+
+
एक क्विन्टल सुन तस्करी प्रकरण :

४ वर्षअघि जोगिएका दावा छिरिङ पक्राउले राजनीतिक तहको संलग्नता खुल्ला ?

गौरव पोखरेल नवीन ढुंगाना गौरव पोखरेल, नवीन ढुंगाना
२०८० साउन १४ गते २०:०६
सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका दावा छिरिङ र उनकी पत्नी एवं होटल भियनाका सञ्चालक अमला रोकाको वैयक्तिक विवरण (बायाँ) । व्यापारिक साझेदार मञ्जिल श्रेष्ठ (दायाँ) ।

१४ साउन, काठमाडौं । चिनियाँ आपराधिक गिरोहका सदस्यलाई नेपाल ल्याउने नाइकेका बेल्जियन नागरिक दावा छिरिङ पहिल्यै प्रहरी अनुसन्धानमा परेको व्यक्ति भएको खुलेको छ ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागको टोलीले आइतबार ठमेलको होटल भियनामा छापा मारेर उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले ७ पुस २०७६ मा काठमाडौंमा उपत्यकाका विभिन्न स्थानमा ‘सर्च एण्ड एरेष्ट’ अपरेसन चलाएर एकैदिन १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । त्यसक्रममा हाल सुन प्रकरणमा पक्राउ परेका दावा पनि अनुसन्धानको दायरामा परेको नेपाल प्रहरीका तत्कालीन एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए ।

चिनियाँ प्रहरीको समेत उपस्थितिका बीच चार वर्षअघि अपरेसन चलाउनुअघि नेपालस्थित चिनियाँ दूतावासमार्फत् नामै किटान गरेर १५ जना नाइकेको विवरण र उनीहरूको अड्डाबारे जानकारी गृह मन्त्रालयलाई पठाइएको थियो ।

मन्त्रालय मार्फत प्रहरी प्रधान कार्यालय, नक्साललाई पठाइएको विवरणमा हाल सुनकाण्डमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई चिनियाँ नागरिकलाई नेपाल ल्याउने गिरोहका नाइकेका रूपमा चित्रित गरिएको प्रहरी स्रोतको भनाइ छ ।

तर, अपरेसनका क्रममा दावा सहित चिनियाँ नागरिक वाङ जु चुङ, चेत सितियान, वु रोङ फ्याक सहित १५ जनालाई भगाएको भन्दै चिनियाँ पक्षले असन्तुष्टि जनाएको थियो । आइतबार दावा पक्राउ परेको होटल भियनामा उनकी श्रीमती रोल्पाकी अमला रोका र काठमाडौंका मञ्जिल श्रेष्ठको नाममा छ ।

चार वर्षअघि चिनियाँ विरुद्ध चलाइएको अपरेसनका क्रममा भगाइएका चिनियाँ गिरोहका सदस्यहरू अमला नै सञ्चालक रहेको बूढानीलकण्ठस्थित होटल रोयल स्याण्ड्स प्रा.लि.मा बसेको त्यसबेला अनुसन्धानमा खटिएका अधिकृतहरू बताउँछन् । रोका रोल्पा–काठमाडौं सम्पर्क मञ्चकी पूर्वउपाध्यक्ष समेत हुन् ।

पछि रोका र अर्का सञ्चालक मञ्जिल कार्कीले ७ लाख ५ हजार र ४ लाख ९५ हजार जगेडा शेयर क्रमशः चिनियाँ नागरिक फेङचेङ ली र लोङ युयान लीलाई बिक्री गरेको कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राप्त विवरणले देखाउँछ ।

अहिले दावाका केही चिनियाँ व्यापारिक साझेदार अनुसन्धानको दायरामा भए पनि उनीहरूको नाम विभागले खुलाएको छैन ।

उच्च राजनीतिक र प्रहरी संयन्त्रसँग भेटघाट

रोल्पा थवाङ–७ जन्मथलो भएकाले अमलाको माओवादी नेता वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती मगर लगायतसँग निकट सम्बन्ध थियो । उनीहरू मार्फत चिनियाँ गिरोहले राजनीतिक ओत लिएको त्यसबेला प्रहरीको दाबी थियो ।

माओवादीका उपमहासचिव एवं पूर्व मन्त्री वर्षमान पुनले दावा पत्नी अमलासँग शहीद परिवारको सदस्यको रूपमा चिनजान भएको बताउँछन् । ‘श्रीमानलाई चिन्दिनँ, सार्वजनिक व्यक्ति भएकाले फोटो त जो कसैले पनि खिच्न सक्छ’, पुनले अनलाइनखबरसँग भने ‘कमलालाई चिन्दैमा उनको व्यवसाय र श्रीमान् बारे थाहा हुने कुरा पनि भएन । निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गरिनुपर्छ भन्ने मान्यतामा प्रधानमन्त्री, पार्टी र म अडिग छौं ।’

चिनियाँ विरुद्धको अपरेसनमा प्रहरीले सोचे अनुसार सफलता नपाएर आलोचना भइरहेका बेला हाल पक्राउ परेका दावाले तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनसँग भेट गरेको तस्वीर समेत सार्वजनिक भएको छ । यसका लागि पुनका छोरा दीपेशले सहयोग गरेको अधिकृतहरूको दाबी थियो ।

दीपेशले पनि अमलालाई चिने पनि श्रीमान् र उनीहरूले गर्ने काम बारे थाहा नभएको दाबी गरे । आफूहरूसँग अमलाको श्रीमानले खिचाएको फोटो २०७४ सालमा उपराष्ट्रपति कार्यालयमा आयोजित चियापानको भएको उनले प्रष्ट्याए ।

रोकामार्फत् चिनियाँ गिरोहले राजनीतिक उच्च तहका व्यक्तिसँग नेक्सस बनाएको दाबी प्रहरी स्रोतको थियो । त्यसबेला बरामद भएका चिनियाँको मोबाइल परीक्षण गर्ने क्रममा प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा रहेको सचिवालयमा चिनियाँ गिरोहका चेन सितियान, रोङफेङ सहित थप दुई जनासँग भेट गरेको तस्वीर समेत फेला परेको थियो ।

रेस्टुरेन्ट सञ्चालकको आवरणमा जुवा खेलाउने धन्दामा संलग्न चिनियाँ नागरिकको समूहले आईजीपी खनालसँगको फोटो देखाएर विमानस्थलका तल्लो तहका प्रहरीलाई प्रभावमा पार्ने गरेको देखिएको थियो । त्यही आडमा उनीहरूले नेपालमा बसेका चिनियाँ नागरिकका लागि अवैध सामान भित्र्याउने गरेको भेटिएको अनुसन्धान अधिकृतहरूले बताउँछन् ।

चिनियाँ गिरोहका नाइकेहरूलाई रोयल स्याण्ड सहित होटल च्यांसु र होटल पुरानो गजुर गरी तीन ठाउँमा राखेर कामदारलाई मात्र पक्राउ गरिएको चिनियाँ अधिकृतहरूको दाबी गरेका थिए । अनुसन्धान अधिकृतहरूले भने पर्याप्त तयारीविनै अपरेसन चलाइँदा तीन हजारको संख्यामा रहेको दाबी गरिएका चिनियाँमध्ये डेढ सय मात्र समातिएको बताएका थिए ।

प्रहरीका अनुसार, त्यसबेला प्रहरीले अपरेसन चलाएको ३ स्थानबाहेक २३ स्थानमा चिनियाँ नागरिकको अवैध गतिविधि पहिचान गरेर लोकेशन सहित चिनियाँ पक्षले विवरण दिएको थियो । तर ललितपुर, बौद्ध, बालुवाटार, लाजिम्पाट, चितवन, पोखरा लगायत स्थानमा प्रहरीले अपरेसन नै चलाएन ।

तत्कालीन जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार, त्यसबेला पक्राउ परेका चिनियाँ नागरिकहरूले अवैध ‘लोन एप’, कल सेन्टर, अनलाइन जुवा र अनलाइनमार्फत अश्लील भिडियो देखाएर चीनमा बस्ने नागरिकलाई ठगी गरेका थिए ।

पछि प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि चिनियाँ नागरिकको ठगी धन्दा विरुद्ध अपरेसन चलायो । विभिन्न जिल्लामा पनि चिनियाँ नागरिकको अवैध क्रियाकलापमाथि अनुसन्धान अघि बढेको थियो । त्यसपछि यो गिरोहले सुन तस्करीतिर हात हालेको हुनसक्ने देखिएको पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदी बताउँछन् ।

राजस्व भन्छ – दावा सुन व्यवस्थापनका योजनाकार

राजस्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्विन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो । त्यसबेला विभागको टोलीले ट्याक्सी चालक अशोक लामालाई नियन्त्रणमा लिएको थियो ।

विभागका अधिकारीहरूका अनुसार, ब्रेक शुभित्र लुकाएर सुन नेपालमा ल्याइएको थियो । सुन ल्याउने रेडी ट्रेड प्रा.लि.का सञ्चालक दोलखाका दिलीप भुजेललाई पनि विभागले पक्राउ गरेको छ ।

तर, तस्कर समूहले उनलाई २० हजार रुपैयाँ दिएर ‘फर्जी’ सञ्चालकको रूपमा खडा गरेको अनुसन्धानका क्रममा खुलेको छ । यसपछि यो प्रकरणमा एक जना चिनियाँ नागरिक सहित भारतीय मूलका तिब्बतियन नागरिक समेत पक्राउ परेका छन् ।

हालसम्म यो प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारी सहित १८ जना पक्राउ परेका छन् । उनीहरूलाई सोधपुछ गरेर अनुसन्धान गर्ने क्रममा चिनियाँ नागरिकको सोह्रखुट्टे, बालुवाटार र लाजिम्पाटस्थित गोदाममा विभागले छापा मारेको थियो ।

राजस्व अनुसन्धान विभागको टोलीले शनिबार राति टोखास्थित एक फ्याक्ट्रीमा पनि छापा मारेको थियो । टोखास्थित प्रि–फ्याबको घरभित्र सुन गाल्ने र रि–फ्रेम गरेर अर्कै स्वरुपमा परिणत गर्ने फ्याक्ट्री भेटिएपछि विभागले सिल गरेको छ ।

त्यहाँबाट विभागको टोलीले आगो बाल्नका लागि राखिएका काठका धुलोका बोराहरू, सुन गाल्न प्रयोग हुने मेसिन, एसिडका बट्टा, गालेको सुन पकड्ने र राख्ने ह्याण्डलहरू लगायत बरामद भएको छ ।

अनुसन्धानका क्रममा सुन प्रकरणका आरोपीहरूको कनेक्सन ठमेलस्थित होटल भियनासम्म देखिएपछि विभागले आइतबार छापा मारेर केही कागजात र सामग्रीहरू बरामद गरेको थियो । त्यहींबाट बेल्जियन नागरिक दावा पनि पक्राउ परेका थिए ।

उनको हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग बलियो सम्बन्ध देखिएको विभागले जनाएको छ ।

हङकङबाट नेपालमा आउने सुनको व्यवस्थापनमा उनको भूमिका देखिएको विभाग स्रोत बताउँछ । चिनियाँ जोडिएका विभिन्न कम्पनी र होटल खोल्नुअघि उनले आफूलाई जडीबुटी कारोबारीका रूपमा चिनाउने गरेका थिए ।

‘भियना होटलमा बसेर उनले तस्करीका लागि अनुकूल वातावरण बनाउन भूमिका खेलेको अनुसन्धानबाट देखिएको छ’, विभागका एक अधिकारी भन्छन् ।

विभागका अनुसार, दावासँगै उनका अन्य पाँच जना चिनियाँ साझेदारको सुन प्रकरणमा संलग्नता हुनसक्ने देखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २९ माघ २०७९ मा बरामद ‘भेप’ (पछि त्यसभित्र सुन रहेको खुलेको) मा पनि दावाको संलग्नता हुनसक्ने विभागका अधिकारीहरू शंका गर्छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?