 
																			७ साउन, विराटनगर । मिटरब्याज पीडित एक युवकले जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमै भित्र आत्महत्या प्रयास गरेका छन् ।
कटहरी गाउँपालिका-३ का अन्दाजी ३२ वर्षीय विनित सोनारले आइतबार अपरान्ह करिब ४ बजे प्रशासन परिसरमा किटनाशक औषधि सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् ।
डा. नितेष तिवारीविरुद्ध सोनारकी पत्नी रीता सोनारले मिटरब्याजबाट पीडित भएको उजुरी दिएकी थिइन् । उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय मोरङले दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको थियो ।
छलफलका लागि आएका उनले प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि विष सेवन गरेको प्रहरीले जनाएको छ । चेक बाउन्ससँग सम्बन्धित मुद्दामा उनीविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले मिटरब्याज सम्बन्धी निवेदनमा आइतबार दुवै पक्षलाई राखेर छलफल गराएका थिए ।
साहका अनुसार दुई पक्षबीच लेनदेनको कागजात छैन । पीडितले आफूले सात लाख रुपैयाँ ऋण लिएको दाबी गरेका छन् । डाक्टर तिवारीले भने १५ लाख रुपैयाँ दिएको दाबी गरेका छन् ।
लेनदेनको विवादमा दुवै पक्षको मौखिक दाबी मात्रै देखिएको साहको भनाइ छ । ‘लेनदेनको विषयमा दुवै पक्षको मौखिक दाबी मात्रै छ, लेनदेन कागजपत्र र प्रमाण केही छैन’, उनले भने, ‘एक जनाले सात लाख लिएको भन्छ, अर्काले १५ लाख दिएको भन्छ ।’
आइतबारको छलफल निष्कर्षमा नपुगेपछि साहले दुवै पक्षलाई पाँच दिनपछि आउन समय दिएका थिए । साहले भने, ‘तर, कार्यकक्षबाट बाहिर निस्किएका युवकले विष सेवन गरेको कुरा आयो, उनका साथीहरु भने कार्यकक्षमै थिए ।’
सोनारको विराटनगर महानगरपालिका-७ स्थित आरके चिल्ड्रेन अस्पतालअगाडि चिया-नास्ताको पसल सञ्चालन गर्दै आएका थिए । पसल चलाउने क्रममा डा. तिवारीसँग ४ वर्षअघि ७ लाख रुपैयाँ ऋण लिएको उनको दाबी छ ।
चेक बाउन्समा पक्राउ पूर्जी
मिटरब्याज पीडितको उजुरीपछि छलफलका लागि जिल्ला प्रशासन कार्यालय पुगेका सोनारलाई चेक बाउन्स मुद्दामा पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङको टोली पुगेको थियो । सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा छलफलपछि निस्किएका उनलाई कार्यलय परिसरभित्रै प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि साथमा रहेको विष सेवन गरेका हुन् ।
प्रहरीका अनुसार सोनारविरुद्ध चेक बाउन्ससँग सम्बन्धित छुट्टा छुट्टै २ वटा जाहेरी परेको छ । दुई वटै उजुरीमा पक्राउ पूर्जी जारी भएको थियो ।
‘लोकेसनका आधारमा प्रहरी टोली पुगेको थियो, प्रहरीले पक्राउ गर्नेक्रममा गोजीबाट निकालेर शंकास्पद वस्तु खाए’, मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले भने, ‘शंका लगेर हतार हतार गर्दै अस्पताल लग्यौं, अस्पतालमा परीक्षण गर्दा विष सेवन गरेको देखियो ।’ उनले ‘ट्रिक्कल’ नामक विषादी सेवन गरेका थिए ।
प्रहरीले उनलाई उपचारका लागि कोशी अस्पताल लगेको थियो । कोशीमा उपचार सम्भव नभएपछि नोबेल मेडिकल कलेजमा लगेको छ ।
डीएसपी दाहालका अनुसार सोनार विरुद्ध विराटनगरका प्रदीप भुजेलले २ लाख रुपैयाँ र विनोद ढकालले ६ लाख रकम नपाएको भन्दै छुट्टा छुट्टै जाहेरी दिएका छन् । दुई वटै जाहेरीका आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो ।
डीएसपी दाहालले उनले तिवारीसँगको लेनदेनको विषयमा पक्राउ गर्न नखोजिएको बताए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4