+
+

महाधिवेशन कुर्दै चुपचाप हिस्सेदारीमा सहभागी शेखर

नेतृत्वलाई प्रश्न गर्ने, कार्यकर्ता भेट्न जिल्लामै जाने कोइरालाहरूको परम्परा पछ्याउँदै आएका शेखर किन एकाएक शान्त बन्न पुगे ?

लिलु डुम्रे लिलु डुम्रे
२०८० असार २८ गते १९:२३

२८ असार, काठमाडौं । चौधौं महाधिवेशनअघि कांग्रेस कार्यकर्ताहरू शेखर कोइरालालाई  ‘देश दौडाहा’ गर्ने नेताका रूपमा चिन्थे । शेरबहादुर देउवालाई सभापतिमा हराएर उदाउने उनको प्रयासमा परिवारभित्रकै शशांक कोइराला र सुजाताले साथ नदिंदा उनी आफ्नै धारका नेताका रूपमा खुम्चिए । हिजोआज त त्यही देउवाइतर धार पनि विभाजित छ ।

एउटा समूहको नेतृत्वदायी भूमिकामा नहुँदा पनि शेखर २०७२ साल देखि २०७८ सम्म ६० भन्दा बढी जिल्ला पुगे । कार्यकर्ताका गुनासा सुने । नेता जति केन्द्रमा टाक्सिइरहेका बेला शेखर आफूहरूकहाँ आएको भन्दै उनीप्रति कार्यकर्ताले अथाह प्रेम देखाउँथे । कांग्रेस पुनरोदयको आशा पनि उनैमा देख्थे ।

महाधिवेशनको केही समयअघि एक संवादमा बारामा कार्यकर्ताले देखाएको चिन्ताबारे भनेका थिए, ‘शेखरबाबु कांग्रेसलाई बचाइदिनुस् । कांग्रेस बिग्रियो । कांग्रेस डुब्दैछ ।’

कांग्रेस बचाउन शेखरसँग अपेक्षा राख्ने ८९ र ९२ वर्षका दुई वृद्ध थिए । त्यस्तै कार्यकर्ताको बलमा सभापतिमा शेखरले शेरबहादुर देउवालाई टक्कर दिए । यद्यपि, पार्टी सभापतिको उम्मेदवारमा कोइराला परिवारबाट त्यसअघि पराजित भएकोे इतिहास भने थिएन ।

पार्टीभित्र ४० प्रतिशतको शक्ति आर्जन गरेसँगै शेखर पछिल्लो समय भने जिल्ला भ्रमणमा कम निस्कने गरेका छन् । महाधिवेशन सकिएलगत्तै मतदातालाई धन्यवाद दिने क्रममा उनले फेरि कार्यकर्ताको घरदैलोमा पुग्ने प्रतिबद्धता गरेका थिए ।

महाधिवेशनपछिको उनको बढी समय काठमाडौं वा विराटनगरमा बित्ने गरेको छ । कोइराला परिवारमा जति स्थापित नेता बने उनीहरूको मूल विशेषता कार्यकर्ताकहाँ आफैं पुगेका कारणले सम्भव भएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन् ।

‘नेतालाई कति मान्छे आएर भेट्छन् भन्ने कुराले अर्थ राख्दैन । नेता आफैं कति मान्छेलाई भेट्न जान्छ, त्यसको महत्व हुन्छ’ कोइराला परिवारको राजनीतिबारे जानकार आचार्य भन्छन्, ‘गिरिजाप्रसाद कोइरालाका केही अवगुण हुँदाहुँदै पनि सफल हुनुको उहाँ नेता कार्यकर्तालाई भेट्न आफैं जानुहुन्थ्यो । कोइरालाहरूमा जो स्थापित नेता बने उनीहरूको स्ट्रेन्थ नै बढी कार्यकर्ताकहाँ पुग्नु हो ।’

जिल्ला भ्रमण कम गरेका शेखरको विशेषता नेता कार्यकर्ता उपचाररत हुँदा अस्पताल पुग्ने तथा कार्यकर्ताको परिवारका सदस्यको मृत्यु हुँदा सकेसम्म घरमै पुगेर समवेदना व्यक्त गर्ने बानी छ ।

कार्यकर्ताकहाँ पुग्ने क्रम घटाएका शेखरले विधिको चर्को वकालत गर्न पनि छोडेको उनी माथि आरोप लाग्न थालेको छ । २०७८ मंसिर २९ मा उनले सभापतिमा निर्वाचित भएसँगै शेरबहादुर देउवालाई बधाई दिने क्रममा विधिको कुरा उठाएका थिए ।

‘जसरी साढे ५ वर्ष पार्टी बेथितिको हिसाबले चल्यो, त्यसैगरी चल्न थाल्यो भने हामी सशक्त रूपमा प्रस्तुत हुनेछौं’ तत्कालीन समयमा शेखरले भनेका थिए । सशक्त रूपमा प्रस्तुत हुने उनको तत्कालीन बोली अनुसारको व्यवहार विगत डेढ वर्षमा नदेखाएको पार्टीभित्र चर्चा हुन्छ ।

यी सब हुनुको पछाडि शेखर स्वयं देउवातिर ढल्किंदै जानु नै कारक रहेको विश्लेषण हुन थालेको छ । उक्त विश्लेषणमा बल पुर्‍याउने कार्य उनकै केही भूमिकाले देखाएको संस्थापन इतरका नेताहरू दाबी गर्छन् । सभापति देउवालाई चिढ्याउँदा भावी सभापति हुने बाटो असहज हुने ठानेर परम्परागत शैलीलाई शेखरले त्यागेको चर्चा हुने गरेको छ ।

विधि, विधान, कार्यशैलीमा प्रश्न उठाइरहने शेखरले शैली परिवर्तन गरेका छन् । कोइराला परिवारमा गालीगलौजको संस्कृति नरहेको भन्दै आफ्नो शैलीको शेखरले बचावट गर्छन् । पार्टीभित्र इतर र प्रतिपक्ष गरी दुई प्रकृतिका आलोचक हुने विश्लेषक आचार्य बताउँछन् ।

आचार्यका अनुसार ‘इतर’ सभापतिका हरेक कुरामा विरोध जनाउँछ । पार्टीभित्रको प्रतिपक्षले भने वैकल्पिक उपाय र समाधान दिएर अगाडि बढ्ने प्रवृत्ति हुने आचार्य बताउँछन् । महाधिवेशनपछिको डेढ वर्षमा शेखरले पार्टीभित्र प्रतिपक्षीय भूमिका निर्वाह गरेको उनको बुझाइ छ । ‘जिम्मेवार नेता भएकाले बाहिर होहल्ला गर्ने छुट उहाँलाई छैन । सन्तुलित भूमिका उहाँको देखिएको छ’, शेखर भन्छन् ।

शेखरको शालीन भूमिका १५औं महाधिवेशन केन्द्रित रहेको बुझाइ पार्टीभित्र छ । सभापति देउवा निकटको पनि आफू नेता हुनसक्ने आकलन सहित दूरी नबढाउने पक्षमा शेखर देखिएका छन् । कांग्रेसका एक नेताको दाबी अनुसार देउवा पक्षका केही नेता शेखरतिर ढल्किइसकेका छन् ।

उनका अनुसार सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री एनपी साउद, केन्द्रीय सदस्य एवं स्वास्थ्यमन्त्री मोहन बस्नेत लगायतको शेखरसँग सम्बन्ध थप नजिकिएको छ । ‘राजनीतिमा स्थायी टीम भन्ने हुँदैन । देउवाको विकल्प कांग्रेसभित्र धेरैले शेखरमा देखेका छन्’, विश्लेषक आचार्य भन्छन् ।

शेखरको शालीन भूमिका १५औं महाधिवेशन केन्द्रित रहेको बुझाइ पार्टीभित्र छ । सभापति देउवा निकटको पनि आफू नेता हुनसक्ने आकलन सहित दूरी नबढाउने पक्षमा शेखर देखिएका छन् । कांग्रेसका एक नेताको दाबी अनुसार देउवा पक्षका केही नेता शेखरतिर ढल्किइसकेका छन् ।

देउवाले आफ्नो समूहबाट ‘भावी सभापति तपाईं नै हो’ भनेर आश्वासन दिएकाले दुई बीच सम्बन्ध नजिकिएको आकलन पनि पार्टीभित्र छ । शेखरले आफू निकटका नेताहरूलाई देउवासँग गठजोड हुनै नसक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शेखर समूहबाट नै गत महाधिवेशनमा प्रतिस्पर्धा गरेका एक नेता भन्छन्, ‘तपाईं देउवातिर लागे साथ दिन नसक्ने भनें । म कहाँ देउवासँग मिल्छु भनेर उल्टै हप्काउनुभयो ।’ देउवासँग मिल्नै हुन्न भन्ने उनी पक्षीय धेरै नेताको मत छ ।

आश्वासन दिंदै देउवाले अरू नेताहरूको राजनीति संकटमा पारेको भन्दै त्यही बाटोमा नलाग्न सुझाव दिने गरेका छन् । शेखर भने आफूलाई अरूसँग तुलना नगर्न आग्रह गर्छन् । ‘महाधिवेशनको बेला मतदान गर्न लाइनमा बसेकासँग पाँच घण्टा उभिएर देउवा मत माग्ने अवस्थामा पुगेका हुन् । अरूसँग मेरो तुलना नगर्नुस्’ शेखरको बोली उद्धृत गर्दै एक नेताले भने ।

सभापतिको कार्यशैलीमा विरोधको स्वर शेखरबाट पछिल्लो दिनमा सुनिंदैन । कतिपयले उनको चरित्र द्वैध देखिएको आरोप लगाउँछन् । रूपान्तरणको अभियान लिएर प्रदेश-प्रदेश पुगेको टोलीलाई सभापति देउवा विरुद्ध लाञ्छना नलगाउन निर्देशन दिए ।

कांग्रेसका एक नेता भन्छन्, ‘देउवालाई गाली नगर भनेर शेखर दाइले निर्देशन दिनुभयो । रूपान्तरणको अभियान लिएर हिंडेको टोली देउवाबाट पार्टी चल्दैन भन्ने सन्देश लिएर हिंडेको थियो । यसमा उहाँको चरित्र द्वैध देखियो ।’

विधानले देउवालाई पुनः सभापतिको उम्मेदवार हुन दिंदैन । सभापतिमा उठ्न चाहे विधान नै संशोधन गर्नुपर्दछ । एउटा विन्दुमा देउवाले विधान संशोधन गरेर आफू नै पुनः अघि सर्ने आशंका पनि कतिपयले गर्छन् ।

कांग्रेसभित्रको राजनीतिबारे विश्लेषण गर्दै आएका सुदर्शन आचार्य संस्थापनइतरमा फुट आयो भने यस्तो सम्भावना नकार्न नसकिने दाबी गर्छन् । ‘शेखर र गगन मिल्नै नसक्ने अवस्थामा पुगे भने विधान संशोधन गरेर पुनः एकपटक सभापति हुने देउवाले प्रयास गर्न सक्छन्’ आचार्य भन्छन् । केन्द्रीय समितिमा ८२ प्रतिशत शक्ति रहेकाले विधान संशोधन गराउन देउवालाई असहज भने छैन ।

आफ्नै समूह तितरवितर हुने भय

संसदीय दलको नेतामा प्रतिस्पर्धा नगरेर महामन्त्री गगन थापाको प्रस्तावक शेखर बने । संस्थापनइतरको केही मत थपिंदा समेत आफ्नो समूहको पूरै मत पनि गगनलाई परेन । संस्थापनइतरका नेताहरूका अनुसार यही विन्दुबाट शेखर-गगनमा अविश्वासको संकट पैदा भयो ।

‘दुई नेतासँगै हुँदा ३६ जना पक्षमा उभिने तर मत आउने २५ जना कसरी भयो ?’ यसै विन्दुबाट अविश्वास पैदा भयो’ संस्थापनइतरका एक नेता भन्छन् । १५औं महाधिवेशनमा शेखर-गगन नै सभापतिको उम्मेदवार हुने तयारीले पनि एकअर्कामा आशंका रहेको नेताहरूको बुझाइ छ ।

समूह एकताबद्ध नहुनुमा मन्त्रीहरू टुंग्याउने विषयमा समेत रहेको थियो । आफ्नो समूहबाट मन्त्रीहरू छनोट गर्दा एउटै समूहबाट पदाधिकारीमा प्रतिस्पर्धा गरेका अन्यसँग शेखरले परामर्श नगरेको आरोप लागेको छ ।

परिवर्तित राजनीतिको प्रभाव पार्टीमा पर्ने र त्यसले परम्परागत समीकरण भत्किने नेताहरू दाबी गर्छन् । ‘परिवर्तित राजनीतिमा कांग्रेसभित्रको परिवर्तन पनि सन्निकट छ’ शेखर पक्षबाट सहमहामन्त्रीमा प्रतिस्पर्धा गरेका देवराज चालिसे भन्छन्, ‘तीव्रगतिमा घटनाक्रम विकसित भइरहेका छन् । परिवर्तनको बहावले कांग्रेसभित्र पनि परिवर्तन ल्याउँछ ।’

महामन्त्री गगन थापा सहित सोही समूहका सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग सल्लाह नगरी नाम बुझाएको उनी माथि आरोप लागेको छ । ‘आफ्नो समूहबाट मन्त्री हुनेको सूची बुझाएर सिंगापुर जानुभयो । उपसभापति पूर्णबहादुर खड्काले भनेपछि पो हाम्रो तर्फबाट नाम गइसकेको थाहा भयो’, संस्थापनइतरका एक नेता भन्छन् ।

१४औं महाधिवेशनमा ‘एकैपटक, यसैपटक’को मुद्दा सहित निर्वाचनमा होमिएका शेखर सभापतिको प्रतिस्पर्धी अर्को पटक पनि बन्ने बताइसकेका छन् । उनको पछिल्लो रणनीति आफ्नो समूहलाई सकेसम्म कायम राख्ने र अर्को समूहका नेतालाई विश्वासमा लिने रहेको उनी निकट नेताहरू दाबी गर्छन् ।

‘गगन आफूसँग नहुँदा ४० प्रतिशतमध्ये कति मत आफूसँग रहन्छ र देउवा पक्षबाट उम्मेदवार हुँदा त्यो समूहका केहीले साथ नदिए कति घट्न सक्ला, त्यसको अंकगणित हिसाब गर्नुभएको छ’, संस्थापनइतरका एक नेता भन्छन् । देउवा–शेखर सम्बन्ध सुध्रिएको विषयलाई संस्थापन पक्षका नेताहरूले शेखरको परिपक्व राजनीतिको संज्ञा दिएका छन् ।

परिवर्तित राजनीतिको प्रभाव पार्टीमा पर्ने र त्यसले परम्परागत समीकरण भत्किने नेताहरू दाबी गर्छन् । ‘परिवर्तित राजनीतिमा कांग्रेसभित्रको परिवर्तन पनि सन्निकट छ’ शेखर पक्षबाट सहमहामन्त्रीमा प्रतिस्पर्धा गरेका देवराज चालिसे भन्छन्, ‘तीव्रगतिमा घटनाक्रम विकसित भइरहेका छन् । परिवर्तनको बहावले कांग्रेसभित्र पनि परिवर्तन ल्याउँछ ।’

चुपचाप हिस्सेदारीमा सहभागी

विधानको वकालत गरिरहने नेताको श्रेणीमा नेता शेखर पर्दछन् । हिस्सेदारी खोज्ने क्रममा भने विधिलाई बेवास्ता गरेको उनीमाथि आरोप लाग्ने गरेको छ । महाधिवेशन सकिएलगत्तैको बोलीमा शेखरले भागबण्डाको राजनीति नगर्ने अभिव्यक्ति दिएका थिए । उनको तत्कालीन बोली थियो, ‘भागबण्डा खोज्दैनौं, तर पार्टीलाई हिजो जसरी चलाउन पनि दिंदैनौं ।’

भ्रातृ संस्थाले पूर्णता पाउन सकेका छैनन् । पूर्णता पाएकाको पनि विधान भन्दा बाहिर गएर मनोनित गरिएको छ । तदर्थ समितिको कार्यकाल कहिलेसम्म हुने पार्टी अनिर्णित छ । ६ महिनाभित्र गठन भइसक्नुपर्ने विभाग गठन भएको छैन ।

यी विषयमा सभापतिलाई विधिसम्मत हिंडाउन शेखरले पहल नगरेको उनीमाथि आरोप छ । महिला संघ र तरुण दलमा भागबण्डाका आधारमा सदस्यहरू मनोनित गरिएको छ । नेविसंघमा ल्याउन लागिएको जम्बो टोलीमा पनि सबै पक्षले आ-आफ्नो तर्फबाट नाम बुझाएका छन् ।

केन्द्रमा उपसभापति धनराज गुरुङ र मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूलाई शेखरले मन्त्री बनाए । बागमतीमा उत्तम जोशी, गण्डकीमा महेन्द्रध्वज जिसी, कर्णालीमा कृष्णकुमार बीसी लगायत शेखर पक्षबाट मन्त्री बनेका छन् ।

केन्द्रमा उपसभापति धनराज गुरुङ र मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूलाई शेखरले मन्त्री बनाए । बागमतीमा उत्तम जोशी, गण्डकीमा महेन्द्रध्वज जिसी, कर्णालीमा कृष्णकुमार बीसी लगायत शेखर पक्षबाट मन्त्री बनेका छन् ।

१४औं महाधिवेशन अघि एउटा समूहको नेता बनेका रामचन्द्र पौडेलको भूमिकाबारे एक नेता भन्छन्, ‘महामन्त्री शशांक आफ्नो पक्षमा भएर पनि निष्क्रिय जस्तै थिए । अहिले त दुई महामन्त्रीले साथ दिन्छन् नि ! किन शेखरले उनीहरूको साथ लिएर देउवालाई घच्घच्याउन नसकेको ?’

सांसद समेत रहेका शेखरको बोली संसदमा प्रभावकारी नसुनिएको उनीमाथि आरोप लाग्छ । नागरिकका दिनहुँका समस्या समाधान गर्ने गरी छलफल तथा अन्तरक्रिया गर्ने तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय मुद्दामा बहसबाट शेखर चुकेको विश्लेषक आचार्यको बुझाइ छ ।

कोशीमा सभामुख गठबन्धनमा सहभागी, जिल्ला निर्वाचन कार्यालय प्रशासन मातहत ल्याउने निर्णय, रेशम चौधरीको रिहालगायत राष्ट्रिय मुद्दामा उनले विरोध जनाएका छन् ।

शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्ने विषयमा थप मुखरित हुन वा सभापति माथि दबाब बढाउने कार्यमा पहलकदमी लिन नसकेको उनीमाथि आरोप लागेको छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?