+
+

नेपालले गुमाइरहेछ अमेरिकाको निर्यात

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते ७:३९

५ साउन, काठमाडौं । नेपालले अमेरिकाको निर्यात गुमाइरहेको तथ्यांकले देखाएको छ । भारत र चीन पछिको प्रमुख व्यापार साझेदार अमेरिकामा नेपालको निर्यात घट्दै गएको देखिएको हो । सन् १९९९–२००० मा नेपालको कूल निर्यातमा अमेरिकाको हिस्सा २७ प्रतिशत पुगेको थियो । तर, सन्  २०१८–१९ मा कूल निर्यातमा अमेरिकाको हिस्सा कम हुँदै गएर ११ प्रतिशतमा झरेको छ ।

अनुपातका हिसाबले मात्रै होइन, मूल्यकै हिसाबले पनि नेपालबाट अमेरिका निर्यात घटेको जानकारी साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोन्मेन्ट (सावती)का कार्यकारी निर्देशक डा. पारस खरेलले जनाए । ‘सन् २००० मा नेपालबाट अमेरिकामा कूल १९ करोड २२ लाख अमेरिकी डलरको निर्यात भएको थियो, जबकि सन् २०२१ मा त्यो १४ करोड ४० लाख अमेरिकी डलरमा झरेको छ,’ उनले भने । खासगरी कपडाको निर्यात घटेपछि नेपालले अमेरिकामा निर्यात बढाउनै नसकेको उनले बताए ।

अमेरिकाले नेपाललाई विगतदेखि नै सहुलियतपूर्ण बजार पहुँच दिँदै आएको छ । त्यसका अतिरिक्त २०७२ मा भूकम्प गएपछि अमेरिकाले ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ शुरु गरेको छ । त्यो कार्यक्रमअन्तर्गत ७७ किसिमका वस्तुलाई सहुलियतपूर्ण बजार पहुँच दिँदै आएको छ । तर, यस्तो सुविधाले पनि नेपालबाट अमेरिका हुने निर्यात बढ्न नसकेको तथ्यांकले देखाउँछ ।

भूकम्पका कारण नेपालको अर्थतन्त्रमा समस्या परेपछि सन् २०१५ देखि अमेरिकाले नेपाललाई दिएको यो विशेष सुविधा सन् २०२५ मा सकिँदै छ । ‘सन् २०१५ मा यो सुविधा आएपछि त्यसको अवधि १० वर्षको थियो । त्यो सुविधा पाउने भएपछि नेपालले जुन–जुन वस्तुमा सुविधा पाइन्छ, त्यस्तो उत्पादनमा लाग्नुपर्ने हो, तर त्यसो हुन सकेन,’ वाणिज्य मन्त्रालयका पूर्वसचिव पुरुषोत्तम ओझाले बताए । अझै पनि यो सुविधाको अवधि थप गर्न सकेको अवस्थामा नेपालले निर्यात बढाउनसक्ने सावतीले विहीबार आयोजना गरेको एक कार्यक्रममा उनले बताए ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी यो सुविधाको म्याद थप गर्न अमेरिका सकारात्मक रहेको बताउँछन् । ‘नेपाल २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुँदैछ । तर हालै भएको टिफा काउन्सिलको मिटिङमा अमेरिकाले यसमा केही वस्तु थप्नुपर्ने भए सूची पठाउन भनेको छ,’ उनले भने, ‘यो व्यवस्था अमेरिकी संसदले कानून पारित नै गरेर दिएको हो, अहिले पनि अमेरिकी संसदमा नेपालको ककस बनेको छ, त्यसले नेपाललाई राम्रो नै गर्ला ।’

नेपाल अमेरिका उद्योग वाणिज्य संघका अध्यक्ष, किरण शाखले अमेरिका निर्यातका सन्दर्भमा नेपाल धेरै पछि परेको बताए । ‘नेपालको कार्पेट ३० प्रतिशत महँगो हुँदा पनि बजार पाइरहेको छ । तर, त्यसलाई प्रवर्द्धन गरेर निर्यात बढाउन सकिएको छैन,’ उनले भने ।

गोल्डस्टार सुजकी उत्पादक विदुषी राणाले सहुलियतपूर्ण बजार पहुँच नपाएका वस्तुमा अमेरिकामा उच्च भन्सार लाग्ने भएकाले नेपाली वस्तुले प्रतिस्पर्धा गर्न नसक्ने बताइन् । ‘नेपालमा जुत्ताचप्पल उद्योगहरुले राम्रो गरिरहेका छन् । त्यसो हुँदा अमेरिकामा सहुलियतपूर्ण बजार पहुँच हुने क्षेत्रमा जुत्ता चप्पललाई समावेश गर्नुपर्छ,’ उनले भनिन् ।

यूएस नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष अजितविक्रम शाहले अमेरिकासँगको व्यापार वार्तामा निजी क्षेत्रलाई पनि समावेश गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?