+
+

कांग्रेस बैठकमा उठे निर्वाचन प्रणाली परिवर्तन, संघीयता र धर्मनिरपेक्षता खारेजीका माग

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १९:२६

७ साउन, काठमाडौं । पाँच दिनदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्वाचन प्रणाली परिवर्तन, संघीयता र धर्मनिरपेक्षता खारेजका विषय उठेको छ ।

२ साउनमा सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखेका छन् । त्यस क्रममा बोल्ने कतिपयले हालको मिश्रित निर्वाचन प्रणाली हटाएर प्रत्यक्ष निर्वाचनमै सबै जाति, क्षेत्र समुदायको प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने, संघीय संसद सदस्यको संख्या घटाउनुपर्ने, संघीयताको विकल्प खोज्नुपर्ने र धर्म निरपेक्षता खारेज गर्नुपर्ने विचार राखेका छन् ।

बैठकमा सांसद सदस्य घटाउनुपर्ने विषय केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रवेश गराए । उनले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद संख्या घटाउनुपर्ने र त्यसका लागि संविधान संशोधनको अगुवाइ कांग्रेसले गर्नुपर्ने उनले धारणा राखे ।

समावेशीताका आधारमा प्रतिनिधि सभा २०१ सदस्यीय बनाउने र सबै प्रत्यक्ष निर्वाचित हुनुपर्ने उनको मत छ । त्यस्तै राष्ट्रियसभा सदस्यको संख्या पनि ३५ मा झार्नुपर्ने पौडेलले बताए । हाल प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित गरी २७५ सदस्यीय छ । त्यस्तै राष्ट्रियसभा भने ५९ सदस्यीय रहेको छ ।

नेता शेखर कोइराला र मिनेन्द्र रिजालले पनि निर्वाचन प्रणालीका विषयमा कांग्रेसभित्र छलफल आवश्यक रहेको बताए । केन्द्रीय सदस्य कोइरालाले प्रत्यक्ष निर्वाचन प्रणाली भित्रैबाट समानुपातिक र समावेशीको सुनिश्चितता गर्नुपर्ने भन्दै यसको पहल कांग्रेसले लिनुपर्ने बताए ।

केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले निर्वाचन प्रणालीमा गम्भीर छलफल आवश्यक रहेको बताए । प्रतिनिधिसभा प्रतिनिधिमूलक हुन सकेन भनेर मिश्रित निर्वाचन प्रणाली लागू गरिएको भन्दै उनले अहिलेको प्रतिनिधिमूलक चरित्र कायम राखेर नै प्रतिनिधिसभालाई २१० वा २१५ सम्म झार्न सकिने बताए ।

‘अहिलेको प्रतिनिधिमूलक चरित्रलाई बदल्ने होइन, गभर्नेन्समा समस्या भएको छ, त्यसकारण २७५ लाई २१०, २१५ बनाउने कोशित गरौं त्यसका आधारहरु छ, यस विषयमा बसेर छलफल गरौंला’ उनले भने ।

केन्द्रीय सदस्य शंकर भण्डारीले भने धर्मनिरपेक्ष, संघीयता र निर्वाचन प्रणालीका विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राखे । २०४७ सालको संविधान पनि नेपाली कांग्रेसको नेतृत्वमा बनेको र २०७२ सालको संविधान पनि कांग्रेसकै नेतृत्वमा बनेको भन्दै भण्डारीले २०४७ मा जस्तो अहिलेको संविधानको स्वामित्व लिन नसकिने बताए ।

‘२०४७ सालको संविधान बनाउँदा जति अनरसिप थियो, यो संविधान हाम्रो नेतृत्वमा बन्दा त्यति अनरसिप छैन’ उनले संविधान दिवश मनाउने महामन्त्री गगन थापाको प्रस्तावको विरोध गर्दै भने, ‘यो संविधानमा संशोधन गर्नुपर्ने विषय छ । विवादास्पद विषयहरु छन्, यस्तो संविधानको दिवश मनाउन मिल्छ ?’

भण्डारीले संघीयतामा पनि समस्या देखिएको भन्दै विकल्प खोज्नुपर्ने मत राखे । ‘संघीय संरचनामा धेरै असन्तुष्टि देखियो । राष्ट्रिय सुरक्षाका हिसाबले पनि समस्या देखियो त्यसैले संघीयताको अर्को विकल्प खोज्नुपर्छ । निर्वाचन प्रणालीका बारेमा पनि पुनर्विचार गर्नुपर्छ’, उनले भने ।

भण्डारीलाई समर्थन गर्दै केन्द्रीय सदस्य चन्द्रबहादुर केसी र भीम पराजुलीले पनि हिन्दु राष्ट्रको पक्षमा धारणा राखे । पराजुलीले ९४ प्रतिशत ओमकार परिवार रहेकाले धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मको पक्षमा कांग्रेस उभिनुपर्ने बताए । ‘कांग्रेसले धर्म र संस्कृति विभाग छुट्टै गठन गर्नुपर्दछ’ उनले भने । केन्द्रीय सदस्य चन्द्रबहादुर केसी धार्मिक स्वतन्त्रता सहितको सनातन वैदिक राष्ट्रको पक्षमा पार्टी देखिनुपर्ने मत राखे ।

केन्द्रीय सदस्य तारामान गुरुङले प्रदेशको सरकार र सांसदलाई जनताले मन नपराएको बताए । ‘प्रदेशको सरकार र सांसद गाउँ गाउँ घर घरमा मन पराएको छैन । रुचाएको छैन’, उनले भने ।

वर्तमान निर्वाचन प्रणालीबाट बहुमत ल्याउन सम्भव नभएका कारण चुनावअघि गठबन्धन गर्नुपर्ने र गर्न नहुने विषयमा पनि नेताहरुबीच मत भिन्नता रहेको छ । सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले गठबन्धन गरेका कारण पार्टीको धेरै सिट आएको र संघीयदेखि सातै प्रदेश सरकारमा कांग्रेस सहभागी भएको मत राखेका छन् ।

आइतबार बोल्ने क्रममा सहमहामन्त्री महेन्द्र यादवले गठबन्धन गरेर पार्टीको आकार ठूलो बनाएको भन्दै सभापति देउवाको प्रंशंसा गरे । ‘सभापतिजीलाई यदाकदा हामीले भन्छौं गल्ती.. । अब ठूलो पार्टी बनाउनु गल्ती हो, बहुमत ल्याउनु गल्ती हो भने फेरि एकचोटी गल्ती गर्नुहोला सभापति जी पूर्ण बहुमतको नेपाली कांग्रेसको सरकार बनाउनुहोला सारा जनताले तपाईलाई बधाई दिनेछन्,र मलाई विश्वास छ, तपाईकै नेतृत्वमा फेरि एक पटक चुनाव हुन्छ, कांग्रेस पूर्ण बहुमतको पार्टी बन्छ’ उनले भने ।

देउवा पक्षकी केन्द्रीय सदस्य पुष्पा भुसालले निर्वाचन प्रणालीका कारण चुनावअघि गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताइन् । ‘मिश्रित निर्वाचन प्रणाली अपनाउने, अनि गठबन्धनमा जान डराउने?’ बैठकमा भुसालले भनिन्, ‘यो प्रणाली राखेर गठबन्धनको विरोध गर्नु हुँदैन । कि त अब मिश्रित निर्वाचित प्रणालीलाई प्रत्यक्ष तर्फ जाऔंं ।’

केन्द्रीय सदस्य शेखर कोइरालाले २०८४ सालमा गठबन्धन नगर्ने प्रण अहिले नै गर्नुपर्ने बताए । ‘२०८४ सालको चुनाव हामी एक्लै लड्छौं, स्थानीय सरकार, प्रदेश र केन्द्रमा हामी जित्छौं भन्ने प्रण गरौं भन्ने मलाइ लाग्छ’ उनले भने । सहमहामन्त्री बद्री पाण्डेले अहिलेदेखि पार्टी बलियो बनाउँदै गएमा २०८४ मा एक्लै लड्नुपर्ने मत बन्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?