+
+

धन्यवाद देउवा

बसन्त बस्नेत बसन्त बस्नेत
२०८० साउन ३ गते २१:१४

शेरबहादुर देउवालाई धन्यवाद दिन नपाएको वर्षौं भइसकेको थियो । म चाहन्थें, सालको एकै दिनमात्र भए पनि देउवालाई धन्यवाद दिन पाइयोस् ।

व्यक्ति देउवालाई धन्यवाद दिन नपाए पनि कांग्रेसका सभापतिलाई धन्यवाद भन्न पाइयोस् । वा केही मुद्दा नपाए पनि अहिलेसम्मको सेवाका लागि धन्यवाद, यस्तै केही भन्न पाइयोस् ।

त्यसैले धन्यवाद दिनुअघि म श्री देउवासँग खेद प्रकट गर्न चाहन्छु, यो मौका यतिञ्जेलसम्म नदिएकामा । त्यसपछि त अब धन्यवाद नदिई सुक्खै भएन ।

धन्यवाद देउवा । ताजा वैकल्पिक दलले बैठकमा छिर्नुअघि एकाध पदाधिकारीबाहेक सबै केन्द्रीय सदस्य र सांसदहरुका मोबाइल सेट जफत गरिरहेका बेला तपाईंले कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक नै लाइभ गराउने निर्णय गर्नुभयो । अझ एमाले अध्यक्ष केपी ओलीले अघिल्लो साता पार्टीको बागमती प्रदेश बैठकमा मोबाइल चलाउने कमरेडहरुलाई त्यसो नगर्न निर्देशन नै दिनुपरेको थियो । तलबाट जवाफ आयो, ‘अध्यक्ष कमरेड, तपाईंले बोलेकै कुरा मोबाइलमा नोट गरेको हो ।’

ओली : ‘खोई, के थाहा । फेसबुक चलाएको हो कि नोट गरेको !’ (यो सवालजवाफ पनि लाइभमै हेर्न पाइएको हो, तर ओलीबाहेक अरु बोलेको चाहिँ लाइभ नआउने भएकाले तहाँ उप्रान्त केकसो भो, थाहा नाइँ ।)

विपक्षी दलहरुले मोबाइललाई चिन्ताजनक रुपमा लिइरहेका बेला तपाईं एकाएक कांग्रेस कार्यसमिति बैठक लाइभ गर्ने कदमतर्फ प्रवृत्त हुनुभयो । मलाई थाहा छ, सकारात्मक या नकारात्मक जुनसुकै निर्णय गर्दा पनि तपाईं साथीहरुसँग सल्लाह लिनुहुन्न । त्यसैले यो धन्यवादको एकल हकदार तपाईं, केवल तपाईं हो । गिरिजाप्रसाद कोइरालाको पक्का उत्तराधिकारी हो तपाईं, जसलाई लोकतन्त्रका लागि लड्न आउँछ । (यदाकदा त्यो पनि बिर्सनुहुन्छ, अहिले त्यता नजाउँ) आन्तरिक पार्टी जीवनमा लोकतन्त्रको व्यवहार गर्नेमा चाहिँ तपाईं पनि गिरिजापथमै हुनुहुन्छ ।

तपाईंले बैठक लाइभ गराउने कुरो गर्नुभयो भन्ने सुन्दा सुरुमा मेरा कानले पत्याएनन् । तर जब त्यो कुरो सही प्रमाणित भयो, मैले मेरा आँखालाई पत्याइनँ ।

पत्याउँ पनि कसरी ! हरेक दुई महिनामा बस्नुपर्ने बैठक नै तपाईं एक वर्षमा डाकिदिनु हुन्छ । कम्युनिस्टहरु बैठकमा विश्वास गर्छन् । उत्रो एजेन्डै बेगर पनि बैठक बसेको बस्यै गर्छन् । केही सीप नलागे आलोचना आत्मालोचना खण्डन मण्डन भर्त्सना आदि इत्यादिमा उर्जा खर्चन्छन् । तपाईंको तरिका हेर्दा लाग्छ– कांग्रेस भएपछि सक्किगो नि, केको बैठकसैठक !

तर, कांग्रेसहरु परिआयो भने बैठकसमेत बस्न सक्छन् भन्ने पारामा तपाईंले केन्द्रीय समिति डाकिछाड्नुभयो । पत्नी गुमाएका प्रधानमन्त्री प्रचण्डको शोकमा सहानुभूतिसहित एकपल्ट रोकिने बाहेक अहिले बैठक नियमित छ । सभापतिको विकल्प खोज्नेदेखि महामन्त्रीकै विकल्प खोज्नेसम्मका कडिकडाउ प्रस्ताव छन् । गुटै सही, कांग्रेसभित्र यतिबेला जीवन्त छलफल छ । दुई चार सदस्यले क्यान्डीक्रसको लेभल पुर्याए भन्ने कुरालाई महत्व दिन चाहन्नँ म । कांग्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्ने पार्टी हो भन्ने मलाई थाहा छ ।

बैठकको पहिलो दिन हिजो महामन्त्री गगन थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मासमेतको समर्थनमा संगठन सुधारको मार्गचित्र ल्याउँदैगर्दा हामीले त्यसलाई लाइभ सुन्न पायौं । त्यसमा कांग्रेसमात्रै होइन, समाजकै पुनर्जागरणका लागि केही महत्वपूर्ण प्रस्ताव थिए । हामीले त्यो बेला कांग्रेसको पुनर्जागरणका एजेन्डा लाइभ सुनेका छौं, जुन बेला उसको प्रतिष्पर्धी एमालेले मिसन ग्रासरुट्स चलाएको छ । रास्वपा, जनमत पार्टीहरु आक्रामक रुपमा संगठन विस्तार गर्दैछन् । ०८० को साउन नकट्दै मिसन ०८४ को हल्लाखल्ला तीव्र छ । यस्तो बेलामा कांग्रेस आफ्नो बैठकमा जुटेको छ ।

समाजलाई अग्रगतिमा लैजान जोकसैले योगदान गरे पनि हुन्छ । ती प्रयासहरु वास्तविक होउन्, केवल प्रचारका अंग नहुन् ।

बाँकी त छँदै छ । अरु दल र कांग्रेसमा यति फरक छ, कांग्रेसमा मनग्गे बोल्न पाइन्छ । यति हो, बोलिसकेपछि बोल्नेको हविगत के हुन्छ भन्न सकिन्न । हिजै साँझ बैठकपछि कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई सानेपाको बैठकस्थलमा लगारिछन्, ‘मेरा बारेमा के के बोल्दै हिँड्नुभएको छ ? म देखाइदिन्छु, याद गर्नुस् नि ।’

के गर्ने, जति लाइभ गरे पनि यस्ता दृश्य भने त्यसमा समेटिन गाह्रो छ । तै पनि लाइभ नगरेको भन्दा गरेको कति जाति, जाति ।

सबैलाई थाहा छ, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न भएको आरोप लागेका कांग्रेस नेता बालकृष्ण खाँण देउवा क्याम्पमा थिए । कांग्रेसकै लाइभ हेरेपछि प्रष्ट भयो, देउवा गुटभित्र पनि खाँणको आफ्नै ‘विचार समूह’ रहेछ । तब त मनोनित केन्द्रीय सदस्य लक्ष्मी खतिवडा र राधा घलेले निर्वाचित पदाधिकारीको राजीनामा माग्ने कुरा गरेको सुन्न पाइयो ।

आफ्नै साथी (खाँण) माथि राज्यको ‘अतिचार’ हुँदा टुलुटुलु हेरिबसेको भन्दै विकल्प खोज्नेसम्मका चेतावनी दिएको देख्न पाइयो । धन्न ईश्वर, यो ‘लाइभ’ भन्ने कुरो तिम्रो अहिलेसम्मकै सर्वोत्कृष्ट आविष्कार हो । (पूर्वमहामन्त्री शशांक कोइरालाले धार्मिक राज्यको कुरो गर्न थालेपछि म धेरथोर ईश्वरमा पनि विश्वास गर्न थालेको छु । अब मलाई प्रदीप गिरिले गाली गर्ने सम्भावना छैन । उहाँले महाप्रस्थान गरेपछि कांग्रेसभित्र वैचारिक झुकाव राख्ने समूह शोकसन्तप्त भए पनि धेरै ठूलो तप्का ढुक्क छ । अब विचारलाई लिएर कांग्रेसमा कुनै तनाव छैन)

अनि अर्को कुरा पनि प्रष्ट भयो, पहिले नेताले महाधिवेशन प्रतिनिधि चुन्छन् । त्यसपछि महाधिवेशन प्रतिनिधिले नेता चुन्छन् । अझ मनोनितहरुको ताउरमाउर बेग्लै । भर्खरै तरुण दलका केन्द्रीय सदस्यहरुले घरघरै गएर नेताहरुलाई धन्यवाद दिएको लाइभ हेर्न नपाए पनि तस्वीर हेर्न पाइयो । कहिलेकाहीँ त लाग्छ– कांग्रेस अरु कोही नपाएर लोकतन्त्रसँग प्रतिष्पर्धा गर्छ ।

लाइभ जारी छ । सभापतिज्यू, तपाईं खासै बोल्नुहुन्न, बरु मजाले सुन्न सक्नुहुन्छ । सुन्नु भनेको निकै ठूलो कुरा हो देउवाजी । यो बेग्लै कुरा हो, तपाईं सुनेका कुराहरु लागु गर्नुहुन्न । साह्रै लामो बोल्न थाले भनेचाहिँ रिसाउनु पनि हुन्छ ।

जस्तो कि, ०७४ को आम चुनावपछि त्यसैको चैतदेखि ०७५ वैशाखसम्म कम्युनिस्टलाई बिर्साउने गरी बसेको लम्बेतान बैठकको एक दिन विजय गच्छदार एक्लैले चार घण्टा बोलेका थिए । तपाईंले बीचमा पानी खानुभयो, खोक्नुभयो, उठ्नुभयो, बस्नुभयो । यति गर्दा पनि गच्छदार नरोकिएपछि कराउनुभो, ‘तपाईंको कुरा मैले पहिला पनि सुनिसकेको छु नि । कति बोल्या यार ?’

गच्छदार : ‘तपाईंले मात्रै सुनेर हुन्छ ? अरु साथीहरुले सुन्नुपरेन ?’

तपाईं निरुपाय मुद्रामा गच्छदारलाई सुनिरहनुभयो । आखिर के नै गर्न सकिन्थ्यो, माइक गच्छदारको हातमा थियो ।
हिजोआज त तपाईंले संसदकै जस्तो समयसीमा तोक्नुभएको छ । सात मिनेटमा समय सकिन्छ, एक मिनेटअघि जनाउ घण्टी । सात मिनेटमा नसके माइक काटिन्छ । यो सबै लाइभमै देख्न पाइएको छ ।

त्यसैले विगतमा आफ्ना अनेक गल्तीका बीच पनि तपाईंले एउटा राम्रो कुरा गर्नुभएको छ । बैठक लाइभ गराउने । यसका लागि म तपाईंलाई धन्यवाद दिन चाहन्छु । तपाईं नझुक्किनुहोला, यो व्यंग्य हो कि भनेर । यो साँच्चिकै धन्यवाद हो । नत्र त मलाई विपक्षी दल वा गुटका साथीहरुले देउवाको दलाल भनिदिने खतरा पनि छ । आँशुका कथाव्यथा आकर्षक मूल्यमा बिक्री हुने देशमा हास्यचेतनाले त यसै पनि झ्यालबाट हाम फालिसकेकै छ ।

त्यसैले फेरि एकपटक, हदैसम्म धन्यवाद देउवा । यति भन्दै म आफ्ना दुई शब्द यहीँ टुंग्याउन चाहन्छु ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?