+
+

नेताजीहरू हो ! साहित्यमा आउनुस्, स्वागत छ !

लोकतन्त्र र स्वतन्त्रता केवल लोकतन्त्र र स्वतन्त्रताकै लागि हो कि यही बाटो हुँदै समृद्धि ? अनिश्चित भविष्य बोकेर चौबाटोमा उभिएको एउटा तन्नेरीलाई नेपाली राजनीतिले के जवाफ दिन्छ ?

डा. नवराज लम्साल डा. नवराज लम्साल
२०८० साउन ३ गते ८:००

कार्यक्रम थियो चिजकुमार श्रेष्ठको पुस्तक विमोचन । प्रमुख अतिथि थिए कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा । कुरा किताबको थियो । आवरण साहित्यको तर पूर्ण राजनैतिक कार्यक्रम । यसो हुनुको कारणः चिजकुमार श्रेष्ठ पुराना राजनीतिकर्मी हुन् । उनले २०४८ र २०५१ मा दुई पटक कांग्रेसको चुनावी टिकट पाए । दुवै पटक पराजित भए ।

२०३७ सालमा जनमतसङ्ग्रह हुँदा बहुदलको प्रचारप्रसारका निम्ति गठित जिल्ला समिति धादिङका उनी संयोजक थिए । उनैले अगुवाइ गरेर बीपी कोइराला र गणेशमान सिंहलाई धादिङ पुर्‍याए र कुनै दिन गिरिजाप्रसाद कोइरालालाई नुवाकोटबाट धादिङको विकट बस्ती किन्ताङ हुँदै हिंडाएर धादिङबेंसी ल्याए र ट्याक्टर चढाएर मलेखु ओराले ।

धेरैलाई कांग्रेस बनाए तर आफैंले बनाएको कांग्रेस उनी आफैंलाई काम लागेन, उनले दुई पटक चुनाव हारे । उनको किताबमा अधिकांश यही र यिनै कथा छन् । यो उनको आत्मसंस्मरणात्मक आलेखन हो । यो कार्यक्रम काठमाडौंको थियो ।

अब अरू दुई कार्यक्रमको समेत प्रसङ्ग जोडौं ।

केही दिनअघि चितवनमा यस्तै एउटा विमोचन कार्यक्रम थियो । लेखक कैलाश कोइराला र उनको पुस्तक राजव्यूह । यो उपन्यास हो । विमोचनको मञ्च राजनीतिकर्मीहरूले भरिभराउ थियो । कोइराला आफैं राजनीतिकर्मी । चितवन कांग्रेसको पूर्व उपसभापति र अहिले बागमती प्रदेशका एक नेता ।

झण्डै दशक लामो कीर्तिपुर बसाइ र त्यहाँ लामो समय नेवि संघ एकाइको सभापति । अघिल्लो अधिवेशनमा चितवन कांगे्रसको सभापति पदको प्रत्यासी र पराजित । राजनीतिमा गहिरो हुटहुटी र निकास नदेखिए नदेखिए जस्तो । उनीभित्र दार्शनिक चेत र अध्ययनको आधार भने अलि बढी नै देखिने ।

उनले उपन्यास लेखे । त्यही उपन्यासको विमोचन कार्यक्रम । त्यहाँ साहित्य कम, राजनैतिक चर्चा अलि बढी । चितवनका सबै पार्टीका ‘भेट्रान’ भनिएकाहरू र प्रदेशका सांसद र मन्त्रीको समेत उपस्थिति । त्यसैका लागि मकवानपुरदेखि इन्द्र बानियाँ समेत आएका । उनी पनि किताबमै शीतलता खोज्दैछन् कि जस्तो ।

डा. नवराज लम्साल

नेताहरूले वचनको पालना गरेको भए अघिल्लो प्रदेश संसदबाटै बानियाँ मुख्यमन्त्री हुन्थे र उनैका अनुसार उनले टिकट दिएर सघाएकाहरूले मात्रै सघाइदिएको भए उनी पनि बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता हुन्थे । यसो हुनु भनेको वैटिङ मुख्यमन्त्री तर त्यसो हुन सकेन ।

उनले नदेखाए पनि उनी भित्री तहमा एक प्रकारको आहत बोकेरै विमोचनमा मिसिन आएका थिए कि जस्तो लाग्ने । विमोचन समारोहको संयोजन गरिरहेका सम्पूर्ण किताबका लेखराम सापकोटाले पहिल्यै खुसुक्क भनेका थिए, ‘यो साहित्यिक कार्यक्रम हो तर नेताहरूको बाक्लो उपस्थिति हुनेछ । तपाईंले अलि लामै र साहित्यिक कुरा गर्नुपर्नेछ ।’

भयो पनि त्यस्तै । समालोचक उदय अधिकारीबाहेक सबै वक्ता राजनीतिकर्मी ।

लेखक कैलाश कोइरालाजी युवामाझ तुलनात्मक रूपमा बढी लोकपि्रय । उत्साही र अध्ययनशील । सभापति हारे, चुनावमा टिकट मिलेन । भाइ पुस्ताले औपचारिक कार्यक्रमअघि नै एअरपोर्टदेखि कार्यक्रमस्थलसम्म उनकै विषयमा मलाई जानकारी गराइरहेका थिए । कारण कोइरालाजीसँग मेरो यो भेट पहिलो थियो ।

चर्चित कथा संगालो कुमाता र मोम्चोका लेखक वसन्त पराजुलीले सुनाएका थिए, दाजु विकास कोइरालाको विद्रोहको छायामा परे कैलाश । फलाना दाइको भाइ भनियो । यो कोणबाट चाहिं उनीमाथि अन्याय नै भएको हो । न्याय अन्यायको यही शून्य जस्तो समयलाई चिरेर उनी लेखनमा आएका हुन् ।

उनका पिताजी मनोहरि कोइराला पञ्चायत विरोधी आन्दोलनमा थिए । त्यहीबेला एउटा राजनीतिक समूहले उनको घर जलाइदियो । हुर्कंदै गर्दा बालादिनमा बेघर जस्तो भएर हुर्के कैलाशहरू । फरक-फरक दलमा रहेका जिल्लाका अरू नेताहरू पनि भनिरहेका थिए- लेखनले लामो समय बचाउँछ । कैलाश लेख्न नछोड्नू । प्रश्न अनुत्तरित थियो ।

आजको राजनीतिमा संवेदना हराउँदै गएको छ । तपाईंको हृदयबाट हराउँदै गएको त्यो संवेदना फेरि फर्काउने हो भने संवेदनाकै फूलबारीमा आउनुस्, साहित्यमा आउनुस् नेताहरू हो, तपाईंहरूलाई अक्षर अक्षरमा स्वागत छ

राजनीतिले किन मान्छेलाई बचाउँदैन वा राजनीति गरेर इतिहासमा बाँचिन्छ भन्ने विश्वास किन मर्दै गएको छ ? चिजकुमार श्रेष्ठले आफ्नो कथा आफैं लेखेझैं उपन्यासको बाटो भएर पिता पुस्ताको दुःखसुख र आफ्नै पुस्ताको राजव्यूहको सन्दर्भलाई कैलाशले आख्यानीकरण गरेर सुरक्षित गरेका छन् तर उनलाई त्यही पार्टीको मूल ढड्डामा पिताजीको इतिहास सुरक्षित होला जस्तो लाग्दैन ।

उनका अशक्त पिताजी त्यस दिन छोराकै पुस्तक विमोचनमा समेत आउन सकेनन् । आमा पनि बिरामी पतिलाई औषधि खुवाउन भनेर कार्यक्रमको बीचैबाट उठेर गइन् । त्यसपछि भने कोइरालाले झन् शून्य महसुुस गरे ।

अर्को प्रसङ्ग त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको । विद्यार्थीमाथि जबर्जस्त एउटा आरोप छ, यी उद्दण्ड छन् । अराजक छन् । प्राध्यापक कुट्छन् र पुस्तकालयमा आगो लगाउँछन् । सबै विद्यार्थी त्यस्ता छैनन् तर यी सिर्जनशील छैनन् वा हुँदैनन् भन्ने आरोप पुरानै हो ।

केही हदसम्म यी आरोपको खण्डन हुने गरी स्ववियुले भानुजयन्तीमा खुला कविता प्रतियोगिता आयोजना गर्‍यो । पहिलो चरणबाट छनोटमा परेका २० जना कविले दमदार कविता सुनाए । कवितामा समयको स्वर भनेर कवितामाथि मज्जाको बहस चलाए ।

विद्यार्थी युनियनले आयोजना गरेको कवितामाथिको बहस । निकै सिर्जनशील देखियो, सुनियो । स्ववियुले संस्कृत, अङ्ग्रेजी र नेपाली केन्द्रीय विभागका प्राध्यापकहरूसँग अन्तरघुलन गर्‍यो । विचार प्रवाह गर्‍यो र तन्नेरीहरूलाई सोचको एउटा नयाँ बाटो देखायो ।

स्ववियु सभापति श्यामराज ओझाले भने, ‘वर्तमानमा साहित्यले उठाइरहेका मुद्दा कस्ता छन्, ती मुद्दा र नेपाली राजनीतिबीच कति समता छ, कति विषमता छ ? हामी जान्न चाहन्छौं र हाम्रा साथीहरूलाई सिकाउन चाहन्छौं ।’

माथिका तीन प्रसङ्गलाई जोडेर हेरौं । चिजकुमार श्रेष्ठलाई जीवनका आरोह-अवरोह सुनाउन किताब चाहियो । कैलाश कोइराला पोखिन किताब चाहियो र विद्यार्थी पुस्ताका नेताहरू साहित्यकारबाटै सुन्न चाहन्छन् कि साहित्यमा समयको मुद्दा कस्तो छ र समयको स्वर के छ ?

श्रेष्ठ पञ्चायत विरुद्ध लडेको पुस्ता, कोइराला २०४६ पछि राजनीतिमा निस्केको पुस्ता र ओझा वर्तमानको समयस्वर पक्रेर भविष्य उठाउन खोजेको पुस्ता । यस आलेखमा यही तीन कार्यक्रम छान्नुको कारण पनि तीन पुस्ताको कुरा गर्नु हो ।

केही सन्दर्भ पुराना दिनका

वर्तमानमा लेखिएकै छ कस्तो छ ? समयको स्वर कसरी उठेको छ र लेखक अघिअघि र लेखकीय चेतना सहित समाज पछिपछि छ कि समाजले तानेकै रथमा लेखकहरू सवार छन् ? यो फरक समालोचकीय कुरा हो तर मूल कुरा राजनीति र साहित्य कसरी जोडिन्छ भन्ने हो । राजनीतिले साहित्यकारलाई आजसम्म दुरुपयोग मात्रै गर्‍यो र कलाकार साहित्यकारहरूले राजनैतिक जमातलाई सदुपयोग गर्न सकेनन् । किन त ? उत्तर खोजिएकै छैन ।

२०६२/६३ को आन्दोलनमा ठूला नेताको भाषण सुन्नभन्दा कलिलो रुविन गन्धर्वको कसिलो गीत सुन्न मान्छेहरू आउँथे । २०३६/३७ मा बहुदलवादीको चुनावी सभाको रौनकमा सडक कविता आन्दोलनको चमक थियो । २०४६ को स्रष्टा आन्दोलनको सुन्दरता सिर्जना चैत ३ वा स्रष्टा चैत ३० संस्थागत रूपमा सम्झनामै छ ।

रामेश, रायन, मञ्जुल र जीवन शर्माहरूले गाएका गीतको दम तत्तत समयको भाषणभन्दा निकै माथि थिए । गाउँगाउँबाट मान्छे कति उठे, बस्ती बस्तीबाट कति उठे तर ती स्वरले गाउँ बस्ती तरङ्िगत पारेकै हो ।

२००४ कै जयतु संस्कृतम् आन्दोलनमा संस्कृतका विद्यार्थीले सडकमा भने,

‘के नेवार र पर्वतीयहरू के च्यामे र के ब्रहृमण

हामी हौं सब एक हामीहरूको नेपाल साझा धन ।’

यही भनाइलाई राजनैतिक लिपिमा उतार्न झण्डै सात दशक लाग्यो । मकै पर्व, लाइब्रेरी पर्व आदि हुँदै राल्फा, अस्वीकृत जमात, सिर्जनशील अराजकता, चक्रव्यूह संचेतना, रंगवाद, मुक्त अभियान आदि सन्दर्भ इतिहासको सशक्त पाटो हो । तत्तत समयका स्रष्टाले चरम दुःख पाए तर तिनकै कर्महरूले समाज ब्युँझाए, चेतना फैलाए र दलहरूले त्यही फैलिएको चेतनाको आलोकमा सत्ताको बल्छी हाने तर नेपाली राजनीति भने साहित्यिक संस्कृति र सांस्कृतिक चेतको राजनैतिक अर्थबोध गर्न भने चुक्दै आएको छ । यसरी चुक्दै आएको छ र त राजनीतिप्रति चरम निराशा र घृणा बढेको छ । दल र तिनका नेताको मुखमा घृणाका छिटा मिसिए जस्तो लाग्छ ।

निष्ठावान् नेताहरूलाई पनि पटके नेता र च्याखे राजनीतिकर्मीले ओझेलमा पारेका छन् । नेताहरू आफैं तिल-चामल भएका छन् । उदेकलाग्दो कुरो त तिल जस्ता चामल जस्ता देखिन्छन् र चामल जस्ता तिल जस्ता !

समयको स्वर र लेखन

पृथ्वीनारायण शाहको एकीकरण अभियान चल्दा नेपाली कविताको स्वरमा वीररस थियो । सुगौली सन्धिपछि निराश जनता पङ्ितलाई नेपाली कविताले भक्तिधारातर्फ आकषिर्त गर्‍यो । त्यही बेला हो रामभक्तिमा भानुभक्तले रामायण लेखेका ।

राणाको दबदबा चलिरहँदा र मकै पर्वको घटनासम्म आइपुग्दा समाज र राजनीति लेख्न नपाएका कविले शृङ्गार लेखे । शृङ्गारिक कविताधारा खूब चल्यो । २००७ पछिको खुकुलोपन खोसिएपछि २०१७ पछि अमूर्त कविता युग जन्म्यो, जसले जे पढ्यो त्यही बुझे हुने जस्तो । यसरी समय र समाजभन्दा पर साहित्य छैन र थिएन ।

संवेदना गुमाएर लेखिएका अक्षरका चाङ साहित्य हुँदैन तर अहिलेको मूल स्वर के हो त ? अहिलेको संवेदना के हो र समय कुन बाटोमा हिंडिरहेछ ? देशको बहुलता र देशकै चिनारीमा हामी कसरी पोखिएका छौं ? यी कुरा साहित्यकार र समाजका चेतनधारी सबैले थाहा पाइदिए राज्यको मूलप्रवाहलाई समेत काम लाग्न सक्छ ।

आजको समयस्वर

आज संगत र विसंगतको दोभानमा छ समय । निराशा बढी र आत्मविश्वास कम छ । बिहान उठ्ने बित्तिकै टेक्ने धर्ती फोहोर हुँदै गएको छ । बिहानै पिउने पानी र बालबालिकाले खाने दूधमा मिसावट छ । खाद्यान्नमा मिसावट छ । तरकारी र फलफूल विषादीयुक्त छन् । मानवीय सम्बन्धहरू कमजोर भएका छन् र एउटा मान्छे अर्कोसँग विरोधाभासपूर्ण सम्बन्ध राख्छ ।

नागरिकलाई राज्य लोककल्याणकारी भएको महसुुस छैन र वितरण पनि न्यायिक छैन । नागरिकको अभिभावक हुनुपर्ने राज्यको अंग आफैं सेटिङ मिलाएर नागरिकलाई अनागरिक बनाउँछ । भ्रष्टाचारको प्रसङ्ग उठ्दा ठूला-ठूला दलका ठूलै नेतासम्म भुइँचालो पुग्छ । उत्पादन घट्दै र बेरोजगारी बढ्दै छ ।

हरेक परिवर्तनमा कला, गला र सिर्जना लिएर उभिएकाहरू बेखबर छन् र राज्यका सबै तह बाह्रमासे राजनीतिकर्मीकै नियुक्तिले भरिएको छ र एउटा मन्त्री मञ्चमा पुगेर भाषण गर्दा ऊ आफैं मन्त्री भएर बोलिरहेको छ कि कुनै आन्दोलन वा विद्रोहकै मोर्चामा बोलिरहेछ ऊ स्वयंलाई हेक्का छैन । वातावरणको क्षेत्रमा निराशाका सूचकहरू खतराको छेउमै पुगिसके । कवितामा समयको स्वर खोज्ने विद्यार्थीहरू हो, यही हो समयको स्वर ।

उत्तर बाँकी रहेका प्रश्नहरू

कैलाश कोइरालाको राजव्यूह विमोचनमा उनलाई धेरैले प्रश्न गरे साहित्यमा लागेर राजनीति छोड्ने हो कि ? कैलाशले त छोड्छु भनेकै छैन तर नेपाली राजनीतिले कैलाश पुस्तालाई बाटैमा छोडेर अर्कै ढङ्गले हिंड्यो भने कैलाशले मात्रै समातेर समातिन्छ कि समातिन्न ? चिजकुमार श्रेष्ठहरूको पुस्ताको सङ्घर्षपछि चिजकुमारहरूले के पाए पाएनन्, त्यो छोडौं । उनीहरूले स्वतन्त्रता पाए तर तिनका आफ्नै छोराछोरी पुस्ताले के पाए ? उत्तर सजिलो छ, लोकतन्त्र पाए, स्वतन्त्रता पाए ।

लोकतन्त्र र स्वतन्त्रता केवल लोकतन्त्र र स्वतन्त्रताकै लागि हो कि यही बाटो हुँदै समृद्धि ? अनिश्चित भविष्य बोकेर चौबाटोमा उभिएको एउटा तन्नेरीलाई नेपाली राजनीतिले के जवाफ दिन्छ ? मेरो अमूक पार्टीको कार्यकर्ता बन भन्छ कि जीविकाको बाटो देखाउँछ ? जीवन रहे न राजनीति गर्ने हो ।

आजभोलि मनमा जबर्जस्त एउटा प्रश्न आइरहेछ । दुई तिहाइ मतका साथ निर्वाचित प्रधानमन्त्री बीपी कोइराला ८ वर्ष जेल बस्दा उनको राजनीतिक सपना किन लेखेनन् ? उनले नै भन्ने गरेको प्रजातान्त्रिक समाजवादको व्याख्या गरेर किताब किन लेखेनन् ? उनले बनाउन चाहेको नेपाल कस्तो हो ? उनको सपनामा नेपालको कस्तो समृद्धि र सुन्दरता थियो होला, किन लेखेनन् र बाबु आमा र छोरा जस्ता उपन्यास लेखेर किन बसे होलान् ?

उत्तरकै लागि त धेरै उत्तर भेला पार्न सकिएला तर उनको राजनैतिक चिन्तन मजाले खुल्ने गरी एक पुस्तकको अभाव त सत्य हो नि ! बीपी हामीबीच छैनन्, उनलाई सोध्न सकिने कुरा भएन तर सोध्न सकिने भनेको उनकै पार्टीका नेताहरूलाई न हो ।

संयोगले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा प्रमुख अतिथि रहेकै कार्यक्रममा पुस्तकको समीक्षा गर्दै गर्दा यस पङ्तिकारले एउटा प्रश्न गर्‍यो, ‘महामन्त्रीजी बीपीले कुनै कुरामा द्विविधा भए एक मुठी माटो उठाएर सोध्नु माटोले जे भन्छ, त्यही गर्नू भनेथे तर आज उठाउने माटो कुन हो ? बालेनले बढारेको सडकको धुलो हो कि ? कंक्रिटको जंगलमा सिमेन्ट मिसिएको माटो ? अम्लीय माटो हो कि मूल सुकेर खरानी भएको माटो ? कि तपाईंकै पार्टीका कार्यकर्ता झैं दुःखले जेनतेन बचेको सुदूर गाउँको त्यो बूढो पीपल वृक्षको फेदको माटो ?’

कार्यक्रममा अरू धेरै प्रश्नको उत्तर दिनुपरेका कारण महामन्त्रीजीले यस प्रश्नको भने उत्तर दिन भ्याएनन् ।

चिजकुमार श्रेष्ठ, कैलाश कोइराला र श्यामराज ओझाहरूलाई पनि समयले यही प्रश्न सोधिरहने छ । उत्तर जति मसिनो स्वरमा आए पनि वा आउँदै नआए पनि प्रश्नको स्वर सघन हुनेछ, भइरहने छ । देशप्रति जिम्मेवार भएर लेखे मात्र अक्षरहरू जिउँदा हुन्छन् । जिउँदोपन छातीमा हुन्छ र त्यहींतिर हुन्छ संवेदना ।

आजको राजनीतिमा संवेदना हराउँदै गएको छ । तपाईंको हृदयबाट हराउँदै गएको त्यो संवेदना फेरि फर्काउने हो भने संवेदनाकै फूलबारीमा आउनुस्, साहित्यमा आउनुस् नेताहरू हो, तपाईंहरूलाई अक्षर अक्षरमा स्वागत छ ।

(सञ्चारकर्मी समेत रहेका डा. लम्सालका ३ महाकाव्य सहित ८ पुस्तक प्रकाशित छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?