्म पनि एकदमै हिट साबित भयो ।

पञ्जाबी संगीतबाट पनि उद्योगलाई बढावा

दिलजीत दोसाँझ

पोलिउडले सन् २०१५ देखि धेरै विकास देखेको छ । २०१५ मा यसको राजस्व २४१ करोड भारु थियो । अहिले ५०० करोड नाघेको छ । यसको पहिलो कारण अहिले पहिलेभन्दा धेरै फिल्म बन्न थालेका छन् । अर्को कारण यो हो कि पञ्जाबी संसारमा १० औं सबैभन्दा धेरै बोलिने भाषा भएको छ र विश्वभरका १० करोड मानिसले संसारमा पञ्जाबी बोल्छन् । जसका कारण पञ्जाबी फिल्म भारतमा मात्रै नभई क्यानडा, बेलायत र अमेरिकामा पनि धेरै हेरिन्छ ।

पञ्जाबी गीतले पनि फिल्मको सफलतामा महत्त्वपूर्ण भूमिका खेलेका छन् । सन् २०२२ मा सारेगामा म्युजिक कम्पनीका प्रबन्ध निर्देशक विक्रम मेहराले एक अन्तर्वार्तामा पञ्जाबी संगीत उद्योगको कारोबार ७०० करोड भारुको हाराहारीमा रहेको बताए । यसमध्ये ५०० करोड मात्र लाइभ शोबाट आउँछ । सिद्धू मुसेवाला, दिलजीत दोसाँझ, गुरु रन्धावा, एपी ढिल्लन लगायत धेरै गायकको गीत निकै लोकप्रिय छ ।

कोरोना महामारीअघि ४००५०० करोड भारुको कारोबार

पञ्जाबी फिल्म उद्योगको कोरोना महामारीअघि ४०० देखि ५०० करोड भारुको कारोबार थियो । तर कोरोना महामारीका बेला यसले ठूलो नोक्सानी पनि बेहोर्नुपरेको थियो । पोलिउडमा ७० प्रतिशत कर्मचारी दैनिक ज्यालादारीमा काम गर्छन्, जसको लागि जीविकोपार्जनको संकट खडा भएको छ । यसबाहेक लाइभ म्युजिक प्रदर्शनमा प्रतिबन्धका कारण संगीत क्षेत्र पनि घाटामा गएको थियो । तर बिस्तारै सबै कुरा लयमा फर्कने अपेक्षा राखिएको छ ।

दैनिक भाष्करबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?