+
+

भारतमा एनडीए विरुद्ध ‘इन्डिया’ उत्रिने, भाजपाले थाल्यो प्रतिवाद तयारी

बेंगलुरूमा भेला भएर कंग्रेसले २६ पार्टीलाइ समावेश गर्दै इन्डिया गठबन्धको घोषणा गरेको हो । भाजपाविरूद्ध खरो उत्रिनका लागि र भारत र भारतीय जनताको बचाउका लागि इन्डिया गठबन्धनको घोषणा भएको भारतीय कंग्रेसका नेता राहुल गान्धीले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १६:५१

एजेन्सी । आगामी वर्ष भारतमा हुने आम चुनावमा सत्तारुढ भारतीय जनता दल र प्रमुख प्रतिपक्षी भारतीय कंग्रेस नेतृत्वको गठबन्धनबीच भिडन्त हुने भएको छ ।

भाजपाको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)विरूद्ध कंग्रेसले आफ्नो पहलमा प्रतिपक्षी दलहरूलाइ एकीकृत गर्ने अभियान स्वरुप भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन इन्डिया घोषणा गरेको छ ।

बेंगलुरूमा भेला भएर कंग्रेसले २६ पार्टीलाइ समावेश गर्दै इन्डिया गठबन्धको घोषणा गरेको हो । भाजपाविरूद्ध खरो उत्रिनका लागि र भारत र भारतीय जनताको बचाउका लागि इन्डिया गठबन्धनको घोषणा भएको भारतीय कंग्रेसका नेता राहुल गान्धीले बताएका छन् ।

‘भाजपाविरुद्ध खरो उत्रिँदै भारतको अवधारणा र भारतीय जनताको आवाज र हकको रक्षार्थ गठबन्धन घोषणा भएको हो। भारत फेरी एकीकृत हुनेछ र ‘इन्डिया’ विजयी हुनेछ ।’

बेंगलोरमा भएको पहिलो बैठकमा कंग्रेस नेतृत्वको गठबन्धमा १५ पार्टीमात्रै समावेश हुन खोजेका थिए । दोस्रो चरणको बैठकमा संख्या बढेको हो ।

क्षेत्रीय र राष्ट्रिय रूपमा विभाजित प्रतिपक्षी गठबन्धनको हाल लोकसभामा १४३ सिट छ । यो संख्या सत्तारूढ गठबन्धनको भन्दा आधा कम हो ।

गत मार्चमा भारतीय कंग्रेसका नेता राहुल गान्धीले मोदी थरको अपमान गरेको भन्दै उनीमाथि भाजपाका सांसदले फौजदारी मुद्दा दर्ता गरेका थिए । अदालतले तल्लो तहको अदालत र उच्च अदालत दुबैले गान्धीले फौजदारी अभियोग गरेको फैसला गरेपछि उनको सांसद पद गुमेको थियो ।

सत्तारुढ भाजपाले प्रतिपक्षीमाथि ज्यादती बढाउन सक्ने भन्दै भाजपाविरुद्ध प्रतिपक्षी गठबन्धनमा संगठित हुने संख्या बढिरहेको छ ।

इन्डिया गठबन्धनको आधिकारिक वक्तव्यमा भनिएको छ- ‘भाजपाले भारतको गणतन्त्रविरुद्ध बारम्बार व्यवस्थित ढंगले आक्रमण गरिरहेको छ । हामीले संविधानमा निहित भारतको अवधारणाको रक्षा गर्ने संकल्प लिएका छौँ ।’

गठबन्धनले साझा राजनीतिक तथा आर्थिक नीति ल्याउँदै महँगी र बेरोजगारी हटाउन केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरेको छ । अल्पसंख्यकहरू प्रतिको दमनको एजेण्डा, सबैभन्दा ठूलो लोकतन्त्रमा देखा पर्दै गएको लोकतान्त्रिक संकट र सत्तारूढ दलभन्दा पृथक विचारधारा राख्ने माथिको राजनीतिक प्रहार लगायतका एजेण्डाका कारण प्रतिपक्षीहरू भाजपाविरूद्ध संगठित हुन थालेका हुन् ।

‘हामीले सत्तारुढ दलको घृणाको राजनीतिको अन्त्य, अल्पसंख्यहरूप्रतिको अत्याचार, महिलाहरूप्रति बढ्दै गएको दुर्व्यवहार, कश्मिरी पण्डित, आदिवासी, किसान र सबै किसिमको उत्पीडन अन्त्यका लागि एकजुट भएका हौँ,’ उनीहरूको  संकल्पमा भनिएको छ ।

कंग्रेसका नेता राहुल गान्धीले गरेको भारत जोडो अभियानले कंग्रेसप्रतिको सद्धभाव बढेको र कर्नाटकको निर्वाचन परिणामले सत्तारूढ विपक्षी मत बढीरहेको विश्लेषण गर्दै प्रतिपक्षी दल संगठित हुनेक्रम बढेको हो । सुरुवातमा १५ दलले गठबन्धनमा आवद्ध हुनका लागि स्वीकृति दिए पनि हाल त्यो संख्या २६ पुगेको हो ।

यसलाई अझै बढाउने प्रतिपक्षी गठबन्धनको तयारी छ । कंग्रेस नेतृत्वको गठबन्धनमा रहेका २६ दलमा  भारतीय कंग्रेस, आम आदमी पार्टी र तृणमूल कंग्रेस राष्ट्रिय दल हुन् । त्यस गठबन्धनमा १७ वटा क्षेत्रीय दलहरू छन् ।

यस्तै, ६ राजनीतिक दल कतै पनि परिचित छैनन् ।  ती मध्ये १९ दलको लोकसभामा तीन भन्दा कम सिट छ । ११ दल सिटविहीन छन् ।

इन्डिया गठबन्धनमा कुन- कुन दल छन् ?

भारतीय कंग्रेस नेतृत्वको गठबन्धनमा तृणमूल कंग्रेस, आम आद्मी पार्टी, द्रविदा मुन्नेतेरा कजागम(डीएमके) जनता दल युनाइटेड, राष्ट्रिय जनता दल, झारखण्ड मुक्ति मोर्चा, नेशनलिस्ट कंग्रेस, शिवसेना (युबिटी), समाजवादी पार्टी, राष्ट्रिय लोक दल छन् ।

यस्तै, अपना दल (कमेरावाडी), जम्मु कश्मिर नेशनल कन्फ्रेन्स, पिपल्स डेमोक्रेटिक पार्टी, कम्युनिस्ट पार्टी अफ इन्डिया, रिभोलुस्नरी सोसियालिस्ट पार्टी, अल इन्डिया फर्वाड ब्लक, विद्युताथली चिरूथागेल काची, कोन्गुनाडु मक्कल डेसिया कची छन् । त्यस गठबन्धनमा कम्युनिस्ट पार्टी अफ इन्डिया, मनिथानेया मकल कचि, इन्डियन युनियन मुस्लिम लिग, केरला कंग्रेस, केरला कंग्रेस (जोसेफ) छन् ।

 भाजपा पनि एनडीए व्युत्याउँदै

यसपटक भाजापाले सत्तारूढ विपक्षी मत बढ्दै गएको बुझेको छ । कर्नाटक र हिमाञ्चल प्रदेशको  चुनावलाई उसले यही रूपमा बुझेर चुनावी रणनीति  फेरबदल गर्न खोजेको छ । भाजपाले मोदीलाइ तेस्रोपटक प्रधानमन्त्री बनाउँदै रेकर्ड कायम राख्न खोजेको छ । भाजपाले यसपटक १ सय ६० निर्वाचन क्षेत्रलाइ विशेष प्राथमिकतामा राखेको छ ।

सन् २०१९ मा अति लोकप्रिय रहँदा पनि भाजपाले ३७.३६ प्रतिशत मत ल्याएको थियो भने नेशनल डेमोक्रेटिक्स एलायन्स(एनडियु) मा आवद्ध दलको मत जोड्दा ४५ प्रतिशत मत थियो । विगत चार वर्षयता हेर्ने हो भने एनडिएका प्रमुख तीन घटकले गठबन्धन छोडेका छन् । शिरोमणि अकाली दल, जनता दल युनाइटेड र शिवशेना त्यस घटकमा छैनन् ।

गत जुन ४ मा आन्द्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नइडुले  भाजपाका नेता तथा संघीय गृहमन्त्री अमित शाहलाई भेट गरेका थिए । उनले गठबन्धनबारे छलफल गरेका थिए ।

मुख्यमन्त्री नइडुको दल तेलगु देसाम पार्टीले सन् २०१८ मा एनडीए छोडेको थियो । आन्ध्र प्रदेशमा आम चुनावसँगै विधानसभाको चुनाव पनि हुन बाँकी छ ।

यस्तै, भाजपाले शिरोमणि अकाली दलसँग पनि गठबन्धन पुर्नगठन गर्ने छलफल चलाइरहेको छ । टिडिपी केन्द्रीय सरकारले आफूलाई समर्थन गरिरहेको देखाउन चाहेको छ भने शिरोमणि अकाली दलले पञ्जाबमा हिन्दु मत बटुल्न चाहेको छ ।

सन् २०१४ मा एनडीएले आन्ध्र प्रदेशमा लोकसभाको २५ सिटमध्ये १७ मा जित निकालेको थियो । ती मध्ये २ सांसद भाजपाका थिए  । सन् २०१९ मा भने त्यहाँ टिडीपी र भाजपाका उम्मेदवारको जमानत नै जफत भयो ।

पञ्जाबमा सन् २०१४ र २०१९ को चुनावमा एनडीएलाई निकै गाह्रो परेको थियो  । पञ्जाबमा भाजपाले सधैँ असन्तुलन सहितको गठबन्धन रहेको बताउँदै आएको छ भने अकालीका नेतृत्वले भाजपाको सम्मान नगरेको आरोप लगाउँदै आएको छ ।

गत लोकसभाको उपनिर्वाचनमा भाजपाले १५ प्रतिशतमात्रै मत बढायो । भाजपालाई पञ्जाबमा ग्रामिण क्षेत्रका मतदाता आकर्षित गर्नुपर्ने आवश्यकता छ । यसपटक पनि उसले अकालीसँग गठबन्धन गर्न खोजेको छ ।

यता, बिहार, महाराष्ट्रमा पनि भाजपालाई जनता दल र उद्धव थाक्रे नेतृत्वको शिवसेनासँगको दूरी घटनाउनु पर्ने अवस्था छ । भाजपाले, महाराष्ट्रमा उद्धव थाक्रे नेतृत्वको शिव सेनाले सहानुभूतिको मत पाउने आंकलन गरेको छ ।

यसले भाजपा र एकनाथ सिन्डे नेतृत्वको शिव सेनालाई कठिन चुनौती दिन उसको आंकलन छ ।

यता बिहारमा पनि निकै जटिल परिस्थिति रहेको भाजापाको अध्ययन छ । त्यहाँ परम्परागत दलले भाजपाविरूद्ध महागठबन्धन गरेका छन् । भाजपाले चिराग पासवानलाई एनडीएमा ल्याउन पहल गरिरहेको छ ।

भाजपाले त्यहाँका विभिन्न दललाई एनडीएमा ल्याउने कसरत स्वरूप विकासशील इन्सान पार्टी, हिन्दुस्तानी आम मोर्चा लगायतसँग दलित समुदायको मत आकर्षितका लागि छलफल गरिरहेको छ ।

भाजपाको चुनावी आत्मविश्वास यस पटक घटेको छैन । यद्यपि, प्रतिपक्षी दलहरू संगठित भएको देख्दा भने झस्किएको छ । त्यसैले उसले प्रतिपक्षी दलको एकताप्रति विरोध जनाउन थालिसकेको छ ।

इन्डिया नाम राख्दैमा प्रतिपक्षी गठबन्धन विश्वसनीय नहुने भन्दै भाजपा भन्छ-‘उही व्यक्ति नयाँ नाममा संगठित भएर केही पनि हुनेवाला छैन । इन्डिया नाम राख्दैमा त्यसले विश्वास आर्जन गर्न सक्दैन । भारतको नेतृत्व भ्रष्ट र आफ्नो मात्रै स्वार्थ हेर्ने वंशको राजनीति गर्ने दलको हातमा पुग्न दिइनेछैन ।’

कुन कुन दल छन् एनडीएमा ?

भाजपा नेतृत्वको एनडीएमा एकनाथ सिन्डे समूहको शिवसेना, अजित पाभर समूहको नेस्नल कंग्रेस, राष्ट्रिय लोक जनशक्ति पार्टी छन् । यस्तै, अल इन्डिया अन्ना द्रविदा मुन्नेतेरा कजागम, अपना दल, नेशनल पिपल्स पार्टी, नेशनलिस्ट  डेमोक्रेटिक प्रोगेसिभ पार्टी, अल झारखण्ड स्टुडेन्ट युनियन, सिक्किम क्रान्तिकारी मोर्चा, मिजो नेशनल फ्रन्ट छन् ।

यस्तै, एनडीएमा इन्डिजिनियस पिपल्स फ्रन्ट अफ त्रिपुरा,  नागा पिपल्स फ्रन्ट, रिपब्लिकन पार्टी अफ इन्डिया,  असोम गना परिषद्, पत्तली मक्कल कचि एनडीएमा रहेका छन् ।

यता, तमिल मनिला कंग्रेस, युनाइटेड लिबरल पार्टी, सुहेलदेव भारतीय समाज पार्टी, शिरोमणि अकाली दल, महाराष्ट्रवादी गोमान्तक पार्टी, जननायक जनता पार्टी, प्रहार जनशक्ति पार्टी, राष्ट्रिय समाज पक्ष यसका हिस्सा हुन् ।

गठबन्धनमा रहेर सहकार्य गर्ने अन्य दलमा जन सुरजय शक्ति पार्टी, कुकी पिपल्स एलान्यस, युनाइटेड डेमोक्रेटिक फ्रन्ट, हिल स्टेट पिपल्स पार्टी छन् ।

यस्तै निसाद पार्टी, अल इन्डिया एनआर कंग्रेस, हम जनसेना पार्टी पनि एनडीएमा आवद्ध छन् । सत्तारूढ गठबन्धनमा रहनेहरुमा भरत धर्म जनसेना, केरला कमरज कंग्रेस, पुथैया तमिलगम, लोक जनशक्ति पार्टी, गोर्खा नेशनल लिबरेसन फ्रन्ट छन् ।

३८ दल भए पनि भाजपालाई एनडीए बलियो बनाउनका लागि बिहारमा नितेश कुमार, महाराष्ट्रमा  उद्धव थाक्रेसहित आन्ध्र प्रदेशमा चन्द्रबाबु नाइडु, कर्नाटकमा सुखवीर बडालको खाँचको छ ।

बिहारमा अल्पसंख्यकको मत तान्नका लागि  जितन राम माझी, चिराग पासवान, मुकेश सहनिको आवश्यकता छ भने  उत्तर प्रदेशमा ओमप्रकाश राजबहर र आन्ध्र प्रदेशमा पवन कल्यानको खाँचो छ । उनीहरूलाई एनडीएमा ल्याउनका लागि भाजपाले कसरत जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?