+
+

मुलुकको भन्सार र सुरक्षा प्रणाली गिज्याउने सुन तस्करको ‘टोखा फ्याक्ट्री’

पानी तान्ने मोटरदेखि कम्प्युटरको सीपीयूसम्ममा सुन लुकाएर ल्याएको आशंका, विमानस्थलबाटै भन्सार पास

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० साउन १५ गते १९:२०

१५ साउन, काठमाडौं । २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको गेटमा बरामद गरिएको १०० किलो तस्करीको सुन र यसको कनेक्सन पछ्याउँदै जाँदा राजस्व अनुसन्धान विभाग सुन तस्करीको एकपछि अर्को जालो पहिल्याउन सफल भएको छ ।

सुन समातिएको दुई सातामा अनुसन्धानको अन्तिम घेरानजिक पुगेको दाबी गरिरहेको विभाग शनिबार टोखामा तस्करको कारखाना नै भेटिएपछि भने झस्किएको छ । टोखामा भेटिएको कारखानामा भेटिएका सामान हेर्दा कम्प्युटरको सीपीयूदेखि, पानी तान्ने मोटरसम्ममा सुन लुकाएर ल्याएको देखिन्छ । त्यति मात्रै होइन, ग्याँसको रेगुलेट र मःम बनाउने मेसिनमा पनि सुन लुकाएर ल्याएको टोखाबाट बरामद भएका सामग्रीहरुले स्पष्ट पार्छन् ।

ती सबै सामान विमानस्थलबाटै भन्सार पास भएर आएका छन् । तर, जे सामान हो, त्यो बाहिरबाट हेर्दा दुरुस्त देखिन्छ, भित्र भने खोक्रो छ । त्यस्ता सामान राखेको कार्टुनले ठूलो घरको आकारको गोदाम भरिएको छ । ती सामानभित्र सुन लुकाएर ल्याएको विश्वास राजस्व अनुसन्धान विभागले गरेको छ ।

हालसम्म सीमित स्रोत र जनशक्तिका भरमा अनुसन्धान अघि बढाइएको विभाग नेपालमा हुने सुन तस्करीमा सीमीत समूह मात्रै रहेको आंकलनमा आक्रामक भएको थियो ।

तर, टोखामा कारखाना नै भेटेपछि भने सुन तस्करीमा एउटा समूह मात्रै नभई राज्यको उच्च तहसम्म पहुँच भएको ठूलो तप्का नै लागि परेको र त्यसलाई तोड्न थप दक्ष जनशक्ति र प्रविधिमैत्री अनुसन्धान आवश्यकताको निचोडमा पुगेको छ ।

‘ठूलो मात्रामा सुन तस्करी गर्न यथेष्ट धनराशी, राज्यका निकायको व्यवस्थापन र उनीहरुको संरक्षणमा तस्करी रोक्ने संयन्त्र लागेको देखिएको छ,’ विभाग स्रोत भन्छ, ‘तर, अनुसन्धान अन्तिम घेराको नजिक छ ।’

सुन तस्करी अनुसन्धानमा खटिएका सुरक्षा अधिकारीहरुका अनुसार यसअघि विभिन्न ठाउँमा फेला परेका सुनका गोदाम र भण्डारण हेर्दा अनुसन्धान रेडी ट्रेडर्सले आयात गरेको वस्तुहरुमा मात्रै केन्द्रित थियो । तर, ठमेलबाट सुन तस्करका नाइके मानिएका दावा छिरिङ पक्रिएपछि र टोखाको फ्याक्ट्री भेटिएपछि भने यो सञ्जाल र तस्करीको परिमाण पनि सोचेभन्दा धेरै नै ठूलो भएको निष्कर्षमा विभाग पुगेको छ । अझ राजनीतिक र सुरक्षा संयन्त्रको संरक्षणविना यस्तो हुनै नसक्ने निष्कर्ष पनि विभागको छ ।

टोखाको फ्याक्ट्रीको बनोट, तस्करी भएर विमानस्थलबाट भित्रिएर आएको वस्तु र त्यसबाट सुन निकाल्ने कार्य हेर्दा केही वर्षदेखि हजारौं किलो सुन तस्करी भइरहेको र त्यसमा भन्सार तथा सुरक्षा प्रणालीको भरपुर दुरुपयोग भएको निष्कर्ष विभागको छ ।

विद्युतीय सामग्रीमा लुकाएर सुन तस्करी

दावा छिरिङ र उनको सम्पर्कका आरोपितको बयानका आधारमा शनिबार दिउँसो टोखाको गोदाम विभागले पत्ता लगाएको थियो । ‘लगत्तै सशस्त्र प्रहरीको विशेष टोलीसहित फ्याक्ट्री पुग्दा कोही पनि मानिस भेटिएनन् । तर, जे भेटियो त्यो अचम्मै थियो,’ सुरक्षा अधिकारी भन्छन्, ‘रेडी ट्रेडर्सले ब्रेक सुमा सुन लुकाएर आयात गरेको वस्तु त मोटामोटी यस अघि भेटिएको थियो । तर, टोखाको फ्याक्ट्रीमा यसअघि नै भन्सार पास भएर हजारौं किलो सामान भित्रिएको र त्योबाट सुन छुट्ट्याउने काम भएको देखिन्छ ।’

टोखामा भन्सार पास भएर आएका सयौं बाक्सा भेटिएका छन् । हरेक बाक्साहरु विमानस्थल भन्सारबाट पास भएको त्यहाँ उपलब्ध कागजले प्रमाणित गर्छन् । ती बाक्साहरुमा कम्प्युटरको सीपीयू, पानी तान्ने मोटर, ग्यासको रेगुलेटर, स्पीकर, मिक्सचर, हिटर, मःम बनाउने मेशिनदेखि विद्युतीय भोल्टेज व्यवस्थापनमा काम गर्ने स्टेबलाइजरसम्म छन् । तर, बाहिरबाट हेर्दा ती सामान चुस्त दुरुस्त देखिन्छ । तर, कभरभित्रका यन्त्र उपकरण भने निकालिएको छ । अर्थात् सबै सामान खोक्रा छन् । कभरभित्र खाली गराएर त्यहाँ सुन लुकाएर ल्याएको विश्वास राजस्व अनुसन्धान विभागको छ ।

भट्ट हेर्दा स्टेबलाइजरजस्तो देखिने तर त्यसमा भित्रका सबै निकालेर खाली गराई सुन राखेर ल्याउने गरेको भेटिएको अधिकारीहरुले बताएका छन् । यस्तै मिक्सचर, पानी तान्ने मेशिन जस्ता हरेका विद्युतीय सामानमा सामान्य अवस्थामा नि वस्तु जस्तो हुनु पर्ने हो त्यस्तो नभएको पाइएको छ । बाहिर पानी तान्ने मोटर देखिए पनि त्यसको भित्री उपकरण नभएको र खोक्रो भाग टन्नै रहेको पाइएको छ ।

बाक्साको पहेंलो टेप

सुन तस्करहरुको सोह्रखुट्टे, बालुवाटार र लाजिम्पाटमा भेटिएको बाक्साहरुमा एउटा संकेत थियो पहेंलो टेप । तेस्रो मुलुकबाट आयात भएर भन्सार पास भएको बाक्सामा पहेंलो टेप लगाइएको थियो । तर, तस्करले त्यसलाई च्यातेर पुनः पानी टेप लगाएर रिप्याकेजिङ गरेका थिए ।

अधिकारीहरुकाअनुसार रेडी ट्रेडर्सले आयात गरेको वस्तुहरुको बाक्सामा पहेंलो टेप लगाइएको तस्करीको एउटा संकेतको रुपमा देखिएका छ । जुन टोखा फ्याक्ट्रीमा प्रशस्तै भेटिएका छन् । त्यहाँ रहेका सयौं बाक्साहरुमध्ये केही रिप्याकिङ गरिएको छ भने केहीमा पहेंलो टेप नै बाँकी छ । ‘रेडी ट्रेडर्स र दावा छिरिङ समूहले नै यो सबै वस्तु ल्याएकोमा शंका छैन तर यत्तिका धेरै वस्तु कसरी भन्सार जाँचपास भएर टोखा आइपुगे ? एक सुरक्षा अधिकारी चिन्ता व्यक्त गर्दै भन्छन्, ‘तस्करको र्‍याकेट निकै ठूलो छ ।’

सुन पास हुँदाका एक्सरे मेशिनले देखाउने तस्वीर पनि राजस्व अनुसन्धान विभागले भन्सारबाट लिएको छ । एक्सरेहरू हेर्दा ती वस्तुमा सुन लुकाएर ल्याएको स्पष्ट देखिन्छ ।

सुन पगाल्ने सबै उपकरण

यसअघि सोह्रखुट्टेमै फेला परेको जस्तो सुन पगाल्ने थप २ वटा मेशिन टोखामा पनि फेला परेको छ । विद्युत्मार्फत एसीड प्रयोग गर्दै फलामबाट सुन गाल्ने मेशिन र सुनको बिस्कुट बनाउने उपकरण पनि टोखामा फेला परेको छ । यी मेसिन चीनमै बनेका हुन् । एसिडमार्फत सुन छुट्ट्याउन धेरै पानी चाहिने भएका कारण भित्रै ठूलो इनार खनिएको पनि पाइएको छ । सुन पिट्ने काँटादेखि जोख्ने तौलने र सुन प्याकिङ गर्ने सबैखाले मेशिन फ्याक्ट्रीमा भेटिएको छ ।

विभागले फ्याक्ट्रीमा फेला परेको वस्तुको मुचुल्का गर्नै धेरै समय लाग्ने देखेको जनाएको छ । ‘एउटा मात्रै वस्तु छैन, सयौं थान छन्,’ त्यसलाई अहिले सिल गरेका छौं विस्तृत रुपमा केलाउनै बाँकी छ ।’

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?