+
+

अख्तियारको नयाँ मुद्दा दर्ताभन्दा पुनरावेदन बढी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते १९:५३

१ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा नयाँ मुद्दा दायरभन्दा पुनरावेदन बढी गरेको देखिएको छ ।

अख्तियारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को प्रगति विवरण अनुसार, २३७ वटा मुद्दा पुनरावेदनका लागि सर्वोच्च अदालतमा पेश भएका छन् । उसले गत आर्थिक वर्षमा विशेष अदालतमा १६२ वटा मात्रै मुद्दा दर्ता गरेको थियो ।

अख्तियारले विशेष अदालतमा दायर गरेका मुद्दामध्ये गत आर्थिक वर्षमा ३४१ वटा मुद्दाको फैसला पाएको थियो । जसमध्ये २३७ वटा फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । जबकी आर्थिक वर्ष २०७८/७९ मा अख्तियारले ५७ वटा मुद्दामा मात्रै पुनरावेदन दर्ता गरेको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले अख्तियारबाट प्रदान गरिएको नगद बुझाएर रंगेहात पक्राउ गरेको (स्टिङ अपरेशन) मुद्दा अघि बढाएमा त्यस्तो रकमलाई दसी प्रमाण मान्न नमिल्ने व्याख्या गरेको थियो ।

विशेष अदालतले त्यही नजिरका आधारमा आरोपितहरुलाई धमाधम सफाइ दियो । विशेष अदालतको फैसलामा आपत्ति जनाउदै अख्तियार पुनरावेदनका लागि सर्वोच्च अदालत गएको हो ।

गत आर्थिक वर्षमा १६२ वटा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले ७६० जनालाई प्रतिवादी बनाएको छ । मुद्दामध्ये सबैभन्दा बढी गैरकानूनी लाभहानीका छन् । त्यसपछि घुस, सार्वजनिक सम्पत्ति नोक्सानीका मुद्दा दायर गरेको छ ।

गत आर्थिक वर्षमा २७ हजार ५३० उजुरी दर्ता भएको आयोगले करिव एक हजार उजुरीमाथि विस्तृत अनुसन्धान गरिरहेको छ । अख्तियारमा पेश भएको उजुरी गतवर्षको तुलनामा केही बढेको देखिन्छ । गतवर्ष २४ हजार ३ सय उजुरी दर्ता भएको थियो ।

अख्तियारले एक वर्षमा एक अर्ब ७७ करोड विगो मागदावी गरेर मुद्दा दायर गरेको छ । भ्रष्टाचार मुद्दा लाग्ने ७६० जनामध्ये ३५५ जना कर्मचारी छन् भने २२६ जना निर्वाचित पदाधिकारी हुन् । बाकी १७८ जना विचौलिया रहेको अख्तियारको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?