+
+

कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १४:०७
सारुक ताम्राकार

१४ साउन, काठमाडौं । रातोपुलस्थित घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका स्रोतका अनुसार, ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न पनि भनेका छन् । झण्डै एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका छन् ।

‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु’, उनको नोटलाई उधृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, धन्यवाद ।’

प्रहरीका अनुसार, उनले आमा र बुबालाई सम्बोधन गर्दै फेरि यही परिवारमा जन्मिन पाउँ समेत भनेका छन् । ‘उहाँले लेखेको विवरणमा कसैलाई आक्षेप लगाइएको छैन, बुबाआमादेखि साथी सर्कलहरुलाई सम्झिइएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने ।

ताम्राकार २१ असारमा घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । लगत्तै उनको मोबाइललाई जाँचका लागि पठाइएको थियो । प्रहरी वृत्त, मालीगाउँमा उनी मृत भेटिएको भन्दै २१ असारको राति ११ बजे खबर पुगेको थियो ।

‘हाम्रो टोली पुगेर हेर्दा बाहिरबाट कसैको कोठामा इन्ट्रान्स भएको देखिएन, उनी एक्लै ढोका बन्द गरेर भित्र बसेका थिए’, मालिगाउँका एक प्रहरी अधिकृत भन्छन्, ‘उनको शवलाई निकालेर घरमा सर्च गर्‍यौं, त्यसक्रममा कुनै नोट वा त्यस्तो अरु कुनै वस्तु फेला पारेनौं ।’

घटनास्थलमा पुगेका अधिकृतहरुका अनुसार, भित्र परिवारका अन्य सदस्य र प्रहरीको प्रवेश हुँदा उनको मोबाइलमा गीत बजिरहेको थियो । उनले मोबाइल ‘फ्लाइट मोड’मा राखेर गीत बजाइरहेको पाइएको एक अधिकृत बताउँछन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमपछि परिवारले शव बुझेर अन्त्येष्टि गरेको थियो । तर, त्यहीबीचमा नेपाल चलचित्र कलाकार संघले विज्ञप्ति निकालेर ताम्राकार मृत्युको विषयमा गम्भीर अभिव्यक्तिहरु बाहिर आएकाले त्यसबारे छानबिन गर्न माग गरेको थियो ।

ताम्राकारकी साथी २०११ की मिस नेपाल मलिना जोशीले के कारण उनले आत्महत्या गरेका हुन् भन्दै केही प्रश्नहरु उठाएकी थिइन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गर्दै उनले सोधकी थिइन्, ‘अन्तिम दिनहरुमा उनीसँग को–को थिए ? उनीसँग भएको अन्तिम संवादको कुराकानी के थियो ? उनको शवमा अन्तिम औंला कसको थियो ? उसले अन्तिम पटक कसलाई सम्पर्क गरेको थियो ?’

उनले पछिल्लो समय ताम्राकारले नजिकका महिला साथीहरुसँग किन सम्पर्क टुटाएका थिए भन्ने प्रश्न पनि गरेकी छन् । ‘के उनलाई राम्रो व्यवहार गरिएको थिएन ? के उनलाई दुर्व्यवहार गरिएको थियो ? के उसलाई चोट पुर्‍याइएको थियो ? के ऊ डिप्रेसनमा थियो ?’, उनले थपेकी छन् ।

उनले गरेको यो प्रश्नहरुलाई कला क्षेत्रका अरुले पनि शेयर गरेका छन् । त्यसपछि प्रहरीले घटनाका विभिन्न पाटोहरुमा अनुसन्धान गरिरहेको थियो । त्यहीबीच सारुकको मोबाइल जाँचमा ‘सुसाइड नोट’ भेटिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?