११ साउन, काठमाडौं । आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हान्झाउमा हुने १९ औं एसियन गेम्समा नेपालले पदकको आशा राखेको खेल हो तेक्वान्दो, बक्सिङ र कराते ।
अहिलेसम्म नेपालले एसियन गेम्समा यीनै तीन खेल र प्याराग्लाइडिङबाट मात्र पदक जितेको छ । पछिल्लो पटक सन् २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा त नेपालले प्याराग्लाइडिङबाट जितेको रजत पदकमै चित्त बुझाउनुपरेको थियो ।
प्राथमिकतामा बक्सिङ
१९ औं एसियन गेम्समा नेपालले २९ खेलमा सहभागिता जनाउँदैछ । त्यसमा पदक जित्ने सम्भावना भएको भनेर तेक्वान्दो र करातेसँगै बक्सिङलाई पनि प्राथमिकतामा राखेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले बताए ।
बिहीबार पञ्जाबमा प्रशिक्षणका लागि जाने बक्सिङ टोलीलाई बिदाइ गर्दै उनले भने, ‘एउटा महत्वपूर्ण मिसन लिएर बक्सिङ खेलाडी तयारी गर्न भारत जाँदैछ । अब बक्सिङको इतिहास पुनर्लेखन गर्नुपर्ने बेला आएको छ ।’
नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले बक्सिङ खेलमा सदस्य सचिवले देखाएको विश्वासलाई वास्तविकतामा परिणत गर्न प्रयास गर्ने बताए ।
यसवर्षको एसियन गेम्समा बक्सिङबाट ७ पुरुष र ६ महिला गरी १३ नेपाली खेलाडी सहभागी हुँदैछन् । एसियन गेम्समा सबैभन्दा धेरै खेलाडी यसै वर्ष सहभागी हुन लागेका हुन् ।
भारतमा तयारी
एसियन गेम्स आउन दुई महिना भन्दा कम समय बाँकी रहेको अवस्थामा बक्सिङ टोली प्रशिक्षणका लागि पञ्जाब गएको हो । बिहीबार साँझ पञ्जाब जाने नेपाली टोलीले पञ्जाब इन्ष्टिच्युट अफ स्पोर्ट्स पटियालामा एक महिनाको प्रशिक्षण र मैत्रीपूर्ण खेल खेल्नेछ ।
एसियन गेम्समा सहभागी जनाउने नेपाली खेलाडीमा पुरुषतर्फ ५१ केजीमा रविन थापा, ५७ केजीमा बुद्ध ग्याम्जो लामा, ६३.५ केजीमा भुपेन्द्र थापा, ७१ केजीमा दिपेश लामा, ८० केजीमा दीपक श्रेष्ठ, ९२ केजीमा रविन नेपाल र ९२ केजीमाथि आशिष दुवाडी रहेका छन् ।
यस्तै महिलाको ५० केजीमा सुष्मा तामाङ, ५४ केजीमा मिनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा, ६० केजीमा संगीता सुनार, ६६ केजीमा विनिता थापा मगर र ७५ केजीमा सरस्वती राना पनि एसियन गेम्समा सहभागी हुनेछन् ।
प्रशिक्षकमा भारतकै शिव सिंह, दीपक महर्जन, प्रवीण तुलाधर र राज श्रेष्ठ तथा व्यवस्थापकमा श्यामकाजी अवाले रहेका छन् ।
एसियन गेम्समा बक्सिङ
नेपालले पहिलो पटक सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औं संस्करणमा पहिलो पटक पदक जितेको थियो । त्यसमा तेक्वान्दो र बक्सिङले ४-४ कास्य पदक जितेको थियो ।त्यसबेला बक्सिङबाट दलबहादुर रानामगर, तुलबहादुर थापा, सुशील पोखरेल र मनोज बहादुर श्रेष्ठले कास्य जितेका थिए ।
त्यसपछि नेपालले १९९० र २०१० मा चीनमा भएको एसियन गेम्समा एक-एक कास्य जितेको थियो । ती दुबै पदक बक्सिङ खेलाडीले जितेका थिए ।
१९९० मा बेइजिङमा भएको एसियन गेम्समा नेपालका लागि चित्रबहादुर गुरुङ र २०१० मा ग्वाङ्झाउमा भएको एसियन गेम्समा दीपक महर्जनले कांस्य जितेका थिए ।

दीपक महर्जनले पदक जितेपछि नेपालले दुई वटा एसियन गेम्स खेलिसकेको छ तर पदक जित्न सकेको छैन । अहिले दीपक आफैँ बक्सिङको प्रशिक्षक टोलीमा छन् ।
पछिल्लो पटक २०१८ मा इन्डोनेसियामा भएको १८ औं एसियन गेम्समा नेपालबाट बक्सिङमा ५ पुरुष र ३ महिला गरी ८ खेलाडीले सहभागिता जनाएका थिए । त्यस बेला खेलेका भुपेन्द्र थापा मगर, दीपक श्रेष्ठ तथा संगीता सुनार यस पटक पनि एसियन गेम्समा सहभागी हुँदैछन् ।
पदक जित्ने लक्ष्य
नेपालले अहिलेसम्म एसियन गेम्समा दुई रजत र २२ कास्य गरी जम्मा २४ पदक जितेको छ । त्यसमा तेक्वान्दोबाट एक रजतसहित सर्वाधिक १५ पदक प्राप्त भएको छ । दोस्रोमा रहेको बक्सिङले ६ कांस्य जितेको छ ।
३७ वर्षअघि ४ कास्य जितेको बक्सिङले त्यसपछि ८ संस्करण खेल्दा २ कांस्य पदक पदक मात्र जितेको छ ।
यस पटक चीनमै एसियन गेम्स हुँदा खेलाडीहरु समेत उत्साहित छन् र पदक जित्ने लक्ष्यसहित तयारी गरिरहेका छन् ।
पछिल्लो पटक एसियन गेम्स खेलेका अनुभवी खेलाडीद्वय भुपेन्द्र र दीपक यस पटक राम्रो गर्ने लक्ष्य रहेको बताउँछन् । ‘यसपटक लामो समय प्रशिक्षण भइरहेको छ । पहिलाको एसियन गेम्सभन्दा राम्रो प्रदर्शन हुन्छ ।’ केही समयअघि मात्रै वर्ल्ड बक्सिङ च्याम्पियनसिप समेत खेलेका भुपेन्द्रले भने ।
भारतमा हुने एक महिनाको प्रशिक्षणले पनि धेरै सहयोग पुग्ने उनले बताए । ‘नेपालको स्पायरिङ पार्टनरहरु छैन । त्यसैले भारतमा हामी नयाँ स्पायरिङ पार्टनरसँग प्रशिक्षण गर्न पाउँछौँ’, उनले भने ।
वर्ल्ड बक्सिङ च्याम्पियनसिप खेलिसकेकी युवा बक्सर सुस्मा तामाङ राम्रो सम्भावना भएकी खेलाडी हुन् । उनले एसियन गेम्समा पदक जित्ने लक्ष्य राखेको बताइन् ।
‘जुनसुकै प्रतियोगिता खेल्दा पनि लक्ष्य स्वर्ण जित्ने नै हुन्छ । एसियन गेम्समा पनि देशका लागि पदक जित्ने लक्ष्य छ’, एसियन यू-२२ बक्सिङ च्याम्पियनसिपमा रजत पदक जितेकी सुस्माले भनिन् ।
उनले अन्तर्राष्ट्रिय अनुभव र निरन्तर प्रशिक्षणले गर्दा आत्मविश्वास बढेको र त्यो नै पदक जित्ने मुख्य आधार रहेको बताइन् ।
‘यसअघि एसियन यू-२२ मा कम समय प्रशिक्षण गरेर पनि रजत पदक जित्न सफल भएँ । मैले यसअघि कहिले पनि यति धेरै तयारी गर्ने अवसर पाएको थिइनँ । अहिले प्रशिक्षणको समय पनि लामो छ । वर्ल्ड च्याम्पियनसिपको समेत अनुभव छ । त्यसैले म र टिम सबैको आत्मविश्वास बढेको छ’, सुष्माले भनिन् ।
सुष्माले भारतमा हुने एक महिनाको तयारीले धेरै सहयोग पुग्ने बताइन् । ‘हामीले यसअघि पनि भारतमा प्रशिक्षण गरेका थियौँ । भारतमा हामीले नयाँ स्पायरिङ पार्टनरसँग प्रशिक्षण गर्ने अवसर पाउँछौँ । यसअघि पोखरामा पनि भारतका खेलाडीसँग खेलेका थियौँ । विदेशमा तयारी गर्न नयाँ शैली थाहा हुन्छ । गेम प्लान र स्ट्राटेजी बन्छ । अनुभव हुन्छ, एण्डुरेन्स पावर पनि बढ्छ ।’
 
                    










 २०८० साउन  ११ गते २०:३८
                        २०८० साउन  ११ गते २०:३८                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4