+
+

मधेशमा छैटौं पटक मन्त्रिपरिषद विस्तार, अझै राज्यमन्त्री थप्ने तयारी

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० साउन १५ गते २१:४०
नवनियुक्त मन्त्रीहरु मोहम्मद समिम र चन्दन सिंह शपथ लिँदै ।

१५ साउन, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार छैटौं पटक मन्त्रिपरिषद विस्तार गरे ।

नेपाली कांग्रेसबाट मोहम्मद समिम गृह संचार तथा कानुनमन्त्री बन्दा जनमत पार्टीबाट चन्दन सिंहलाई श्रम तथा यातायात मन्त्री नियुक्त गरेका छन् ।

दुबै मन्त्रालय मुख्यमन्त्री यादवले ९ जेठदेखि आफैंसित राखेका थिए । त्यति बेलादेखि जसपाकी सुरिता साह र जनमतका बसन्त कुशवाह विना विभागीय मन्त्री थिए भने जनमतका राज्यमन्त्री सञ्जयकुमार यादव पनि जिम्मेबारी विहीन थिए ।

एक एक मन्त्रालय लिएर सरकारमा सामेल भएको माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एकीकृत समाजवादी थप एकएक मन्त्रालय पाउनु पर्ने माग राख्दै आएका थिए । तत्कालै भागवण्डा मिलाउँदा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट प्रभावित हुने जोखिम देखेपछि मुख्यमन्त्री यादव मौन बसे ।

पछिल्लो समय माओवादीका अध्यक्षसमेत रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसित भेटेर एउटै मन्त्रालयमा चित्त बुझााउने वातावरण बनाए । माओवादी केन्द्रलाई दिन नपर्ने भएपछि बराबर ९ प्रदेश सांसद रहेको लोसपालाई पनि दिन पर्ने बाध्यता हट्यो ।

यद्यपि दुई विना विभागीय मन्त्री थिए भने कांग्रेसले थप एउटा मन्त्रालय दिने बचन थियो । बारा २ को उपचुनावसँगै सम्बन्ध विग्रिएकाले मधेश प्रदेशमा सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टीले जनमतले सरकार छाडेर जाओस् भन्ने चाहना राखेको थियो । त्यसो भएमा आफ्नो पार्टी जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साहलाई एक र कांग्रेसलाई अर्को मन्त्रालय दिने मुख्यमन्त्रीको तयारी थियो ।

तर सकभर जनमतलाई मिलाएरै अघि बढ्ने र खोसिएको एउटा मन्त्रालय दिनुपर्ने मत सत्ता गठबन्धनमा भएकाले मुख्यमन्त्रीले मन्त्री नियुक्त गरेको जनमतका एक नेताले बताए ।

सोमबार मन्त्रिपरिषद विस्तार गर्नुअघि जनमतका विना विभागीय मन्त्री कशुवाह र राज्यमन्त्री यादवले राजीनामा दिए । पार्टीले फिर्ता बोलाएपछि दुबैले राजीनामा दिएका हुन् । लगत्तै जनमतले मन्त्रीमा प्रमुख सचेतक चन्दन सिंह र राज्यमन्त्रीमा रञ्जु खंगको नाम पठायो ।

कांग्रेसबाट मोहम्मद समिमको नाम आएपछि दुई मन्त्री नियुक्त भए । दुबैले सोमबार नै पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । विनाविभागीय मन्त्री रहेकी जसपाकी सुरितालाई मुख्यमन्त्री कार्यालयमै जिम्मेवारी दिइएको छ ।

स्रोतका अनुसार जनमतबाट खंगसँगै लोसपा र एकीकृत समाजवादीबाट एक–एकजना राज्यमन्त्री यसैसाता नियुक्त गर्ने तयारी छ ।

सरकारमा जसपाबाट एक राज्यमन्त्रीबाहेक मुख्यमन्त्रीसहित चार मन्त्री, काँग्रेसबाट तीन मन्त्री, जनमतबाट दुई मन्त्री, माओवादी केन्द्रबाट एक राज्यसहित दुई मन्त्री, लोसपा र एकीकृत समाजवादीबाट एक–एक मन्त्री छन् । मुख्यमन्त्री सरोजकुमार यादवले आवश्यक्ताको आधारमा मन्त्रालयको संख्या थपघट गर्ने बताएका छन् ।

‘विना विभागीय मन्त्री सुरितालाई मुख्यमन्त्री कार्यालयमै जिम्मेबारी दिइएको छ । आवश्यक्ताको आधारमापछि मन्त्रालयको संख्या थपघट गर्छौ’, मुख्यमन्त्री यादवले भने ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?