+
+

साढे ३ खर्बले घट्यो वैदेशिक व्यापार, आयात–निर्यात दुवैमा गिरावट

अच्युत पुरी अच्युत पुरी
२०८० साउन ८ गते २०:०१

८ साउन, काठमाडौं । नेपालको वैदेशिक व्यापार साढे ३ खर्ब रुपैयाँले ओरालो लागेको छ । गत आर्थिक वर्ष (आव) २०७९/८० मा १७ खर्ब ६८ अर्ब ८७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा ३ खर्ब ५१ अर्ब ६० करोड रुपैयाँ कम हो । भन्सार विभागका अनुसार यस आवमा वैदेशिक व्यापारको आधार १६.५८ प्रतिशतले कम भएको छ । आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक व्यापारको आकार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ पुगेको थियो ।

असार मसान्तसम्म १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको आयात हुँदा १ खर्ब ५७ अर्ब रुपैयाँको मात्र निर्यात भयो । यस वर्ष आयात १६.०८ प्रतिशत र निर्यातमा २१.४४ प्रतिशतको गिरावट आयो । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.१२ प्रतिशत हुँदा निर्यातको हिस्सा मात्र ८.८८ प्रतिशत छ । यसले वैदेशिक व्यापारमा निर्यातको हिस्सा झनै कमजोर बनिरहेको देखाएको छ ।

सरकारले गत आवको सुरुवाती समयबाटै आयात निरुत्साहित गर्ने नीति लियो । जसमा महँगो सवारी साधनहरु आयातमा प्रतिवन्ध लागेको थियो । जसको परिणामस्वरुप आयात संकुचन भयो । सरकारले अघिल्लो वर्ष मंसिर मसान्तसम्म कायम आयात प्रतिवन्ध १ पुस २०७९ बाट लागु हुने गरी हटाएको थियो । एलसी खोल्दा चाहिने नगद मार्जिनको प्रावधान ५ माघ २०७९ बाट हटाइएको थियो । सरकारले आयात प्रतिवन्धका कारण राजस्व खुम्चिएको भन्दै यी प्रतिवन्ध हटाएको थियो ।

यी प्रतिवन्धका कारण कमी आएको आयात माघपछि भने विस्तार हुन थालेको थियो । तर, आन्तरिक मागमा आएको संकुचनले अपेक्षित आयात बढ्न सकेन । फलस्वरुप समग्र वैदेशिक व्यापारको आकार खुम्चिन पुगेको हो । निर्याततर्फ भने प्राकृतिक तेल निर्यातमा आएको संकुचनको असर यस वर्ष स्पष्टसँग देखियो । जसलाई व्यापार विज्ञहरुले गत वर्ष नै अस्थिर प्रकृतिको निर्यात भनेका थिए । यसलाई अघिल्लो आवको तथ्यांकले पुष्टि गरेको छ ।

भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्का यस वर्ष आन्तरिक अर्थतन्त्रमा आएको संकुचनको असर वैदेशिक व्यापारमा परेको विश्लेषण गर्छन् । मुलुकभित्र माग र उपभोग बढ्दा आयात बढ्ने हो,’ उनले भने, ‘आवको सुरुवातमा हामीले महंगा वस्तुको आयात रोक्यौं, त्यसपछि खोल्दा माग नै भएन ।’ अहिले पनि भन्सारमा आएर ४ हजार गाडी रोकिएको सन्दर्भमा मागमा आएको संकुचन रहेको उनको भनाइ छ । यसले समग्रमा राजस्व र वैदेशिक व्यापार दुबैमा असर गरेको उनको भनाइ छ । नेपालको व्यापार आयातमा अति निर्भर रहेको भन्दै आन्तरिक अर्थतन्त्र चलायमान हुँदा स्वतः वैदेशिक व्यापार बढ्ने उनले बताए ।

३ खर्बले घट्यो आयात

भन्सार विभागका अनुसार आव २०७९/८० मा आयात ३ खर्बले ओरालो लागेको छ । यस आवमा १६ खर्ब ११ अर्ब ७३ करोडको वस्तु आयात भएको छ । यो आव २०७८/७९ को तुलनामा १६.०८ प्रतिशत कम हो । सो आवमा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँको आयात भएको थियो ।

निर्यातमा झन ठूलो खाडल

आव २०७९/८० मा १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको छ । यो अघिल्लो आवको तुलनामा २१.४४ प्रतिशत कम हो । सो आवमा २ खर्ब रुपैयाँको आयात भएको थियो । जुन ऐतिहासिक थियो । निर्यात व्यापार पटके भएको र यसमा नेपालले आफ्नो प्रतिस्पर्धी क्षमता पहिचान नै गर्न नसेकको भन्सार विभागको विश्लेषण छ ।

व्यापार घाटामा सुधार

आयात ठूलो मात्रामा घट्दा व्यापार घाटामा भने उल्लेख्य सुधार देखिन्छ । व्यापार घाटा कम हुनुमा निर्यातले भने योगदान गर्न सकेन ।

यस आवमा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँको व्यापार घाटा भएको छ । यो अघिल्लो आवको तुलनामा १५.४५ प्रतिशत कम हो । आव २०७८/७९ मा १७ खर्ब २० अर्ब रुपैयाँ व्यापार घाटा थियो ।

पेट्रोलियम पदार्थमा मात्र साढे ३ खर्ब विदेशियो

यस वर्ष पेट्रोलियम पदार्थको आयातमा मात्र साढे ३ खर्ब रुपैयाँ विदेशिएको छ । ३ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँको पेट्रोलियम पदार्थ नेपालले आयात गरेको छ । यद्दपी गत आवको तुलनामा भने पेट्रोलियम पदार्थको आयातमा गिरावट आएको छ ।

गत आवमा पेट्रोलियम पदार्थको आयातमा ३ खर्ब ८३ अर्ब रुपैयाँ विदेशिएको थियो । विद्युतीय सामान र उपकरणको आयात १ खर्ब रुपैयाँ बराबरको भएको छ । विभिन्न मेसिन र त्यसको पार्टपूर्जा आयातमा समेत १ खर्ब विदेशिएको छ । ३१ अर्ब रुपैयाँ बराबरको तरकारीजन्य वस्तु आयात भएको छ । आइरन र स्टीलको आयातमा १ खर्ब ४० अर्ब रुपैयाँ विदेशिएको छ

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?