+
+
फिर्केखोला सीमांकन जारी :

‘सरकारी संरचनाले खोला मिचेको भेटिएन’

गाडियो १६ वटा सीमा स्तम्भ

विकास रोकामगर विकास रोकामगर
२०८० साउन ४ गते २०:३२

७ साउन, पोखरा  । फिर्केखोला संरक्षणका लागि सीमांकन थालेको पोखरा महानगरले हालसम्मको सीमांकनमा सरकारी संरचनाले खोला नमिचेको जनाएको छ । महानगगरले बिहीबारसम्म सबैभन्दा बढी सरकारी संरचना रहेको पोखरा गाईघाटदेखि प्रदेश प्रहरी कार्यालयसम्मको दूरीमा सीमांकन सकेको छ ।

महानगरले बुधबारदेखि अमिन वासुदेव पौडेलको नेतृत्वमा बुधबारदेखि अतिक्रमणको चर्को चपेटामा परेको फिर्केखोला सीमांकन सुरु गरेको हो । फिर्केखोलाको पुरानो आकार खोज्न ४, ४ जनाको टोली बनाएर १८ जना महानगगरका प्राविधिक खटिएका छन् ।

टोलीका संयोजक पौडेलले गाईघाटदेखि प्रदेश प्रहरी कार्यालयसम्म आइपुग्दा हालसम्म १६ वटा स्तम्भ गाडिएको र अन्यमा चिन्ह लगाइएको जानकारी दिए । पौडेलका अनुसार हालसम्मको सीमांकनमा सरकारी संरचनाले खोलाको आकार भने मिचेका छैनन् ।

‘सरकारी संरचनाले खोलाको आकार मिचेको पाइएको छैन । तर, मापदण्ड तोकियो भने त्यसभित्र पर्ने पर्ने देखिन्छ,’ अमिन वासुदेव पौडेलले भने, ‘भोलि (शुक्रबार)देखि माथिल्लो भेगमा व्यक्तिगत संरचना धेरै भएकाले त्यहाँ खोला मिचेर बनेको संरचना भेटिने सम्भावना छ । माथिल्लो भेगको सीमांकनमा केही बढी समय लाग्न सक्छ ।’

फिर्केखोलाको अन्तिमविन्दु गाईघाटमा अत्याधिक झाडी भएका सीमांकन गर्न प्राविधिकलाई कठिनाइँ भएको पौडेलले बताए । ‘सीमा नाप्नका लागि प्वाइन्ट भेट्टाउनै गाह्रो भयो । खोलाको बहाव बढेकाले अरुबेला १ घन्टा लाग्ने ठाउँमै ३, ४ घन्टा लागिरहेको छ,’ उनले भने ।

फिर्केखोलाको पुरानो आकार फर्काउन २०३२ सालको नक्सालाई आधार मानिएको छ । जानकारहरुका अनुसार ४० मिटरसम्म फैलिएको ८ किलोमिटर लामो यो खोला अतिक्रमण गरेर खोलामाथि नै संरचना ठड्याउँदा बीचबीचमा खोला ‘गायब’समेत भएको छ ।

केही वर्षसम्म फिर्के खोलाकै बाटो रहेको पोखरा जिरो किमीमा खोलामाथि नै लायन्स क्लब र एउटा धार्मिक संस्थाले व्यापारिक भवन ठड्याएका छन् । पोखरा महानगर-१८, अँधेरी कुनादेखि सुरु भएर पस्र्याङ, मालेपटन, बुलौंदी हुँदै फेवातालमा मिसिन्छ ।

निवर्तमान मेयर मानबहादुर जिसी नेतृत्वको ०७५ पुस ६ गते बसेको पोखरा महामनगर कार्यपालिका बैठकले फिर्केखोलासहित पोखराका ३ वटा खोलाको मापदण्ड १० मिटर तोकेको थियो । तर, मापदण्ड आवश्यकताभन्दा बढी भएको भन्दै विरोध हुँदा अहिलेसम्म लागू हुन सकेको छैन ।

महानगरले हाल खोलाको पुरानो आकारमात्रै सीमांकन गरिरहेको र मापदण्ड अर्को चरणमा मात्रै लागू गरिने बताएका छन् । हाल फिर्केखोलाको मापदण्ड १० मिटर भए पनि ५ मिटरमा झार्ने तयारी रहेको उनको भनाइ छ ।

‘मापदण्डका विषयमा पनि विभिन्न सुझावहरु आएका छन् । अहिलेको यो मापदण्ड बढी भयो भन्ने कुरा छ, यसबारे विभिन्न विज्ञ समूहले अध्ययन गरेर प्रतिवेदन बुझाइसक्नु भएको छ,’ मेयर आचार्यले भने, ‘मापदण्डको विषयमा केही दिनमै टुंग्याउँछौं ।’

मापदण्ड तोकिइसकेपछि कम्तिमा ३ महिनाको समय दिइने र अटेरी गरे संरचना महानगरले हटाइदिने मेयर आचार्यले बताएका छन् । फिर्केखोला अतिक्रमण गरेर बनेका संरचना हटाइसकेपछि फिर्केखोलाको सौन्दर्यीकरण गर्ने महानगरको योजना छ ।

एसियाली विकास बैंक (एडीबी) को पोखरामा ‘सस्टेनेवल टुरिजम्’ का लागि ७ अर्ब रुपैयाँको योजना सुरु भइसकेको र त्यसैअन्तर्गत फिर्केखोला सौन्दर्यकरण समावेश गरिने मेयर आचार्यले जानकारी दिए ।

‘त्यसको दायाँ-बायाँ साइकल लेन, फुट ट्रेल बनाउने, लाइट राख्ने, ठाउँठाउँमा चेक ड्याम बनाउने, रातिको बेला पनि सुरक्षित तरिकाले हिंड्न मिल्ने बनाउँछौं’ फिर्के कोरिडोर व्यवस्थापनका लागि ६५ करोड रुपैयाँ विनियोजन गरिएको भन्दै मेयर आचार्यले भने, ‘हिउँदको बेला फिर्केको पानी सुक्छ । त्यसबेला पनि मर्दी खोलाको पानी राखेर बाह्रै महिना पानी बग्ने बनाउने योजना छ ।’

फिर्केखोला अतिक्रमणमात्रै होइन, ढल तथा मलमूत्रसमेत मिसाउँदै आइएको छ । खोलामा फालिएको ढल तथा मलमूत्र सीधै फेवातालमा गएर सिसिँदा दुर्घन्धित बनेको छ ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?