+
+

शिवचन्द्र कुशवाहसहित ५ नेतालाई जनमत पार्टीले गर्‍यो कारबाही

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १०:४४

४ साउन, काठमाडौं । जनमत पार्टीले अनुशासन उल्लंघन गरेको आरोपमा ५ जना नेतालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेहरुमा बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, सप्तरीका शंकर खड्का, रुपन्देहीका भोपेन्द्र यादव र कपिलवस्तुका भगवान दास यादव छन् ।

माओवादी केन्द्र त्यागेर जनमत पार्टीमा प्रवेश गरेका शिवचन्द्र कुशवाहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ । मण्डल, खड्का र यादवलाई एक वर्षका लागि पार्टीको सदस्यबाट र भोपेन्द्र यादवलाई केन्द्रीय सचिवालयबाट ३ महिनाको लागि निलम्बन गरिएको जनमत पार्टीका उपाध्यक्ष एवम् अनुशासन समितिका प्रमुख दीपक कुमार साहले जानकारी दिएका छन् ।

कुशवाह गत उपनिर्वाचनमा जनमत पार्टीमा प्रवेश गरी जसपा अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गरेका थिए । बारा क्षेत्र नं. २ बाट २८ हजार ४१५ मत ल्याएर उपेन्द्र यादव विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कुशवाहाले २३ हजार ३३४ मत पाएका थिए । त्यसअघि २०७९ साल चैत १५ गते कुशवाहलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टीमा स्वागत गरेका थिए ।

अहिले कुशवाहमाथि अनुशासनहिनता प्रदर्शन गर्दै पार्टी र नेतृत्व विरुद्ध लागेको आरोप जनमत पार्टीले लगाएको छ ।

यसैगरी गुलाब मण्डललाई मन्दिर व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको भन्दै र शंकर खड्कालाई विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेको भन्दै कारबाही गरिएको छ ।

भोपेन्द्रलाई केन्द्रीय निर्देशन उल्लंघन गरेको, गर्न लगाएको र गुटबन्दी गरेको आरोप लगाइएको छ ।

यस्तै भगवान दास यादलाई पार्टीका बैठकहरु, कामकारबाहीको क्रममा होहल्ला गर्दै अनुशासनहीनता पटक–पटक प्रदर्शन गरेको भन्दै कारबाही गरिएको जनमत पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?