+
मैत्रीपूर्ण फुटबलका लागि नेपाली टिम ढाकामा :

बंगलादेश विरुद्ध नेपाललाई बदला लिने मौका

२०८० असार  २६ गते १९:२९ २०८० असार २६ गते १९:२९
बंगलादेश विरुद्ध नेपाललाई बदला लिने मौका

२६ असार, काठमाडौं । गत वर्ष घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित हुँदै नेपाल उपविजेता बनेको थियो ।

दशरथ रंगशालमा घरेलु समर्थक अघि पहिलो पटक साफ उपाधि जित्ने नेपाली महिला टोलीको लक्ष्यमा बंगलादेश बाधक बनेको थियो ।

त्यही हारको बदला लिने लक्ष्यसहित दुई मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय महिला टिम बंगलादेश पुगेको छ ।

‘फिफा इन्टरनेशनल वुमन्स पुटबल सिरिज २०२३’ नाम दिइएको नेपाल र बंगलादेशबीचको खेल असार २८ र ३१ गते ढाकामा हुनेछ । यो खेललाई नेपालले आगामी सेप्टेम्बर-अक्टोबरमा चीनमा हुने १९औं एसियन गेम्सको तयारीको रुपमा समेत लिएको छ ।

बंगलादेश विरुद्धको खेलमा नेपाली महिला टोलीको प्रशिक्षकमा अनन्त राज थापा छन् । उनले गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । गत वर्ष साफ च्याम्पियनसिपमा कुमार थापा प्रशिक्षक थिए । फाइनल हारेपछि उनले पद छाडे । त्यसपछि अनन्त थापाले नै महिला टोलीको प्रशिक्षण हेर्दै आएका छन् ।

भारतसँगको दुई मैत्रीपूर्ण खेल र पेरिस ओलम्पिकको छनोट अन्तर्गत एसियन छनोटमा भियतनामसँग दुई खेल खेल्दा अनन्त नै नेपालको प्रशिक्षक थिए । साफ फाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदा अनन्त थापा टेक्निकल स्टडी ग्रुपमा थिए । त्यसबेला उनले दक्षिण एसियाका महिला टोलीहरुको खेल राम्रोसँग हेरेका थिए ।

त्यही साफ फाइनलमा बेहोरेको हारको बदला लिने लक्ष्य यस पटक नेपालको छ । सोमबार एन्फा कम्पेलेक्समा भएको बिदाइ कार्यक्रममा प्रशिक्षक अनन्तले बंगलादेश राम्रो टिम भएको र नेपालले पनि यस खेलका लागि राम्रो तयारी गरेको बताए ।

‘बंगलादेश राम्रो टिम हो । पछिल्लो समय उनीहरुले राम्रो गरिरहेको छ । हामीले पनि राम्रो तयारी गरेका छौं र जित्ने लक्ष्यसहित जाँदैछौं,’ बंगलादेश प्रस्थान गर्नुअघि उनले भने ।

गत वर्षको साफमा बंगलादेशले भारतलाई ३-० ले हराएको थियो भने फाइनलमा नेपाललाई ३-१ ले हराएर उपाधि जितेको थियो । त्यसपछि नेपालले उनै अनन्त थापाको प्रशिक्षणमा चार खेल खेल्दा भारतसँग दुवै खेल बराबरी गरेको थियो भने भियतनामसँग दुवै खेलमा पराजित भएको थियो ।

गत सेप्टेम्बरमा साफमा नेपालाई हराएपछि बंगलादेशले भने पहिलो पटक खेल्न लागेको हो । ओलम्पिक छनोटमा बंगलादेशले नाम फिर्ता लिएपछि खेल्न पाएन । दुई खेलका लागि नेपाली टिम पूर्ण रुपमा तयार रहेको उनले बताए । भने ‘समग्रमा तयारी राम्रो छ । फिटनेसमा समस्या छैन ।’

चोटका कारण यसअघि ओलम्पिक छनोटमा भियतनामसँगको खेल गुमाएका डिफेण्डर गीता राना र मिडफिल्डर प्रिती राईले टिममा पुनरागमन गरेका छन् । यी दुई खेलाडीको पुनरागमनले पनि टिमलाई सहयोग पुग्ने प्रशिक्षक अनन्त थापाको विश्वास छ ।

यस्तै अन्जली वाइवाले पनि लामो समयपछि टिममा स्थान बनाएकी छन् । दुवैले अभ्यासमा राम्रो गरेको प्रशिक्षकले बताए ।

नेपाली टिमकी स्टार तथा सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बाको फर्म नेपालको लागि बलियो पक्षको रुपमा रहेको छ । गोकुलम केरलाबाट इन्डियन वुमन्स लिग लिग जित्दै सर्वाधिक गोलकर्ता समेत बनेकी सावित्रा केही समय अघि मात्रै इजरयाली क्लब हापोएल रानानामा अनुबन्ध भएकी छन् र उनी युरोपियन लिग खेल्न जाने तयारीमा छिन् ।

गत वर्ष साफका बेला साम्बा पूर्ण रुपमा फिट थिइनन् । यस पटक भने उनै सावित्रा नेपालको लागि मेसी जस्तै रहेको प्रशिक्षकले बताएका छन् । ‘सावित्रा युरोपियन लिग खेल्न जाँदैछन् । उनी लयमा हुनु राम्रो छ । साविधा टिममा हुनु भनेको अर्जेन्टिनामा लिओनल मेसी हुनु जस्तै हो’, अनन्तले सावित्राको महत्वबारे भने ।

प्रशिक्षक अनन्तले बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलले एसियन गेम्सको तयारीका लागि धेरै सहयोग पुग्ने बताए । यद्यपी एसियन गेम्सका लागि बालगोपाल महर्जनले महिला टिमलाई प्रशिक्षण दिँदै आएका छन् ।

एन्फाले अनन्त र राष्ट्रिय खेलकुद परिषदले बालगोपाललाई महिला टिमको प्रशिक्षक बनाएपछि केही समय अन्योलको स्थिति बनेको थियो । एन्फाले भने बंगलादेशसँगको खेलका लागि अनन्तलाई नै निरन्तरता दिएको छ ।

प्रशिक्षक अनन्तले पनि फुटबल संघले दिएको जिम्मेवारी पूरा गर्ने बताए । फुटबल संघले जे भन्छ आफूले त्यही गर्ने उनले बताएका छन् ।

बंगलादेशसँगको खेलका लागि तयारी गर्नुअघि एसियन गेम्सको तयारीमा बालगोपाल महर्जनले महिला टिमलाई प्रशिक्षण दिँदै आएका थिए । अब बंगलादेशबाट फर्केपछि कसले प्रशिक्षण दिने भन्ने अझ निश्चित भएको छैन । पहिलो पटक महिला फुटबल टिमले एसियन गेम्समा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

नेपाली टोली

गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेण्डर : अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, निशा थोकर, अञ्चली वाइबा, समिक्षा घिमिरे

मिडफिल्डर : रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही

फरवार्ड : सावित्रा भण्डारी, सबिता राना मगर, रश्मिकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी

नेपाल भर्सेस बंगलादेश नेपाली महिला फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय