+
+

कोशी, मधेश र बागमतीमा भारी वर्षाको प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०८० असार २८ गते ७:३१

२८ असार, काठमाडौं । आगामी दुई दिन पूर्वी नेपालमा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित छ । त्यसैले पश्चिमको तुलनामा पूर्वी नेपालमा बढी वर्षाको प्रक्षेपण गरिएको हो ।

मौसमविद प्रतिभा मानन्धरले आज र भोलि नेपालका पूर्वी र मध्य भेगमा तथा पर्सि पश्चिम भेगमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिइन् । आज र भोलि दुई दिन तराईका जिल्लाहरुमा हावाहुरीकोसमेत सम्भावना रहेको उनले बताइन् ।

अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी र मधेशका एक-दुई स्थानमा भारी वर्षासमेत भएको छ । यो वर्षा विस्तारै कम हुँदै गएको मौसमविद मानन्धरले बताइन् ।

‘वर्षाको सम्भावना आज, भोलि, पर्सि तीन दिन नै छ । आज र भोलि भारी वर्षाको सम्भावना छ,’ मौसमविद मानन्धरले भनिन्, ‘पर्सि सुदूरपश्चिममा भारी वर्षाको सम्भावना देखिन्छ । आज र भोलि भने पूर्वी र मध्य भागमा भारी वर्षाको सम्भावना देखिन्छ ।’ हिजो कर्णाली प्रदेशमा पनि ठूलो पानी परेको थियो ।

आज रातभरी कोशी प्रदेश र बागमती प्रदेशमा वर्षा भइरहेको छ । कोशीका सुनसरीको धरान, चतरा, झापाको कनकाई, अनारमणि बिर्ता, चन्द्रगढी एयरपोर्ट तथा आसपासका क्षेत्रमा आज बिहान मध्यमदेखि भारी वर्षा मापन भएको छ । मौसम विज्ञान विभाग अन्तर्गतको बाढी सूचना केन्द्रले बिहान २ बजे ट्वीट गरेर पछिल्लो तीन घण्टादेखि ती क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जनाएको छ ।

यसैगरी गएराति बागमती प्रदेशको मकवानपुर र आसपासका केही स्थानमा पनि मध्यमदेखि भारी वर्षा मापन भएको छ ।

कोशी र बागमती प्रदेशका ती क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा होचा भूभागमा रहनेहरूलाई उच्च सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?