+
+
स्वदेशमा भविष्य नदेखेको युवा पुस्ता :

विदेशिन चाहने विद्यार्थी संख्या अचाक्ली बढ्दो, एकलाख माथिले लिए एनओसी

‘आशा जगाउने कोही पनि भएन । कन्सल्टेन्सी, पत्रकार, प्राज्ञिक, नेता भनाउँदाले देशभित्र सम्भावना केही छैन भनेपछि किन बस्छन् विद्यार्थी ?’

नुनुता राई नुनुता राई
२०८० साउन १ गते २०:३८

१ साउन, काठमाडौं । साइकोलोजीमा स्नातक गरेकी झापाकी रिश्ता शंकर (२४) काम गर्दै स्नातकोत्तर पढ्ने सोचका साथ जागिरका लागि धेरै भौंतारिइन् । दुई वर्ष प्रयास गर्दा पनि मासिक १० हजारभन्दा बढी तलबको ‘अफर’ आएन । सकेसम्म विदेश जान्न भन्ने सोच बनाएकी रिश्ता आफ्नो योग्यता, क्षमता अनुसार जागिर नपाएपछि अन्ततः वैदेशिक अध्ययनमा क्यानडा जाने तयारीमा छिन् ।

वैदेशिक अध्ययन अनुमति पत्र शाखा, भक्तपुरमा भेटिएकी रिश्ताले निराशा पोखिन्, ‘कम्तीमा काठमाडौंमा बसेर आफ्नो खर्च धान्न सक्ने जागिर पाएको भए म विदेश जान्नथें, तर खान-बस्न समेत नपुग्ने तलबको अफर हुन्छ । अनि विदेश नगएर के गर्ने ?’

पोस्ट ग्य्राजुएटका लागि कागजात रुजु गराउन पुगेकी रिश्ता क्यानडामा कम्तीमा क्षमता अनुसार जागिर वा दुःख गरे अनुसार श्रमको मूल्य पाउनेमा आशावादी छिन् ।

सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका अंकित साह अष्ट्रेलिया जाने तयारीमा छन् । पढाइ अनुसार जागिर नपाएकाले विदेश जाने निर्णयमा पुगेको अंकितले सुनाए । ‘पढेको छु, अब जागिर खान्छु भन्दा जागिरै पाउन्नँ । न सरकारले दिन्छ न प्राइभेट कम्पनीले दिन्छन्’ उनी भन्छन्, ‘आफैं गर्न पैसाले पुग्दैन ।’ अष्ट्रेलिया पुगेका साथीहरूको सहयोग, सुझावका कारण विदेश जाने तयारी गरिरहेका उनले केही वर्ष कमाएर नेपाल फर्कने योजना समेत सुनाए ।

एचए पढेकी झापाकी चेतना विश्वकर्मा पनि क्यानडाको लागि तयारी गरिरहेकी छिन् । नेपालमा काम पाउन गाह्रो नभए पनि तलब ज्यादै न्यून हुने उनको अनुभव छ । ‘सरकारीमा दरबन्दी नै हत्तपत्त खुल्दैन । निजीमा जागिर पाइन्छ, तर तलब खान-बस्नै नपुग्ने हुन्छ । बाहिर कम्तीमा काम अनुसारको तलब त पाइन्छ नि !’ निराश भएर विदेश जान लागेकी चेतना भन्छिन् ।

कागजात रुजु गराउन वैदेशिक अध्ययन अनुमति पत्र शाखामा पुगेकी चेतनाले क्यानडामा अर्लि चाइल्डहुड एजुकेशनमा स्नातकोत्तर गर्ने योजना सुनाइन् ।

स्याङ्जाका विवश थापाले चार वर्षअघि कम्प्युटर इन्जिनियरिङमा स्नातक पूरा गरेका थिए । उनका थुप्रै साथी स्नातक सकिनासाथ अष्ट्रेलिया, क्यानडा लगायतका देश पुगे । उनीहरूले विवशलाई पनि जाउँ भनेका थिए, तर यहीं काम गर्ने भनेर रोकिए । चार वर्ष जागिर गर्दा जेनतेन आफ्नो खर्च जुटाए पनि पढ्दा लागेको ऋण तिर्न सकेनन् ।

‘अहिलेसम्म पढ्दा लागेको खर्चको आधा जति तिर्न सकेको भए पनि जाने थिइनँ । त्यो भनेको यहाँ पनि अझै गर्न सकिन्छ भन्ने होप हो’ उनी भन्छन्, ‘तर अव नसकिने रहेछ भन्ने लाग्न थालेको छ ।’

त्यसैले अब बेलायत जाने प्रक्रियामा छु । आफू मात्रै नभएर अधिकांश युवा आफ्नो योग्यता, क्षमता अनुसारको जागिर नपाएकै कारण विदेश जाने गरेको उनले सुनाए । ‘आमाबुवाले पढाइदिनुभयो । जागिर खान थालेपछि कमाएको केही प्रतिशत उहाँहरूलाई दिन पाए कति आनन्द हुन्छ, तर आफ्नै खर्च धान्न मुश्किल भयो’ उनी भन्छन्, ‘विदेश गइयो भने त केही न केही त होला नि !’

रिश्ता, चेतना, विवश मात्र होइन, विदेश जान कागजात रुजु गराउन वैदेशिक अध्ययन अनुमति पत्र शाखामा लाइन लागेकाहरूलाई सोध्यो भने कि त रोजगारी नभएर कि भविष्यको खोजीमा विदेश जान लागेको बताउँछन् ।

किनकि युवा पुस्तामा निराशामा छ । १० वर्ष लामो सशस्त्र विद्रोह र दोस्रो जनआन्दोलनको बलमा व्यवस्था परिवर्तन भयो । संविधानसभाले ८ वर्ष लगाएर नयाँ संविधान जारी गरेको पनि ८ वर्ष भइसक्यो, तर अवस्था फेरिएको छैन ।

राजनीतिक अस्थिरता कायमै छ, शैक्षिक संस्थाहरूमा हुने राजनीति उस्तै छ, अनि रोजगारीका अवसरहरू सृजना हुनसकेका छैनन् । रोजगारीको अवसर सृजना हुन नसक्दा युवा पुस्तामा विदेश जाने होड नै चलेको छ ।

त्यही होडमा छन् आईटीमा स्नातक गरेका धादिङका विकल श्रेष्ठ (२८) । यो वर्ष नभए अर्को वर्ष राम्रो होला कि भन्ने आशमा सात वर्ष बित्दा पनि आफूलाई खर्च जुटाउन बाहेक केही नभएपछि बेलायत जाने निर्णयमा पुगेको उनले सुनाए ।

उनी भन्छन्, ‘यहाँ काम नै पाइँदैन, पाएकाले पनि थोरै तलबमा काम गर्नुपरेको छ । त्यसैले धेरै विदेश जान खोजिरहेका हुन्, त्यसमध्ये म पनि एक हुँ ।’

भर्खरै स्टाफ नर्सको पढाइ पूरा गरेकी ज्योति बोहरा यहीं जागिर गर्ने सोचमा थिइन् । तर नर्सले पाउने तलब सुनेपछि भने विदेश नै जाने निर्णयमा पुगेकी छिन् ।

‘कतै आठ हजार रे कतै १०, कतै १२ हजार मात्रै दिन्छौं भन्छन्’ क्यानडा जान लागेका भाइको कागजात रुजु गराउन वैदेशिक अध्ययन अनुमति पत्र शाखामा पुगेकी ज्योति भन्छिन्, ‘नर्स पढ्दा १२ लाख बढी खर्च भयो, त्यति तलब खाएर कहिले खर्च उठाउनु, कहिले कमाउनु ?’

क्यानडामा कामसँगै पीआर पाउन सहज हुन्छ भन्ने सुनेकी उनी २३ असारमा दिएको लाइसेन्स परीक्षाको नतिजा आएपछि प्रक्रिया अगाडि बढाउने सोचमा छिन् ।

कागजात रुजु गराउन छोराछोरीलाई वैदेशिक अध्ययन अनुमति पत्र शाखा, भक्तपुरमा पुग्ने अभिभावकहरू पनि रोजगारीको अवसर नहुँदा युवाहरू विदेश जाने गरेको बताउँछन् ।

सिभिल इन्जिनियरिङ पढेका छोरालाई स्नातकोत्तर पढ्न अष्ट्रेलिया पठाउने तयारीमा रहेका राजाराम केसी भन्छन्, ‘मुख्य त अवसर नै पाउँदैनन् । अहिले पढेका बच्चाहरू धेरै छन्, अवसर छैन अनि बाध्य भएर जान्छन् । पश्चिमा प्रभावले पनि काम गरेको होला ।’

बढ्दोछ विदेशिने संख्या

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन शाखाको तथ्यांकले पनि हरेक वर्ष वैदेशिक अध्ययनमा जानेको संख्या बढिरहेको देखाउँछ ।

वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) शाखाको तथ्यांक अनुसार २९ पुस २०७७ देखि १६ पुस २०७८ सम्म (२०२१ जनवरीदेखि डिसेम्बरसम्म) ४४ हजार ८१२ जनाले एनओसी लिएका थिए । त्यो वर्ष सबभन्दा बढी ११ हजार ७११ जनाले जापान जान एनओसी लिएका थिए ।

अष्ट्रेलियाका लागि ८ हजार ६८० जना, अमेरिकाका लागि ४ हजार २८७ जना, क्यानडाका लागि ४ हजार १८४ जना र संयुक्त अधिराज्य (यूके) का लागि ४ हजार ५१५ जनाले एनओसी लिएका थिए ।

अर्को वर्ष यो संख्या झण्डै ४४ ले प्रतिशत बढ्यो । १७ पुस २०७८ देखि १६ पुस २०७९ सम्ममा १ लाख २ हजार ५०० जनाले वैदेशिक अध्ययनमा जान अनुमति लिए । यो वर्ष अष्ट्रेलियाका लागि मात्रै ६६ हजार ८०२ जनाले एनओसी लिएका थिए ।

१११ देशका लागि एनओसी आवेदन परेकोमा सबभन्दा बढी अष्ट्रेलियाका लागि ३३ हजार ९९१ जनाले एनओसी लिएका छन् । क्यानडाका लागि २१ हजार ५४४ जना, जापानका लागि २१ हजार ६५८ जना र यूकेका लागि १० हजार ५२७ जनाले एनओसी लिएका छन् ।

अमेरिकाका लागि ५ हजार १२० जना, क्यानडाका लागि ११ हजार ३२ जना, जापानका लागि १६ हजार १५७ जना र यूकेका लागि ७ हजार ६२७ जनाले एनओसी लिएका थिए ।

२०७७ साल भदौदेखि अनलाइन आवेदन लिन थालेको शाखाले सुरुको दुई वर्ष अंग्रेजी महिना अनुसार तथ्यांक तयार पारेको थियो । तर पछिल्लो समय आर्थिक वर्ष अनुसार विवरण राख्न थालिएको छ, । जसअनुसार आर्थिक वर्ष २०७९/८० मा १ लाख १० हजार २१७ जनाले एनओसी लिएको शाखा प्रमुख वासुदेव वस्ती बताउँछन् ।

१११ देशका लागि एनओसी आवेदन परेकोमा सबभन्दा बढी अष्ट्रेलियाका लागि ३३ हजार ९९१ जनाले एनओसी लिएका छन् । क्यानडाका लागि २१ हजार ५४४ जना, जापानका लागि २१ हजार ६५८ जना र यूकेका लागि १० हजार ५२७ जनाले एनओसी लिएका छन् ।

पूर्व शिक्षामन्त्री शिशिर खनाल युवालाई नेपालमा रोजगारीको अवसर दिन नसक्दा विदेशिनेको संख्या बढेको स्वीकार गर्छन् । ‘एकातिर उच्च शिक्षाको गुणस्तरप्रति विश्वास घट्दो छ भने पढिसकेपछि पनि रोजगारीको अवसर देखिदैन’ खनालले भने, ‘नेपालमा पढेर भविष्य सुरक्षित बनाउन सकिन्छ भन्ने वातावरण तयार नहुँदा विद्यार्थीमा निराशा छाएको देखिन्छ ।’

ठीक विपरीत विदेशमा पढ्दै काम गर्दा पनि आम्दानी गर्न सक्ने र पढिसकेपछि योग्यता अनुसार काम पाउने अवसर हुने भन्दै उनले भने ‘अहिलेदेखि बाहिर गयो भने भविष्य सुरक्षित हुन्छ भन्ने भावनाले प्रेरित भएको देख्छु ।’

शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला पनि आशा जगाउनेभन्दा बढी निराशा छर्नेहरू धेरै भएकाले पनि युवा पुस्ताले यहाँ भविष्य नदेखेको बताउँछन् । विद्यार्थीलाई सम्भावना देखाइदिने, सम्भव बनाउने उपाय बताइदिने नहुँदा विदेशिएको उनको तर्क छ ।

भन्छन्, ‘उनीहरूलाई आशा जगाउने कोही पनि भएन । कन्सल्टेन्सी, पत्रकार, प्राज्ञिक, नेता भनाउँदाले केही छैन भनेपछि किन बस्छन् उनीहरु ?’

रमिते सरकार

वैदेशिक अध्ययनमा जाने विद्यार्थीको संख्यासँगै नेपालबाट बाहिर जाने रकम पनि बढेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा २४ अर्ब ९६ करोड रुपैया विद्यार्थीका कारण विदेशिएको थियो ।

आव २०७८/०७९ मा यो रकम बढेर ६७ अर्ब ७० करोड पुग्यो । आव २०७९/८० को ११ महिनामा ८९ अर्ब १८ करोड रुपैया  बाहिरिएको छ । यसले प्रत्यक्ष रूपमा नेपालको अर्थतन्त्रलाई प्रभाव पारेकै छ ।

विदेश जाने बढ्दो संख्याको प्रभाव योभन्दा धेरै विस्तारित हुने बताउँछन्, त्रिवि मानवशास्त्र केन्द्रीय विभाग प्रमुख डम्बर चेम्जोङ । उनका अनुसार अध्ययनका लागि विदेशिनेको संख्या बढ्दै जाँदा सामाजिक मूल्य-मान्यतामा समेत प्रभाव परिरहेको छ । अभिभावकमा आफ्ना छोराछोरीलाई विदेश पठाउनैपर्छ, पठाउन सकिएन भने प्रतिष्ठामै प्रश्न उठ्छ भन्ने सोच बढ्दै गएको छ ।

नेपाली समाजभित्र आर्थिक, शैक्षिक, राजनीतिक, सामाजिक हरेक हिसाबले प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति विद्यार्थीका रूपमा पलायन भइरहेको र उनीहरू फर्केर आउनसक्ने सम्भावना न्यून भएकाले समग्र क्षेत्र प्रभावित हुने उनको विश्लेषण छ ।

चेम्जोङले भने, ‘अहिले यहीं पनि राम्रो गरिरहेकाहरू थप राम्रो अवसरको खोजीमा र राम्रो पढिरहेकाहरू यहाँ भविष्य नदेखेर विदेशिइरहेका छन् । यसले भोलि हामी दक्ष जनशक्तिविहीन हुने अवस्था समेत आउन सक्छ ।’

एनओसी शाखा प्रमुख वासुदेव वस्ती अब पनि युवालाई देशमै रोक्ने वा अध्ययनका लागि गएकालाई फर्काउने वातावरण नबनाए देशले ठूलो क्षति व्यहोर्नुपर्ने स्थिति आउने बताउँछन् ।

विश्वविद्यालयले उत्कृष्ट भन्दै विभिन्न पदवीले विभूषित गर्ने, तर त्यस्ता जनशक्तिको ज्ञान, सीपलाई सम्बन्धित क्षेत्रमा उपयोग नगर्दा युवामा निराशा बढेको उनी बताउँछन् । ‘अहिले गएकाहरूको शैक्षिक योग्यता र क्षमता हेर्नुस्, पढेर केही गर्नुपर्छ भन्ने युवा विदेश गइरहेका छन्’ वस्ती भन्छन्, ‘सकेसम्म उनीहरूलाई रोक्न रोजगारीको सिर्जना गर्नुपर्छ । कम्तीमा सम्बन्धित विषयमा दक्ष व्यक्तिलाई उम्किन नदिने खालको योजना बनाउनुपर्छ ।’

‘वैदेशिक अध्ययनको बहानामा बर्सेनि लाखौं युवा विदेशिनुबाट चिन्तित भन्दा पनि खुशी देखिन्छ सरकार’ उनी भन्छन्, ‘रेमिट्यान्सबाट पैसा कमाएँ वा सेवा सहज बनाएकैले यति युवा वैदेशिक अध्ययनमा जान पाइरहेका छन् भनेर फूर्ति लगाउने स्थिति छ । विदेशिएका युवाबाट के लिने भन्ने चिन्तन छैन ।’

तर सरकारले भने वैदेशिक अध्ययनमा जाने युवालाई रोक्न कुनै पहल नगरेको सरोकारवालाहरू बताउँछन् । बरु वैदेशिक अध्ययनमा जाने संख्या बढेको कुरालाई गर्वको रूपमा लिएको शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला बताउँछन् ।

‘वैदेशिक अध्ययनको बहानामा बर्सेनि लाखौं युवा विदेशिनुबाट चिन्तित भन्दा पनि खुशी देखिन्छ सरकार’ उनी भन्छन्, ‘रेमिट्यान्सबाट पैसा कमाएँ वा सेवा सहज बनाएकैले यति युवा वैदेशिक अध्ययनमा जान पाइरहेका छन् भनेर फूर्ति लगाउने स्थिति छ । विदेशिएका युवाबाट के लिने भन्ने चिन्तन छैन ।’

उनका अनुसार सरकारले गएकाहरूबाट पैसासँगै ज्ञान, सीप, प्रविधि भित्र्याउन सक्नुपर्छ भने नयाँ जानबाट रोक्ने उपाय खोज्नुपर्छ । कोइराला भन्छन्, ‘उनीहरूले कमाएको पैसा उतै खर्च गर्ने, ज्ञान, सीप उतै लगानी गर्ने क्रम बढिरहेको देखिन्छ । सरकारको यही पारा हो भने गएकाहरूबाट कुनै पनि लाभ लिन सक्दैनौं ।’

पूर्व शिक्षामन्त्री शिशिर खनाल पनि अध्ययन गर्न विदेश जानेको संख्या बढ्नुको कारण पत्ता लगाएर सम्बोधन गर्नुको साटो जान अप्ठ्यारो बनाएर रोक्नतर्फ सरकारको ध्यान गएको बताउँछन् ।

भन्छन्, ‘समस्या के छ ? किन विदेशिनेको संख्या बढ्यो भन्दा एनओसी लिन गाह्रो बनाएर रोक्नतर्फ ध्यान गएको देखिन्छ ।’ त्रिभुवन विश्वविद्यालयलाई तत्काल सुधार गर्न सकिएन भने वैदेशिक अध्ययनमा जाने विद्यार्थीको संख्या झन् बढ्दै जाने बताउँछन् खनाल ।

एउटा विद्यार्थीको रूपमा त्रिविमा हुने गतिविधिलाई मिहिन रूपमा हेरियो भने पनि विद्यार्थी किन निराश छन् अथवा हाम्रो उच्च शिक्षालाई उनीहरुले किन विश्वास गर्न सकिरहेका छैनन् भन्ने स्पष्ट हुने उनको तर्क छ ।

‘तुरुन्तै राजनीतिक दलहरूले त्रिविलाई राजनीतिक नियुक्ति गर्ने ठाउँ बनाउन रोक्नुपर्छ’ उनले भने, ‘हाम्रो उच्च शिक्षा सैद्धान्तिक भइरहेको छ । त्यसले अनुसन्धान र बजारको मागसँग जोड्न सकिरहेको छैन । त्यसैले बढी ‘प्राक्टिकल’ बनाउनुपर्छ ।’

सिकाइलाई सैद्धान्तिकसँगै प्रयोगात्मक बनाउन सके मात्रै ‘नेपाली विश्वविद्यालयको उत्पादनसँग सीप छैन’ भन्ने रोजगारदाताको गुनासो कम हुने र नेपालमा सम्भावना छ भनेर देखाउन पनि सहयोग पुग्ने खनालको विश्लेषण छ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?