+
+

बिरामीले हवाईजहाजमा कसरी यात्रा गर्न सक्छन् ? 

डा. रञ्जित बराल डा. रञ्जित बराल
२०८० साउन ७ गते १३:२२

सर्वप्रथम एयरलाइन्सहरूबाट सामान्यतया रोगी यात्रुलाई विमानमा प्रवेश गर्न दिइँदैन । किनकि विभिन्न रोगका प्रकृतिअनुसारका जोखिमहरू भिन्नाभिन्नै हुन्छन् । यस्तो अवस्थमा यदि बिरामीलाई अचानक केही भइहाल्यो भने जहाजमा फस्ट एड (प्राथमिक उपचार) र अक्सिजन सप्लिमेन्ट पूरक अक्सिजन) बाहेक अन्य अस्पतालका सुविधा उपलब्ध हुँदैनन् । त्यसैले सबै बिरामी यात्रुहरूले आफ्ना उडानअघि सम्बन्धित चिकित्सकबाट ’फिट टु फ्लाइ’ (उडानका लागि योग्य) प्रमाणपत्र लिनुपर्ने हुन्छ ।

तर यस्तो भन्दैमा बिरामीले जहाजमा यात्रा गर्नै नहुने होइन । यदि बिरामीको गम्भीरताका आधारमा उनीसँगै गैरचिकित्सा तथा चिकित्सा सेवाका कर्मचारी जान सकिन्छ । त्यस्तै बिरामीको अवस्था र रोगअनुसार चिकित्सा कर्मचारीमा नर्स, प्यारामेडिक वा चिकित्सक (डाक्टर) आफैं खटिन सक्छ ।

बिरामीका लागि विमानमा कुनै विशेष सेवा सुविधा हुन्छ ?

विमानका चिकित्सा सुविधा विमानका साइज र उडान अवधिका साथै उडान डोमेस्टिक (आन्तरिक) हो वा अन्तर्राष्ट्रिय हो भन्नेमा भर पर्छ ।

यदि छोटो दूरीका आन्तरिक उडानका लागि प्रयोग हुने २०–५० यात्रुसम्म बोक्ने क्षमता भएका साना साइजका विमानका लागि चिकित्सा सुविधा फर्स्ट–एड (प्राथमिक उपचार) बक्समा सीमित हुन्छ । त्यसमा ब्यान्डेज, एन्टिसेप्टिक्स, एन्टासिड्स, एन्टी एम्प्टीज, पेन किलर (दुखाइ निवारक) आदि जस्ता आधारभूत वस्तुहरू हुन्छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने ठूला विमानमा थप विभिन्न प्रकारका ओरल र लिक्विड (तरल) औषधिहरू राखिन्छन् । साथै, त्यस्ता विमानले अक्सिजन सप्लिमेन्ट (पूरक अक्सिजन) र पोर्टेबल (सहजै यताउता लग्न वा बोक्न सकिने) डिफिब्रिलेटर पनि राखेका हुन सक्छन् । त्यस्ता डिफिब्रिलेटरलाई एइडी अर्थात् अटोमेटिक एक्सटर्नल डिफिब्रिलेटर (स्वचालित बाह्य डिफिब्रिलेटर) भनिन्छ ।

डिफिब्रिलेटर मुटुका धड्कन सामान्य अवस्थामा पुनर्स्थापित (ल्याउन) गर्नका लागि मुटुमा विद्युतीय चार्ज वा करेन्ट उत्पादन गर्ने उपकरण हो । कार्डियाक अरेस्टका कारणले मुटुका धड्कन रोकिएका अवस्थामा डिफिब्रिलेटर प्रयोग गरिन्छ ।

कोही विमानमा अचानक विरामी परे कसरी ख्याल राखिन्छ ?

यो सबैलाई एउटै किसिमको हुँदैन यसमा बिरामीको रोग वा जटिलतामा भर पर्छ । उदाहरणका लागि यात्रुलाई प्यानिक अट्याक (अस्वभाविक रूपमा आत्तिनु) हुन सक्छ, जुन प्रायः खाडी मुलुक र मलेसियाबाट फर्किने क्रममा रहेका नेपाली मजदुरहरूमा देखिन्छ । त्यस्तो अवस्थामा बिरामीलाई आश्वस्त पार्नुका साथै पानी, अक्सिजन र ट्रान्क्विलाइजर पनि दिइन्छ ।

अर्को यात्रुलाई आज्मा (दम)का कारण सास फेर्ने समस्या हुन सक्छ । त्यस्तो अवस्थामा अक्सिमिटरले बिरामीका अक्सिजन लेभल नापी आवश्यकताअनुसार नेसल अक्सिजन (सप्लिमेन्ट अक्सिजन) र ब्रोन्कोडायलेटर इनहेलर उपलब्ध गराउन सकिन्छ ।

अर्को उदाहरणमा, यात्रुलाई निरन्तर बान्ता वा चक्कर आएमा उचित औषधि प्रदान गरिन्छ । अक्युट हार्ट अट्याक (हृदयघात), ब्रेन हेमोरेज वा क्लट भएका दूरावस्थामा सबैभन्दा नजिकको विमानस्थल पुर्‍याई अस्पताल लग्नुपर्छ । निष्कर्षमा, यात्रुका स्वास्थ्य अवस्था हेरी विमानभित्र उपलब्ध स्रोतसाधन तथा कर्मचारीका क्षमताअनुसार ह्यान्डल गर्ने प्रयास गरिन्छ । यदि सम्भव भएन भने सबैभन्दा नजिकको विमानस्थलमा यथाशीघ्र पुर्‍याइन्छ ।

विमानमा कुनै यात्रु बेहोस भए के गर्ने ?

बेहोस हुनुका कैयौं कारण हुन्छन् । यदि यात्रु प्यानिक अट्याक वा फ्लाइट फोबिया (हवाईयात्राका त्रास)का कारणले बेहोस भएका अवस्थामा पल्स रेट, अक्सिजन स्याचुरेसन र रक्तचापमा मोनिटर गर्नुका साथै बिरामीलाई आश्वस्त पार्नु पर्याप्त हुन्छ ।

बेहोस हुनुको अर्को कारण उच्च वा निम्न ब्लड सुगर (रगतका सुगर) लेभलका कारण हुन सक्छ । त्यस्तो अवस्थामा ग्लुकोमिटरका सहायताले ब्लड सुगर लेभल नाप्न सकिन्छ । बिरामीका ब्लड सुगर लेभल उच्च भएमा सुगर लेभल नियन्त्रण गर्नका लागि अवस्थानुसार पूरक औषधि दिन सकिन्छ र अत्यधिक कम लेभल भएमा उनलाई पर्याप्त ग्लुकोजयुक्त खाना दिन सकिन्छ ।

बेहोस हुनुका अन्य कारण ब्रत बस्नु वा अत्यधिक मात्रामा मदिरा सेवन हुन सक्छन् । हवाई यात्राका त्रासका कारण अत्यधिक हाइपर्भेन्टिलेसन (धेरै आत्तिएर तीव्र रूपमा साहस फेर्नु) ले गर्दा पनि बेहोस हुन सक्छ ।

बेहोस भएमा यसरी क्रमबद्ध रूपमा नियन्त्रण गर्न सकिन्छ :

१. भीडभाड नगराई खुला ठाउँमा राख्नुपर्छ ।

२. दुवै खुट्टा उठाइनुपर्छ ।

३. रक्तचाप, पल्स रेट र अक्सिजन लेभल निगरानी गरिरहनुपर्छ । यदि कार्डियाक (हृदय) वा सेरीब्रोभास्कुलर एक्सिडेन्ट भएको अवस्थामा सबैभन्दा नजिकका विमानस्थल यथाशीघ्र पुर्‍याई अस्पताल लग्नुपर्छ ।

डा. रञ्जीत बराल

गर्भवतीलाई जहाजमा यात्रा गराउन सकिन्छ ?

हवाई यात्राका लागि गर्भावस्थासम्बन्धी नीतिका तालिका हुन्छन् । उक्त तालिकाबाट गर्भावस्थाको मामलाहरू उडानका लागि कसरी योग्य वा अयोग्य ठहरिन्छन् भन्ने स्पष्ट बुझिन्छ ।

गर्भावस्था सुरु भएको २८ औं हप्तासम्म तथा सामान्य अवस्थामा रहेकी गर्भवतीबाट कुनै पनि प्रकारका प्रतिबन्धबिना सहजै उडान भर्न सकिन्छ । गर्भावस्था सुरु भएको २८ औं हप्तापछिको अवस्थामा रहेको व्यक्तिले उडान भर्नका लागि प्रसूति तथा स्त्रीरोग विशेषज्ञ र एयरलाइन्स चिकित्सकबाट ‘फिट टु फ्लाइ’ (उडानका लागि योग्य) भनी चिकित्सा प्रमाणपत्र प्राप्त गर्नु आवश्यक हुन्छ ।

त्यस्तै ढिला गर्भावस्था (गर्भावस्था सुरु भएको ३५ औं हप्तापछि) र एड्भान्स गर्भावस्थामा अर्थात् ‘म्याल्पोजिसन’ (बच्चाको टाउको आमाको गर्भमा गलत दिशामा रहेको अवस्था) वा ‘जुम्ल्याहा’ गर्भावस्थामा रहेको गर्भवतीलाई स्वीकृति दिइँदैन ।

आपतकालीन अवस्थाका बिरामीलाई जहाजमा बोकिन्छ कि बोकिंदैन ?

आपतकालीन अवस्थामा पनि कस्तो प्रकारको अवस्था हो भन्नेमा भर पर्छ । अनियोजित केसका सन्दर्भमा जस्तै दुर्घटनाका बिरामी वा घाइते व्यक्तिका उद्धारका लागि हेलिकप्टर वा सानो विमान प्रयोग गरिन्छ । त्यस्तै नियोजित केसका सन्दर्भमा अवस्थानुसार प्यारा–मेडिक र नर्स तथा हल्का केसहरूमा गैरमेडिकल कर्मचारी खट्न सक्छन् । त्यस्तो अवस्थामा खटिने कर्मचारीबाट औषधिहरू (विशेषगरी इन्जेक्सनमार्फत दिइने) दिइन्छ र सम्बन्धित केस समय-समयमा बिरामीको निरीक्षण गरिन्छ ।

अप्रिय घटना प्रत्यासित अत्यन्त गम्भीर अवस्थामा चिकित्सक (डाक्टर) खटिन्छन् । उदाहरणका लागि लामो दूरीका उडानमा लामो समयसम्म दमका बिरामी रहेका यात्रुहरूमा सास फेर्न समस्या हुन सक्छ, जहाँ इन्जेक्सनमार्फत स्टेरोइडहरू र ब्रोन्कोडाइलेटरहरू दिइनुपर्छ ।

यदि उनीहरूलाई हवाई यात्रा गराउनु परेमा के गर्नुपर्ने हुन्छ ?

अत्यन्त गम्भीर स्वास्थ्यका अवस्थामा रहेका बिरामीका लागि कमर्सियल एयरलाइन्सहरू उपयुक्त मानिंदैन । त्यस्तो अवस्थामा ‘एयर एम्बुलेन्स’को प्रयोग गरिन्छ, जुन धेरै महंगा हुन्छन् । तर त्यसमा नर्स र डाक्टरका साथै ‘मिनी-अस्पताल’का सबै सुविधा हुन्छन् ।

(डा. बराल नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञ तथा वरिष्ठ उड्डयन चिकित्सा परामर्शदाता हुन् । उनीसँग नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम (एनएसी), यती एयरलाइन्स, तारा एयरलाइन्स तथा हिमालय एयरलाइन्समा काम गरेको लामो अनुभव छ । साथै, उनीसँग यूएईका इतिहाद एयरलाइन्स, हङकङको क्याथे ड्रागन एयरलाइन्स र सिंगापुरको सिंगापुर एयरलाइन्समा काम गरेको अनुभव छ । उनले बेलायतको लण्डन विश्वविद्यालयअन्तर्गतको किङ्स कलेजबाट उड्डयन चिकित्सा अध्ययन गरेका हुन् । हाल उनी काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र वयोधा अस्पतालमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?