+
+

इमेज सहकारीका सञ्चालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

अमृत सुवेदी अमृत सुवेदी
२०८० साउन ४ गते २०:३३
इमेज सहकारीको कार्यालय ।

४ साउन, पोखरा । वचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज सहकारीका सञ्चालक र कर्मचारीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको इजलासले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो ।

बागलुङमा मात्र १ अर्ब रुपैयाँ भन्दा बढी रकम हिनामिना पारेको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसहित ११ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले साउन २ गते ठगी मुद्धा दायर गरेको थियो ।

ठगी मुद्धा लागेका ३ जनाबाहेक नेपाली, श्रीमती छेला नेपाली, कार्यबाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, रूपा विक र झकबहादुर शाही फरार छन् ।

बचतकर्ताको उजुरी पछि प्रहरीले जेठ ३२ गते बुर्तिबाङ बजारबाट सञ्चालक चित्रबहादु भण्डारीलाई र असार १ गते ताराखोलाबाट कर्मचारी लालमती रोकालाई पक्राउ गरेको थियो भने असार ११ गते इमेज बचत तथा ऋण सहकारी बागलुङका प्रबन्धक शक्ति किसानलाई पक्राउ परेका हुन् । अन्य फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बागलुङ बजारमा मुख्य कार्यालय खोलेर बुर्तिबाङ र गलकोटमा सेवा केन्द्रको अनुमति लिएको सहकारीले कार्यालयकै बोर्ड राखेर कारोबार गर्दै आएको थियो । पोखरामा इमेज सहकारीका नाममा छुट्टै नेपालीकै नेतृत्वमा सञ्चालनमा थियो । पोखरामा पनि अहिलेसम्म ६५ करोडभन्दा धेरै रकम हिनामिना गरेको भन्दै नेपालीसहित विरुद्ध जाहेरी परेको छ ।

एक अर्ब ३० करोड रुपैयाँ बिगो दाबीसहित १५ सय ४३ जनाको मुद्धा दर्ता भएको छ । सञ्चालकका लागि ८ देखि १० वर्षसम्म कैद सजायको माग गरिएको छ । संस्थापक अध्यक्ष नेपाली दम्पती, सञ्चालक र व्यवस्थापक अझै फरार नै छन् । अहिले बागलुङका ३ र पोखरा सिर्जना चोकको सहकारीको कार्यालयमा २ महिनादेखि ताला लागेको छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?