+
+

चीन-पाकिस्तान मित्रतामा मिठास भरिरहेको आँप ! तर छन् यस्ता समस्या

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते ११:१४

पाकिस्तानको मुल्तानमा रहेको आफ्नै आँप प्रोसेसिङ प्लान्टमा तारिक खान एकजना श्रमिकसँग कुराकानीमा व्यस्त थिए ।

पसिनाले लतपतिएका उनले आँपका बाकसको डिजाइनका बारेमा कुरा गरिरहेका थिए । तिनै बक्समा आँप निर्यात गर्नुपर्ने थियो ।

चिनियाँ अधिकारीहरुले पाकिस्तानबाट चीनमा आँप निर्यातका लागि तीनवटा पाकिस्तानी कम्पनीलाई स्वीकृति प्रदान गरेका छन् र त्यसमध्ये एउटा तारिकको कम्पनी पनि रहेको छ ।

उनले अहिलेसम्म हवाईमार्गबाटै माग बमोजिमका आँप चीनमा पठाइरहेका छन् । तर अब भने चीन-पाकिस्तान इकोनोमिक करिडोरका माध्यमबाट सडक मार्गबाटै चीनमा आँप निर्यात गर्ने आशा जागेको छ ।

कन्भेयर बेल्टतर्फ इशारा गर्दै उनी भन्छन्- चीनको क्वारेन्टाइनको नियम निकै कडा छ । त्यहाँ कुनै पनि चिज पठाउन सजिलो छैन ।

आँप प्रशोधन प्लान्टभित्र निकै गर्मी थियो र चारैतर्फ आमको बासना फैलिएको थियो ।

तारिक भन्छन्, ‘हामीले आँपलाई एक घण्टाको लागि ४८ डिग्री सेल्सियसमा राख्छौं र त्यसपछि सुकाएर सावधानीपूर्वक प्याक गर्दछौं । चिनियाँ खरिदकर्ताहरुले सानोभन्दा सानो दाग देखिएमा पनि त्यस्तो आँप किन्दैनन् ।’

पाकिस्तानी निर्यातकर्ताहरुका लागि चीन एउटा ठूलो बजार हो । तर हवाईमार्गबाट सामानहरु पठाउनु महँगो हुन्छ । ‘यसको फाइदा उठाउने एकमात्र तरिका सडकमार्गलाई दुरुस्त बनाउनु नै हो,’ तारिक भन्छन् ।

पाकिस्तानले कति आँप निर्यात गर्छ ?

हुनत चीनले पनि सदियौंदेखि आँप उत्पादन गर्दै आएको छ । तर आन्तरिक उत्पादनले देशको आँपको माग पूरा हुँदैन । त्यसैले हरेक वर्ष थाइल्याण्ड, भियतनाम, कम्बोडिया लगायतका देशहरुबाट समेत चीनमा आँप आयात हुन्छ ।

सन् २०२० मा चीनले ८४ हजार टन आँप आयात गरेको थियो । भारत र पाकिस्तानले पनि चीनमा आँप निर्यात गर्दछन् तर त्यसको परिमाण भने सानो छ ।

चीनको भन्सार विभागका अनुसार पाकिस्तानले सन् २०२२ मा ५५ हजार ६०५ डलर मूल्यको २३.९५ टन आँप चीन निर्यात गरेको थियो । त्यस्तै सन् २०२१ मा भने पाकिस्तानले १ लाख २७ हजार डलर मूल्यको ३७.२२ टन आँप चीन निर्यात गरेको थियो ।

आँप छिटै कुहिने फल हो । चीनको आयातसँग सम्बन्धित कानुन तथा महँगो मूल्य नै पाकिस्तानबाट हुने निर्यातको सबैभन्दा ठूलो चुनौती हो ।

पाकिस्तानमा आमरुपमा देशभित्रै आँपको बिक्री हुन्छ र इरानमा समेत आँप निर्यात गर्दछ । तर पछिल्ला दिनहरुमा दृष्टिकोण फेरिएको छ, जसको कारण हो चीन-पाकिस्तान करिडोरको काम सुरु हुनु ।

तारिक खानका अनुसार चिनिया इन्जिनियर, कम्पनीका मानिसहरु तथा अन्य मजदुरहरुले आफ्नो देशसम्म पाकिस्तानको आँपको चर्चा पुर्‍याए । उनीहरुले सडक मार्गबाट धेरथोर आँप लिएका चीन जान्छन् । त्यसैले पनि चीनमा पाकिस्तानी आँपको माग बढेको छ ।

चीनमा आँपको माग

यो वर्ष केही प्रतिनिधिमण्डलहरुको भ्रमण भयो । उनीहरुले सबै प्रकारका चिजहरुमा रुची राख्दछन्, ताजा आँपका साथै आँपको पल्प र उत्पादनहरुमा समेत ।

यसमा निर्यातकर्ताहरुबाट लगानीको आवश्यकता छ तर जबसम्म निर्यातलाई सुविधाजनक बनाइने ग्यारेन्टी हुँदैन र त्यो वित्तीय रुपमा समेत उत्तम बन्दैन तबसम्म मानिसहरु आँपको व्यापारमा इच्छुक बन्दैनन् । यसले व्यापार अगाडि बढ्न गाह्रो हुन्छ ।

मुल्तानको कृषि विभागमा बागवानी निर्देशक रहेका अब्दुल गफ्फारले निर्यातका लागि नयाँ नयाँ आँपका प्रकारहरु तयार गर्न शोध गरिरहेका छन् ।

उनका अनुसार पाकिस्तानको ह्वाइस चौंसा तथा चनाब गोल्ड जातका आँपहरुलाई चीनमा विशेष रुपमा मन पराइन्छ । उनी भन्छन्, ‘हरेक क्षेत्रका मानिसहरुको स्वाद फरक फरक हुन्छ । चीनमा उत्पादन हुने आँपहरु पाकिस्तानी आँप भन्दा फरक हुन्छन् । तर पछिल्लो केही वर्षहरुदेखि सीमित औपचारिक तथा अनौपचारिक निर्यातका कारण एउटा बजार तयार भएको छ ।’

चिनियाँले कस्ता आँप मन पराउँछन् ?

गफ्फार भन्छन् – उनीहरु मीठो बासनायुक्त, फाइबर रहित, ठूलो आकारका तथा पहेँला आँप किन्न चाहन्छन् । सेतो चौँसा तथा चनाब गोल्ड आँप यी मानकमा खरो उत्रिएका छन् ।

उनका अनुसार चीनमा तीन प्रकारका बजार छन् । एउटा गिफ्ट बजार, दोश्रो सुपरमार्केट र तेस्रो स्थानीय बजार । उनी थप्छन्, ‘ उपहारको बजार निकै फरक तथा महंगो छ । यहाँसम्म कि आँप राखिने बक्सा समेत डिजाइनरद्वारा तयार गरिन्छन् । यो हाल पाकिस्तानी निर्यातकहरुलाई लागि उपयुक्त छैन । दोस्रोतर्फ स्थानीय बजार निकै सस्तो छ । त्यसैले चिनियाँ सुपरमार्केट नै पाकिस्तानी निर्यातकर्ताहरुका लागि सबैभन्दा उपयुक्त छ । त्यहाँ उच्च माग छ र चीनले पछिल्ला दिनहरुमा प्रतिबन्ध खुकुलो पारेका कारण निर्यातको भविष्य पनि आशालाग्दो छ ।

छिमेकी देशहरुबाट फलफुल तथा तरकारीको व्यापार मूल्यमा निर्भर गर्दछ ।

इब्राहिम वाहलाले हालै आफ्नो परिवार सहित नै आँपको व्यापारमा हात हालेका छन् । उनका अनुसार आँपको गुणवत्ता पहिले नै सुनिश्चित गर्नु निकै जरुरी हुन्छ । काटिसकेपछि यसमा धेरै सुधार गर्न सकिंदैन ।

आँप किसानका चुनौती

इब्राहिमका अनुसार अहिले केवल माथिल्लो तहका एक प्रतिशत निर्यातकर्ताहरु मात्रै यस दिशामा अगाडि बढेका छन् ।

खास उत्पादनकर्ताहरुलाई बजारको लाभ कसरी उठाउने भन्ने बारेमा सायदै जानकारी हुन्छ । यदि चिनियाँ आवश्यकता अनुसार ठीक तरिकाले आँपको खेती गर्न सकिएन भने पाकिस्तानले निर्यातको फाइदा उठाउनमा सक्षम नहुने उनी बताउँछन् ।

चीनले पाकिस्तानी आँप उत्पादकहरुद्वारा प्रयोग गरिने किटनाशकहरु तथा रासायनिक मल प्रयोगको अनुमति दिँदैन । तर, हरेक देशको माटो, मौसमको स्थिति, किटपतंग तथा फलका किसिमहरु समेत फरक-फरक हुने हँदा यस्तो खालको प्रतिबन्ध लगाउनु उचित नहुने इब्राहिमको ठम्याइ छ ।

तत्कालका लागि चीनसँगको आँप व्यापारमा साना किसानहरुको कुनै हिस्सेदारी वा रुचि नरहेको उनी बताउँछन् ।

वास्तवमा राम्रो प्रतिफलको ग्यारेन्टी विना किसानहरु नयाँ किटनाशक तथा मलहरुमा लगानी गर्न चाहँदैनन् । इब्राहिमका अनुसार चिनियाँ बजारमा निर्यातकर्ता, उत्पादक तथा आयातकर्ताहरु एक गलत चक्रमा फसेका छन् ।

तर, बागवानी निर्देशक अब्दुल गफ्फार भने केही समयमै अवस्थामा सुधार आउने बताउँछन् । उनी भन्छन्, ‘यो सडक परियोजना पूरा भएसँगै उत्पादनहरुलाई एकपटक रेफ्रिजेरेटरमा लोड गरेपछि सिधै चीनमा गएर उत्रिनेछन् । प्रोसेसिङ र प्याकेजिंगपछि पाकिस्तानी आँपहरू तीन हप्तासम्म बिग्रिंदैनन् । एकपटक बजार खुल्ला भयो भने आर्थिक रुपमा पनि निर्यातमा सुधार आउनेछ र त्यसपछि उत्पादक तथा निर्यातक दुवै यसमा समेटिनेछन् ।’

हुनत भारतले पनि पाकिस्तानमा आँप निर्यात गर्दछ तर पाकिस्तानसँग उसको प्रतिस्पर्धा छैन । यसको प्रमुख कारण भनेको दुई देशको सिजन फरक हुनु हो । गफ्फारका अनुसार भारतको तुलनामा पाकिस्तानमा आँपको पिक सिजन केही पछि मात्र आउँछ ।

सडक मार्गका कारण पनि पाकिस्तान यो मामिलामा अगाडि छ । चीन पाकिस्तान आर्थिक करिडोरले मुल्तान, रहमी यार खान र सिन्ध जस्ता क्षेत्रलाई सीधै चिनियाँ बजारसँग जोड्नेछ ।

तर यो परियोजनामा भैरहेको ढिलाइबाट धेरै मानिस चिन्तित छन् । यसले के देखाउँछ भने सरकारी अधिकारीहरुको अपेक्षाका बाबजुद पनि पाकिस्तानबाट चीनमा हुने आँप निर्यातमा तीव्रता आउन अझै लामो समय लाग्नेछ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?