+
+

यी हुन् काठमाडौंका चर्चित ७ शाकाहारी रेस्टुरेन्ट

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० साउन १ गते १३:२९

काठमाडौं । साउनको महिना, शारीरिक र आत्मिक हिसाबले स्वच्छता कायम गर्नुपर्ने याम हो यो । त्यसैले त धेरैले यतिबेला भोजनमा संयमता अपनाउँछन् । खासगरी यो याममा तामसिक भोजन त्याग्ने गरिएको छ । माछामासु, मदिराजन्यलाई निषेध गर्ने र सात्विक भोजन गर्ने प्रवृत्ति छ । त्यसो त कतिपयले जन्मजात नै माछामासु खाँदैनन् । कतिलाई माछामासु रुच्दैन । कतिलाई पच्दैन पनि ।

यस्तो स्थितिमा शाकाहारी रेस्टुरेन्टको खोजी हुने नै भयो । उनीहरुलाई नै लक्षित गरेर सहरमा यस्ता रेस्टुरेन्ट सञ्चालित छन्, जहाँको मुख्य विशेषता भनेकै शाकाहारी भोजन पस्किनु हो ।

शाकाहारी पनि दुई प्रकारका हुन्छन्, एउटा माछामासु नखाने दुग्धजन्य परिकार खाने ‘भेजिटेरियन्ट’ र अर्को माछा मासुसँगै दुग्धजन्य परिकार पनि नखाने ‘भेगन’ । यी दुवै प्रकारका शाकाहारीहरूको लागि लक्षित गरे पछिल्लो समय केही भेज भेगन रेस्टुरेन्ट खुलेका छन् । तिनै सात शाकाहारी रेस्टुरेन्टलाई हामीले यहाँ समेटेका छौं ।

उत्पला क्याफे

पाँच वर्षअघि स्थापना भएको उत्पला क्याफे शाकाहारीहरूको लागि उत्कृष्ट गन्तव्य हुन सक्छ । यो एउटा गुम्बाद्वारा सञ्चालित क्याफे हो । यहाँको विशेषता भनेको पारिवारिक वातावरण र शाकाहारी खाना हो । २०० भन्दा बढी क्षमता भएको यो क्याफे धुम्रपान र मद्यपान निषेधित क्षेत्र हो । यस क्याफेको अर्को मुख्य विशेषता भनेको मूल्य पनि हो । अन्य रेस्टुरेन्टहरूको तुलनामा यो क्याफेमा खानाको मूल्य कम छ । हरेक शुक्रबार र शनिबार यहाँ बफेटको व्यवस्था गरिएको छ । ४५० रुपैयाँमा जति पनि खाना खान सकिन्छ ।

इन्डियन, इटालियन र नेपाली खानाको विविधता पाइने यो रेस्टुरेन्ट पछिल्लो समय शाकाहारीहरूमाझ लोकप्रिय छ ।

लभिङ हार्ट भेगन रेस्टुरेन्ट

लभिङ हार्ट नेपालको पहिलो भेगन रेस्टुरेन्ट हो । ठमेलमा रहेको यो भेगन रेस्टुरेन्ट स्वदेशी तथा विदेशी भेगनहरुको रोजाइमा पर्ने गर्छ । आठ वर्षदेखि सञ्चालनमा रहेको यो भेगन रेस्टुरेन्टको विशेषता भनेको कुनै पनि जनावरको स्रोत प्रयोग नगरी बिरुवाको स्रोतबाट बनेको ‘प्लान्ट बेस मिट’ पाउनु हो ।

एक पटकमा १०० जना बसेर खान मिल्ने क्षमता भएको लभिङ हार्टको विशेष परिकार भनेकै नेपाली खाना दाल, भात र तरकारी हो ।

भेगन हाउस क्याफे एण्ड रेस्टुरेन्ट

झम्सिखेलमा रहेको भेगन हाउस क्याफे एण्ड रेस्टुरेन्ट भेगनहरुको लागि राम्रो विकल्प हुन सक्छ । चार महिनाअघि भेगनहरुलाई प्राथमिकतामा राखेर सुरु भएको रेस्टुरेन्टले मांसाहारीहरूलाई पनि आकर्षित गर्नका लागि बिरुवाको स्रोतबाट बनेको ‘प्लान्ट बेस मिट’बाट बनेका परिकारहरू बनाउँछ ।

एक पटकमा ६० जना बसेर खान सकिने यो रेस्टुरेन्टमा बिरुवाबाट बनेको मासु जस्तै ‘सिटान’बाट बनेको सिटान छोइला, सिटान चिल्ली र बिरयानी लगायतका खानेकुरा लोकप्रिय छ । सिटान भेगन हाउस क्याफे एन्ड रेस्टुरेन्टले आफैं उत्पादन गर्छ । जुन टोफु, चुकन्दर, गहुँ गुल्टेन, आलु स्टार्च, मटर प्रोटिन, सिमी, नरिवलको तेल र विभिन्न तरकारीको प्रयोगबाट बन्छ ।

भेगन हाउसका सञ्चालक कल्यान सिलवाल सानै उमेरदेखि जनावरप्रेमी थिए । कोरोनाको समयमा उनले धेरै भोका जनावरलाई खाना खुवाए, धेरै बिरामी जनावरलाई औषधि उपचार पनि गरे, जसले गर्दा जनावरप्रतिको माया बढ्दै गयो जसले गर्दा उनी आफू भेगन भए र भेगन रेस्टुरेन्ट पनि खोले ।

अर्गानिक स्मुदी बाउल एन्ड क्याफे

लाजिम्पाटमा रहेको अर्गानिक स्मुदी बाउल एन्ड क्याफे पनि शाकाहारीको रोजाइमा पर्ने गर्छ । तीन वर्षअघिबाट सुरु भएको यो रेस्टुरेन्टले शाकाहारी परिकारलाई प्राथमिकतामा राखेको भए पनि अण्डाबाट बनेको परिकार, भेगन परिकार पनि पस्किने गर्छ ।

अर्गानिक स्मुदी एण्ड बाउल क्याफेको विशेष परिकार भनेको ताजा र मौसमी फलबाट बनेको स्मुदी बाउल हो । भेजिटेबल सलाद, स्मुदी, फ्रेस जुस पनि यहाँको लोकप्रिय परिकार हो । एक पटकमा ४० जना बसेर खान सकिने यो रेस्टुरेन्टको विशेषता भनेको नै स्वस्थकर भेज भेगन खाना हो ।

प्लेसेस रेस्टुरेन्ट एण्ड बार

काठमाडौंको मुटु ठमेलको सातघुम्ती चोकनजिक रहेको अर्को भेज-भेगन रेस्टुरेन्ट प्लेसेस रेस्टुरेन्ट एण्ड बार पनि हो । जहाँ भेग र भेगन दुवै प्रकारका खाना पाइन्छ । यहाँ नेपाली, इन्डियन, इटालियनलगायत धेरै प्रकारका खाना पाइन्छ ।

यहाँको लोकप्रिय परिकार भिगन पिज्जा, चाइनिज काङफाउ र म्याक्सिकन क्यासिडिया आदि हुन् । शान्त र सुन्दर वातावरण भएको यो रेस्टुरेन्ट भेज तथा भेगनहरुको लागि राम्रो विकल्प हुन सक्छ ।

न्यु सत्कार भेजिटेरियन्ट रेस्टुरेन्ट

न्यु सत्कार भेजिटेरियन्ट रेस्टुरेन्ट पनि शाकाहारीहरूको लागि राम्रो विकल्प हुन सक्छ । ठमेलमा रहेको यो रेस्टुरेन्टमा  भारतीय शाकाहारी खाना पाइन्छ । १० वर्षदेखि शाकाहारीहरूको रोजाइमा पर्दै आएको यो रेस्टुरेन्टमा एक पटकमा ३० जना बसेर खान सकिन्छ ।

यहाँको स्पेसल खाना भनेकै रोटी तरकारी हो । तरकारीको मसालेदार स्वादले गर्दा यो शाकाहारीहरूको रोजाइमा पर्ने गर्छ ।

सारङ्गी भेजिटेरियन्ट रेस्टुरेन्ट

ठमेलमा रहेको सारङ्गी भेजिटेरियन्ट रेस्टुरेन्ट पनि शाकाहारीहरूको लागि उत्कृष्ट गन्तव्य हुन सक्छ । सारङ्गी शाकाहारी भोजनालयमा विशेष भिगेन (दूधबाट बनेको समेत नखाने) र शाकाहारीका लागि निकै राम्रो विकल्प हुन सक्छ ।

आठ वर्षअघि सुरुवात गरिएको यस रेस्टुरेन्टमा नेपाली, इन्डियनलगायत खानाका परिकारहरू अर्डरअनुसार खान सकिन्छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?