+
+

प्लाष्टिक झोला निषेध गर्न फेरि अलमल

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० साउन ५ गते १९:२०

५ साउन, काठमाडौं । १ साउन २०८० देखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने घोषणा कार्यान्वयन थाल्न काठमाडौं महानगरपालिकाले अलमल गरेको छ ।

महानगरपालिकाले प्लाष्टिकको झोला सहित फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिक झोलाको प्रयोगलाई महानगरपालिका क्षेत्रमा प्रतिबन्ध लगाउने समेत घोषणा गरेको थियो ।

महानगरको चालु आर्थिक वर्ष २०८०/८१ का लागि पारित नीति तथा कार्यक्रमबाट घोषणा भएको उक्त कार्यक्रम कार्यान्वयन गर्न महानगरले अझै बजार अनुमगन थालेको छैन । काठमाडौं महानगरपालिकाको यो घोषणा कार्यान्वयन भए काठमाडौंमा पातला प्लाष्टिकको झोला प्रयोग बन्द हुन सक्छ ।

महानगरपालिकाका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठ बञ्चरेडाँडामा फोहोर विसर्जनमा अवरोध भएपछि प्लाष्टिकलाई निषेध गर्ने अभियान सुरु गर्न ढिलाइ भएको बताउँछन् । ‘हामी तयारी गरिरहेका छौं’ उनले भने, ‘पातला प्लाष्टिक मात्रै हैन, प्लाष्टिकका फूलहरुको बिक्री पनि रोक्छौं ।’

उनका अनुसार गुट्खा र परागजस्ता वस्तुहरु पसलमा झुन्ड्याएर बेच्न पनि नदिने गरी कार्ययोजना बनाउन लागिएको छ । ‘छिट्टै बजारमा अनुगमन गरेर प्लाष्टिकको प्रयोग, बिक्री वितरण रोक्छौं,’ श्रेष्ठले भने ।

महानगरले गरेको पातला प्लाष्टिकको प्रतिबन्धको घोषणा मिति नै तोकेर सरकारी पक्षबाट भएको यो छैटौं घोषणा हो । महानगरले तोकिएको मितिबाटै बजारमा अनुगमन नथाल्दा यो घोषणा पनि विगतको जस्तो कागजमै सीमित हुने आशंका विज्ञहरुलाई छ ।

काठमाडौं महानगरले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा पनि एक वर्षमै महानगरलाई प्लाष्टिक झोलामुक्त गर्ने भनेको थियो । महानगरले प्लाष्टिक झोला नियन्त्रणमा केन्द्रित भएर एउटा बजार अनुगमन समेत नगरी योजनालाई पंगु बनायो । काठमाडौं महानगर मात्र हैन, संघ, प्रदेश र स्थानीय तहले बर्सेनि यस्ता घोषणा गरिरहेका हुन्छन् । कार्यान्वयनमा भने शून्य प्रगति छ ।

२०६५ मा बागमती सफाइ अभियानका क्रममा नदीभरि प्लाष्टिक भेटिएपछि प्रतिबन्धको तयारी सुरु भएको थियो । सरकारले २०६८ मा पहिलोपटक ‘प्लाष्टिक झोला निर्देशिका’ जारी गरेको थियो । निर्देशिका मार्फत २० मााइक्रोनभन्दा पातला प्लाष्टिकमाथि प्रतिबन्ध लगाउने नियम बनाइएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा संघीय सरकारले बजेटमार्फत १ साउन २०७८ देखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । सपिङ मल तथा डिपार्टमेन्टल स्टोर लगायत सबै व्यापारिक प्रतिष्ठानमा प्लाष्टिकको झोलाको सट्टा सुती, जुट वा कागजका झोला प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइने घोषणा गरेको थियो ।

४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोला वा सिट उत्पादन गर्ने उद्योगले पुरानो मेसिनको पार्टपूर्जा प्रतिस्थापन गरी नयाँ जडान गरेमा हुने थप लगानी बराबरको रकम पूँजीगत अनुदान उपलब्ध गराउने घोषणा समेत भएको थियो ।

सरकारले यसअनुसार १९ असोज २०७८ मा राजपत्रमा सूचना निकाल्दै ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको थियो । मन्त्रिपरिषदले १७ माघ २०७८ मा प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना २०७८ समेत स्वीकृत गरेको थियो ।

वातावरण विभागले १ भदौ, २०७९ देखि नै प्लाष्टिकको प्रयोग नियन्त्रणमा कडाइ गर्ने बताएको थियो । निषेधित प्लाष्टिकको प्रयोग वा बिक्री गरेको पाइएमा वातावरण संरक्षण ऐन र नियमावली अनुसार कारावाही हुने विभागको चेतावनी थियो ।

तर, अहिलेसम्म पनि प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न भन्दै गरिएको घोषणा कार्यान्वयन गर्न भने सरकार उदासीन छ ।

अहिले पनि बजारमा प्लाष्टिकको झोला प्रयोग साविककै अवस्थामा छ । बजारमा प्लाष्टिकको झोलाको प्रयोग पुरानै दरमा भइरहेको छ । अहिलेसम्म उत्पादन र बिक्री पनि रोकिएको छैन । सरकारले उचित पहलकदमी नलिंदा पटक–पटकका घोषणाहरु कागजमै सीमित हुने देखिएको वातावरणविदहरु बताउँछन् ।

पटक–पटकको घोषणा

संघीय सरकारकै योजना सफल भएको भए काठमाडौं उपत्यकाबाट २०७२ वैशाखपछि प्लाष्टिक झोला प्रयोग बन्द भएर नकुहिने फोहोर उत्पादनमा एक चौथाइ कमी आइसक्थ्यो । वाग्मती, विष्णुमती, मनोहरा लगायतका नदी प्लाष्टिकमुक्त हुने अवस्था बनिसक्थ्यो ।

सरकारले २०७२ वैशाख १ गतेदेखि नै काठमाडौं उपत्यकाको ४ किल्ला तोकेर प्लाष्टिकका झोला प्रयोग निषेध गरेको थियो । यो प्रतिबन्धलाई क्रमैसँग अन्य सहर र स्थानीय तहसम्म लागू गर्ने योजना थियो ।

१८ चैत २०७१ को राजपत्रमा भनिएको छ, ‘नेपाल सरकारले संवत् २०७२ वैशाख १ गतेदेखि लागू हुने गरी २० इन्च चौडाइ र ३५ इन्च लम्बाइ साइज र ४० माइक्रोन मोटाइसम्मका प्लाष्टिक झोलाको आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।’

निर्णय कार्यान्वयन गर्न त्यतिबेला वातावरण विभाग सहितका निकाय सक्रिय भएका थिए । प्रहरी पनि अनुगमनमा खटिँदा सहरमा प्लाष्टिक प्रयोग घट्न थालेको थियो । सामान किन्न पसल जाँदा घरबाटै झोला बोक्ने क्रम सुरु भएको थियो ।

तर, एकाएक परिस्थिति उल्टो बन्यो । १२ वैशाख २०७२को महाभूकम्प र त्यसपछिको भारतीय नाकाबन्दी प्लाष्टिक झोला प्रतिबन्ध कार्यान्यवनमा बाधा बनेर आयो । त्यो निर्णयबाट रुष्ट रहेका उद्योगी–व्यवसायीले महाभूकम्पपछिको समयलाई प्लाष्टिक फैलाउने मौका बनाए ।

हजारौं जनता सडक र खुला चौरमा आएका बेला सरकारलाई समेत राहतको पोका बनाउन प्लाष्टिकको झोला सजिलो बन्न पुग्यो । भूकम्पको त्रास साम्य हुन थालेपछि पनि नियमनकारी निकाय मुकदर्शक भएर बसे । नाकाबन्दी लागेपछि त झन् बजारमा सरकारको ध्यान पुग्नै पाएन । इन्धन लगायतका विषयमा सबैको चिन्ता भयो । त्यसपछि मौलाएको प्लाष्टिक झोला प्रयोग अहिले पनि नियन्त्रण बाहिर छ ।

सरकारले यदाकता अनुगमन र जफत गर्दा प्लाष्टिक उद्योगी–व्यापारीले चर्को विरोध गरेका थिए । उनीहरुले करोडौं लगानी डुब्ने भन्दै गुहार माग्न थालेपछि नेताहरुले आउन लागेको चुनावलाई समेत ध्यानमा राखेर बजार अनुगमनलाई निरुत्साहित पारे । त्योसँगै प्लाष्टिक प्रयोग घटाएर वातावरण स्वच्छ राख्ने योजना र नियम कागजमा सीमित भए ।

फागुन २०७५ मा पनि वन तथा वातावरण मन्त्रालयले ल्याएको सय बुँदे प्राथमिकतामा प्लाष्टिक झोला नियन्त्रणलाई फेरि मुद्दा बनायो । त्यो निर्णयले राजधानीमा ४० र बाहिर ३० माइक्रोनभन्दा पातला प्लाष्टिक झोला निषेध गरेको थियो ।

त्यसविरुद्ध एक्सप्लोर नेपाल प्रालिका भरत बस्नेतले सर्वोच्चमा अदालतमा मुद्दा दायर गरे । १७ भदौ २०७५ मा सर्वोच्चले रिट निवेदकको माग बमोजिम आदेश दियो । त्यसले प्लाष्टिक झोला प्रयोगलाई बढ्दो दरमा लग्यो ।

संघ सरकार अझै उदासीन

अहिले सबैखाले प्लाष्टिक झोला आम प्रचलनमा छ । सरकारले जारी गरेको प्लाष्टिक नियन्त्रण सम्बन्धी निर्देशिकाअनुसार कसैले दण्डित हुनुपरेको छैन । निर्देशिकामा प्रतिबन्धित झोला प्रयोग गर्नेलाई कसुरको मात्रा हेरेर ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । तर, अहिलेसम्म अनुगमन र कारवाही भने शून्यजस्तै छ ।

यसकै कारण शहरमा प्लाष्टिकले हुने प्रदूषण बढ्दो दरमा छ । नकुहिने रासायनिक पदार्थ प्लाष्टिकले वातावरणमा ठूलो बिगार गरिरहेको छ । काठमाडौं उपत्यकामा संकलन हुने फोहोरमा २५ प्रतिशत प्लाष्टिक हुन्छ । प्लाष्टिक झोलाले घुमिफिरी आफूलाई पार्ने असरबारे आम उपभोक्ता सचेत छैनन् । नेपालभर दैनिक करिब ५ सय मेट्रिक टन फोहोर प्लाष्टिकका हुने अनुमान छ ।

सजिलोमा बानी परेका उपभोक्ता प्लाष्टिकजन्य फोहोर जलाउँदा निस्कने विषाक्त ग्यासले क्यान्सर लगायत रोग लाग्ने, माटोको उर्बराशक्ति घटाउने, जमिनमा पानी रिचार्ज हुन नदिने, नाला तथा ढल जाम गर्ने, सहर वा गाउँको सौन्दर्य घटाउने लगायतका असरबारे गम्भीर नहुँदा पनि प्रयोग निरुत्साहित हुन नसकेको वातावरण विज्ञ भुषण तुलाधर बताउँछन् ।

नेपालका वातावरण प्रदूषण, नदी नाला र ढल निकासमा समेत यस्ता प्लाष्टिकको प्रयोगले प्रदूषण बढाएको विभागका अधिकारीहरु पनि बताउँछन् । वैकल्पिक झोलाहरुको उत्पादनमा पनि ध्यान दिनुपर्ने र उपभोक्ताको व्यवहारमा पनि परिवर्तन गरेर प्लाष्टिकका पातला झोला विस्थापन गर्नुपर्ने विभागको निष्कर्ष छ ।

वातावरण विभागका वातावरण निरीक्षक राजेश्वर पौडेल उद्योगहरुबाट प्लाष्टिकको झोला उत्पादन नियन्त्रण गर्न नै कठिन भएको बताउँछन् । उद्योग विभागले पर्याप्त सहयोग नगर्दा देशभर कति प्लाष्टिकको झोला उत्पादन गर्ने उद्योग छन् भन्ने समेत यकिन गर्न नसकिएको उनको भनाइ छ ।

‘यो वर्ष हामीले उपत्यकाभित्रका २३ उद्योग अनुगमन गर्‍यौं, नियमविपरीत उत्पादन भएको झोला जफत पनि गर्‍यौं,’ उनले भने, ‘तर छरिएर रहेका र दर्ता नभएका उद्योगका कारण अनुगमन गर्न समेत कठिन भयो ।’ उद्योगीहरुले उचित सुविधा पाएमात्रै प्लाष्टिकको झोलाको उत्पादन बन्द गर्ने बताउँदै आएका छन् ।

बजार अनुगमनको जिम्मा मूलतः वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको भएको भन्दै वातावरण विभागले फाटफुट मात्रै अनुगमन गरेर झोला जफत गरेको वातावरण निरीक्षक पौडेलले बताए । ‘जनचेतनामूलक सामग्री बनाएर सञ्चारमाध्यममा पनि प्रसारण गराइरहेका छौं,’ उनले भने,‘तर पनि प्लाष्टिकको झोलाको प्रयोग नियन्त्रण हुन सकेन ।’

अहिले आम उपभोक्ता प्लाष्टिकका झोलामा सामान बोक्न सहज मान्छन् । सामान किनिसकेपछि पसलले नै त्यसलाई बोक्ने झोला दिनुपर्ने मान्यता राख्छन् । वातावरणविद् तुलाधार पसलेहरुले ग्राहक आकर्षित गर्न पनि झोला दिने गरेकाले उपभोक्ता र पसले दुवैले आनीबानीमा परिवर्तन गर्नुपर्ने बताउँछन् ।

प्लाष्टिकमा बानी परेका उपभोक्तामा घरबाटै झोला बोकेर बजार /पसल जाने बानी बसाउनुपर्ने उनको भनाइ छ । ‘प्लाष्टिकको प्रयोग रोकेपछि कागज, सुती, अल्लो, जुटका झोला वातावरण अनुकूल भए पनि बजारमा उपलब्ध हुन्छन्,’ उनी भन्छन् ।

तुलाधार प्रतिबन्ध घोषणा गरेर मात्रै नहुने कार्यान्वयन गर्न स्पष्ट कार्ययोजना बनाएर काम गर्नुपर्ने बताउँछन् । विगतको असफलताबाट पाठ सिकेर सरकारले योजना बनाएर काम गर्नुपर्ने उनको भनाइ छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?