+
+

अनधिकृत बालगृह चलाएर बालिकाहरुमाथि यौन दुर्व्यवहार

अमृत चिमरिया अमृत चिमरिया
२०८० साउन १२ गते २२:२१

१२ साउन, काठमाडौं । मनाङका सोनाम घ्याम्चे घले (लामा धुन्डुप)ले गरिब, असहाय र अभिभावकविहीन बालबालिकालाई पालनपोषण र शिक्षदीक्षा दिलाउने भनेर काठमाडौंको स्वयम्भूमा ‘स्नो मन्जुश्री स्कुल’ नामक बालगृह सञ्चालन गरेका थिए ।

देशका विभिन्न भागबाट त्यस्ता अनाथ र सहयोगापेक्षी बालबालिका जम्मा गरेर ल्याए । उनीहरुको शिक्षादीक्षाका लागि भन्दै नेपाली तथा विदेशी दाताहरुसँग रकम पनि उठाए । तर, असहायलाई शिक्षा दिलाउने जस्तो पवित्र कामको आवरणमा बाल यौन शोषण जस्तो जघन्य अपराध गरिरहेको तब मात्रै खुल्यो, जब एक विदेशी दाता सहयोगका लागि भन्दै मंगलबार बालगृह पुगे ।

ती विदेशी नागरिकलाई बालगृहकी एक बालिकाले गोप्य रुपमा लेखेर दिइन्, ‘आइ वाज सेक्सुयिल्ली एब्युज्ड इन दिस होस्टल ।’ अनाथ बालबालिकालाई सहयोग गर्न भनेर आफू जुन ठाउँमा गएको छ, त्यहाँ आश्रय लिएकी बालिकाले त्यस्तो सन्देश दिएपछि उनले बालअधिकार क्षेत्रमा काम गर्ने संस्था राष्ट्रिय बालअधिकार परिषद्लाई यस विषयमा जानकारी दिए ।

परिषद्ले मनोपरापर्शदातालाई बालगृहमा पठायो । बालिकालाई परामर्श दिने क्रममा थाहा पाए, बालगृहमा उनीमाथि चरम बालयौन दुराचार भएको रहेछ । त्यसपछि भोलिपल्ट बुधबार नेपाल प्रहरीसहित सिविन नेपाल, काठमाडौं महानगरपालिका, राष्ट्रिय बालबालिका खोज तलास तथा समन्वय केन्द्रलाई लिएर बालगृहमा पुग्यो । त्यसक्रममा अन्य  बालिकाले पनि आफूमाथि यौन दुर्व्यवहार भएको बताए । त्यसरी टोलीसँग नै यौन दुर्व्यवहार भयो भन्ने हिम्मत गर्ने ११ जना बालिका ११ देखि १४ वर्षका थिए ।

११ जनै बालिकालाई उद्धार गरी सिविन नेपालको आश्रयमा पठाएको नेपाल प्रहरीको स्वयम्भू वृत्तका प्रहरी निरीक्षक देवीदत्त मोतेले अनलाइनखबरलाई जानकारी दिए । ‘राष्ट्रिय बालअधिकार परिषद्ले सहयोगका लागि अनुरोध गरेअनुरुप हामीले ११ जना बालिकालाई उद्धार गरेका छौं’, उनले भने ।

पीडित बालिकाहरुले उजुरी समेत दिएपछि थप प्रहरीले बाल यौन दुराचार गरेको आरोपमा घलेलाई बिहीबार पक्राउ गरेको छ । उनलाई पक्राउ गरेकै दिन जिल्ला अदालत काठमाडौंबाट बाल यौन दुराचारको आरोपमा थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक मोतेले जानकारी दिए । ‘बालिकाहरुमाथि यौन शोषण गरेको आरोपमा हामीले पक्राउ गरेर मुद्दा प्रक्रिया अगाडि बढाएका छौं, उनी माथि थप अनुसन्धान हुँदैछ’, उनले भने ।

घलेले बालबालिकालाई शिक्षादीक्षा दिन भन्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा मुनाफा वितरण नगर्ने कम्पनीका नाममा स्नो मञ्जुश्री नामक संस्था दर्ता गरेको खुलेको छ । ‘उनले दाताबाट पैसा समेत लिने गरेका रहेछन्’, उनले भने ।

सोनाम घ्याम्चे घलेले ४ पुस  २०७० मा कम्पनी दर्ता गरेका थिए । विद्यालय चलाउने भने पनि उनले त्यसो नगरी स्वयम्भूस्थित आनन्दकुटी विद्यालयसँगको सहकार्यमा बालगृह सञ्चालन गरेका थिए । ‘आनन्दकुटी विद्यालयकै परिसरमा होस्टेल चलाइएको रहेछ, बाल यौन दुराचारको घटना पनि त्यहीं भएको खुलेको छ’, प्रहरी निरीक्षक मोतेले बताए ।

काठमाडौं महानगरपालिकाको सामाजिक विकास शाखाकी अधिकृत शारदा पहाडीका अनुसार घलेले आफ्ना संवेदनशील अंंग चलाउने, आफू बसेको कोठामा आएर यौन दुर्व्यवहार गर्ने, केटाकेटीलाई एउटै कोठामा राखेर समेत यौन दुर्व्यवहार गर्ने गरेको उद्धार गरिएका बालबालिकाले बताएका छन् । ‘बालबालिकालाई एकल र सामूहिक रुपमा पनि यौन दुर्व्यवहार भएको पाइएको छ, यस विषयमा प्रहरीले पनि थप अनुसन्धान गरिरहेकाले अन्य कुरा खुल्दै जाला’, उनले भनिन् ।

बालगृह भनेर न्यूनतम मापदण्ड पनि पूरा नगरी होस्टेल चलाएको देखिएको अनुगमनमा पुगेका बालअधिकारका लागि राष्ट्रिय अभियानका संयोजक प्रविन सिलवालले बताए । ‘भद्रगोल ढंगले चलाएको संस्था रहेछ, बालिकाहरुले हाम्रो अगाडि धेरै विषय खुलाएका छन्’, उनले भने ।

बालगृहका कर्मचारीहरुले पनि घलेले बालिकाहरुलाई यौन दुराचार गरेको कुराको संकेत पाएका थिए ।

तर उनीहरुले प्रहरीलाई खबर भने गरेका थिएनन् । त्यहाँ काम गर्ने एक कर्मचारीलाई उद्धृत गर्दै सिलवालले भने, ‘गुरु (कर्मचारीले उनलाई गुरु भन्दा रहेछन्) देशभरिका बालबालिकाहरुको अभिभावक बन्छु भन्दै संस्था चलाउनुभएको थियो, धेरै अनाथ बालबालिकाको उद्धार पनि भयो । विभिन्न ठाउँबाट सहयोग पनि आयो । तर पछिल्लो समय उहाँको नियत राम्रो देखिएन ।’

थप ४५ जनाको उद्धार

बुधवार उद्धार गरिएका बालबालिकाले आफूहरुलाई जस्तै अन्य बालिकाहरुमाथि पनि यौन शोषण भएको बताएपछि बाल हेल्पलाइन, महानगर, राष्ट्रिय बालअधिकार परिषद्लगायतको टोलीले शुक्रबार बालगृहका सबै बालिकाहरुलाई उद्धार गरेको छ । शुक्रबार ४५ जना बालिकाहरुको उद्धार गरिएको परिषद्की बाल संरक्षण शाखा प्रमुख नमुना भुषालले जानकारी दिइन् ।

संस्थामा रहेका अन्य बालबालिकाहरुमा पनि भय रहेकाले पहिले भयरहित वातावरणमा राख्ने प्रयास गरिएको बताइन् । महानगरपालिकाकी अधिकृत पहाडीका अनुसार होस्टेलमा बालकहरु मात्रै छन् । ‘त्यहाँ अब ४७ जना बालक छन्, उनीहरुमाथि दुर्व्यवहार भएको जानकारी छैन’ उनीहरुलाई पनि उद्धार गर्ने उनले बताइन् ।

त्यहाँ आश्रय लिएका अधिकांश बालबालिकाहरु मनाङ, मुस्ताङ र लमजुङका रहेको पहाडीले बताइन् । बाल अधिकार परिषद्का अनुसार पीडित बालबालिकाका बाबुआमालाई खबर गरी काठमाडौं बोलाइँदैछ । र, उनीहरुलाई प्रहरीमा जाहेरी दिन लगाएर घलेमाथि कारबाही गर्ने तयारी छ ।

आरोपी घलेले ग्रामीण क्षेत्रका बालबालिकालाई निःशुल्क पढाइदिने र पालनपोषण गर्ने भन्दै काठमाडौं ल्याउने गरेका थिए । ‘बौद्धमार्गी भन्दै विदेशबाट दाताहरु मार्फत पैसा लिने, बौद्धधर्म प्रति आस्था भएकाहरुबाट पैसा लिने गरेको पाइएको छ’, स्रोतले भन्यो ।

अनुमति नै नलिई बालगृह सञ्चालन

विद्यालय वा बालगृह जे सञ्चालन गर्न पनि स्थानीय तहसँग अनुमति लिनुपर्छ । तर घलेले सञ्चालन गरेको संस्थाले महानगरपालिकासँग कुनै पनि किसिमको अनुमति नलिएको पहाडीले जानकारी दिइन् । त्यस्तै बालगृह सञ्चालन गर्ने हो भने महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयअन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्सँग स्वीकृति लिनुपर्छ । त्यहाँ पनि स्वीकृत लिएको छैन ।

काठमाडौं महानगरले घलेको संस्था नै बन्द गर्ने तयारी गरेको छ । ‘त्यो संस्था बन्द गर्ने तयारी गरेका छौं, त्यहाँ रहेका बालबालिकाहरुलाई उद्धार गरेर कसरी व्यवस्थापन गर्ने भनेर महानगरपालिकाले निर्णय  गर्छ’, पहाडीले भनिन्  ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?