गर्भावस्थाको नौ महिना निकै संवेदनशील हुन्छ । यस अवधिभर आमा र बच्चा दुवै स्वस्थ रहन आमाले धेरै कुरामा सावधानी अपनाउनुपर्छ । यसमा खानपानदेखि औषधिसम्मका कुरामा ध्यान दिनुपर्छ । गर्भावस्थामा चिकित्सकको सल्लाहबिना औषधि खानु आमा र बच्चाकै लागि जोखिम हुन सक्छ ।
त्यसोभए गर्भावस्थाको बेला स्वास्थ्य समस्या देखिएर औषधि खानु परे के गर्ने ?
गर्भास्थामा स्वास्थ्य समस्या धेरै किसिमको हुन सक्छ । यस्तोमा समस्या देखिने बित्तिकै यसको समाधानतर्फ लाग्नुपर्छ । धेरैको धारणा के छ भने गर्भावस्थामा औषधि खानै हुँदैन । तर कुनै पनि औषधि खान नहुने भन्न मिल्दैन । सकेसम्म औषधि नखाएको राम्रो हो । यद्यपि औषधिबिना स्वास्थ्य झनै बिग्रिने अवस्था छ भने परीक्षणपछि चिकित्सकको सल्लाहमा खान सकिन्छ । तर औषधि खाँदा सानो भन्दा सानो समस्यामा पनि चिकित्सकको सल्लाह अनिवार्य हुन्छ ।
चिकित्सकले जुनसुकै औषधि पनि गर्भमा रहेको शिशुको अवस्थालाई मध्यनजर गरेर दिन सक्छन् । उदारहणका लागि गर्भमा सन्तान छ तर महिला पहिलेबाट मानसिक रोग वा माइग्रेन छ भने उनीहरुको औषधिलाई निरन्तरता दिने वा डोज कम गर्ने भन्ने कुरा सम्बन्धित चिकित्सकले निर्क्योल गर्छन् । कतिपय उच्च डोजको औषधि खानुपर्ने अवस्था छ भने त्यसले शिशुलाई हानि गर्ने अवस्थामा गर्भधारण नगर्न पनि सुझाउनुपर्ने हुन्छ ।
औषधि छुटाउन नमिल्ने रोगमा के गर्ने ?
मधुमेह, उच्च रक्तचाप जस्तो दीर्घ समस्यामा हतपत औषधि छोड्न मिल्दैन । तर मधुमेह वा उच्च रक्तचापको औषधि पहिलेदेखि खाइरहेकी महिलामा गर्भ बसेमा यसलाई नियन्त्रण गर्ने उपायका साथै कुन औषधिले सन्तान र आमालाई कमभन्दा कम असर गर्छ भन्नेतर्फ लाग्नुपर्छ । किनभने रक्तचापको कतिपय औषधि साइड-इफेक्ट गर्ने खालका हुन्छन् भने कतिपय औषधि कम साइड इफेक्ट गर्ने हुन्छन । बच्चा, आमा र दीर्घरोगलाई नै मध्यनजर गर्दै सम्बन्धित रोगको चिकित्सको सल्लाहमा औषधि सेवन गरी प्रक्रिया अघि बढाउनुपर्छ ।
अन्य रोगको शल्यक्रिया गर्न मिल्छ ?
गर्भावस्थाको बेला शरीरमा अन्य गम्भीर रोग पनि लाग्न सक्छन् । कतिपय रोगमा शल्यक्रिया नै गर्नुपर्ने अवस्था समेत आउन सक्छ । तर कुनै पनि शल्यक्रिया गर्भ बसेको तीन महिनासम्म गर्न मिल्दैन । किनभने त्यो समय संवेदनशील हुने भएकाले गर्भ खेर जाने जोखिम हुन्छ । त्यसैले त्यसको तीन महिनापछि बच्चा र आमाको स्वास्थ्यलाई ध्यानमा राखेर रोगको अवस्था हेरेर सावधानीपूर्वक शल्यक्रिया गर्न सकिन्छ ।
गर्भावस्थामा देखिने स्वास्थ्य समस्या
गर्भावस्थामा धेरै स्वास्थ्य समस्या देखिन सक्छ। जस्तै, पहिलो तीन महिनामा बान्ता हुने, टाउको दुख्ने, गर्भपतन हुने सम्भावना, पाठेघरमा गर्भ नबसेर गर्भनलीतर्फ बस्ने, अंगुरको दाना जसरी पाठेघरमा गर्भ बस्ने जस्ता स्वास्थ्य समस्या देखिन सक्छन् । त्यस्तै, तीन महिना पार गरेपछिको तीन महिनालाई दोस्रो त्रैमासिक भनिन्छ । यस अवधिमा रक्तचाप बढ्ने, मधुमेहको मात्रा अनियन्त्रित हुन सक्ने सम्भावना हुन्छ । र, अन्तिम चरणमा यही समस्या बढ्दै जान्छ । यद्यपि, यी सबै समस्या सबैमा देखिन्छ भन्ने हुँदैन । किनभने शरीरको प्रकृति, खानपान र वातावरण सबैको फरक-फरक हुने गर्छ ।
एन्टिबायोटिक औषधि खान मिल्छ ?
गर्भास्थामा एन्टिबायोटिक औषधि खान मिल्छ कि मिल्दैन भन्ने धेरैमा दुविधा हुन सक्छ । हरेक दुखाइलाई औषधि वा एन्टिबायोटिक आवश्यक पर्दैन । एन्टिबायोटिक्सले हाम्रो शरीरलाई हानि गर्ने जीवाणुलाई हटाउने काम गर्छ ।
सबै एन्टिबायोटिक औषधि शिशुको लागि खतरा हुन्छ भन्ने हुँदैन । केही रोगमा एन्टिबायोटिक पनि चलाउनुपर्ने हुन्छ । यदि गर्भावस्थामा जीवाणु संक्रमण भइरहेको छ र यसको उपचार नहुँदा शिशुलाई समेत जोखिम हुन सक्ने हुँदा कतिपय अवस्थामा खानुपर्ने हुन्छ । जस्तै, गर्भावस्थाको समयमा पिसाब संक्रमण भएमा एन्टिबायोटिक औषधि आवश्यक हुन सक्छ ।
यद्यपि केही एन्टिबायोटिक औषधि गर्भावस्थाको समयमा खानु बच्चाका लागि हानिकारक हुने भएकाले खान मिल्दैन । तर जस्तोसुकै समस्यामा पनि स्वास्थ्य परीक्षण गराएर चिकित्सकको सल्लाहमा मात्र खानुपर्छ ।
सामान्य समस्यामा घरेलु उपचारलाई प्राथमिकता
गर्भ बसेको पहिलो तीन महिनाको अवधिमा चिसो, एलर्जी, ज्वरो, दुखाइ र पाचन जस्ता सामान्य समस्या देखिए फार्मेसीबाट औषधि किनेर खानुभन्दा घरेलु उपचारलाई प्राथमिकता दिनु उचित हुन्छ ।
चिसो र फ्लु
गर्भवती भएको तीन महिना पनि काटेको छैन भने त्यस समय चिसो वा फ्लु लागेमा पर्याप्त आराम गर्नुपर्छ । तातो तरल पदार्थ सेवन गर्दा गर्भावस्थामा चिसो र फ्लुबाट राहत मिल्छ । यदि घाँटी दुखेको छ भने मह र कागती मिसाएर बनाएको तातो चिया पिउनु राम्रो हुन्छ ।
मांसपेशी दुख्ने
गर्भावस्थाको समयमा मांसपेशी दुखाइ एक सामान्य समस्या हो । यो समय शरीरमा हुने विभिन्न परिवर्तनका कारण यस्तो समस्या आउने भएकाले दुखेको ठाउँमा मालिस गर्ने र गराउन लगाउन सकिन्छ । यसले आराम दिन्छ ।
कब्जियत र पायल्स
गर्भावस्थामा धेरैलाई कब्जियत र पायल्सको समस्याले सताउन सक्छ । यसबाट बच्न फाइबरयुक्त खाना र हाइड्रेटेड राख्न प्रशस्त पानी पिएर केही हदसम्म राहत मिल्न सक्छ ।
(डा. सिंह प्रसूति तथा स्त्रीरोग एवं निःसन्तानपनसम्बन्धी विशेषज्ञ हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                                        
                            
                            
                            
                            
                                        
                        
                        
                        
                        
                            
                            
                            
                                        
                            
                                        
                            
                            
                                        
प्रतिक्रिया 4