+
+

सर्वोच्चलाई प्रचण्डको जवाफ : सशस्त्र युद्धमा बालसेनाको प्रयोग गरेको छैन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १९:३५

८ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे सशस्त्र युद्धमा बालसेनाको प्रयोग नगरेको जिकिर गरेका छन् ।

सशस्त्र युद्धमा बालसेनाको प्रयोग भएको दाबी सहित सर्वोच्च अदालतमा पेश भएको एक रिट निवेदनमाथि लिखित जवाफ दिने क्रममा प्रचण्डले द्वन्द्वकालमा बालबालिकालाई सेनामा प्रयोग नगरेको र शान्ति प्रक्रियामा सबैजसो दस्तावेजमा बालसेनाको उल्लेख नभएको दाबी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले लिखित जवाफमा भनेका छन्, ‘बृहत् शान्ति सम्झौता र हतियार, सेना व्यवस्थापनको अनुगमन सम्झौता, अन्तरिम संविधान, नेपालको संविधान र अन्य आधिकारिक लिखित दस्तावेज समेतले सशस्त्र द्वन्द्वमा बालबालिकालाई सेनाको रुपमा प्रयोग गरेको भनी स्वीकार गरेको कहींकतै देखिंदैन ।’

माओवादी युद्धमा संलग्न रहेका लेनिन विष्टले युद्धमा बालसेना प्रयोग भएको र त्यही आरोपमा प्रचण्डका साथै डा. बाबुराम भट्टराईलाई अन्तर्राष्ट्रिय कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

द्वन्द्वपीडितहरुलाई राहत, परिपूरण र क्षतिपूर्तिका लागि सरकारले अनवरत रुपमा काम गरेको भन्दै उनले लिखित जवाफमा भनेका छन्, ‘म शान्ति सम्झौतामा हस्ताक्षर गर्ने व्यक्ति भएको नाताले समेत शान्ति प्रक्रियाको बाँकी कामलाई तात्विक निष्कर्षमा पुर्‍याउन निरन्तर रुपमा लागिपरेको व्यहोरा समेत अवगत गराउँछु ।’

विष्टले विगतमा नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) र राज्यले घोषणा गरेको तथ्य स्वीकारेको भन्दै प्रधानमन्त्री प्रचण्डले राज्यले दिने राहतमा उनले समेत सहमति जनाएकाले बालसैनिकको दाबी सत्य नभएको जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?